प्रेरक प्रसंग : बाधा पन्छाएर अघि बढ

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

यो घटना इन्डोनेसियाको हो । एउटा स्कुलको छात्रले एक दिन अचानक जिद्दी गर्न थाले, ‘आज म स्कुल जान्नँ ।’ उनले स्कुल नजाने भनेर अति नै जिद्दी गरे । उनका बाबुले बडो प्रेमपूर्वक उनीसित स्कुल नजाने भनेर त्यसरी जिद्दी गर्नुको कारण सोधे । बाबुलाई जवाफ दिँदै उनले भने, ‘यो नयाँ स्कुलका केटाहरूले मलाई जिस्क्याउँछन्, हेप्छन् र सताउँछन् ।’ बालकको कुरा सुनेपछि तिनका बाबुले सम्झाउँदै भने, ‘यसमा के अनौठो कुरा छ त, केही समयपछि त तिमी पनि उनीहरूसँग घुलमिल भइहाल्छौ र उनीहरू तिम्रा साथी बन्नेछन् ।’ ‘जे भए पनि म स्कुल जान्नँ,’ यति भन्दै ती बालकले आफ्ना किताब फ्याँकिदिए । आमाबाबुले धेरै सम्झाए । तर, त्यो केटो आफ्नो जिद्दीमा अडिग रह्यो ।

केटाका बाबुले आफ्ना साथीलाई छोराको यस्तो समस्याबारे बताए । उनका साथीले ती बालकलाई एउटा ससानो कुलोमा लिएर गए । उनले एउटा ठुलै आकारको ढुंगा कुलोको बिचमा फ्याँकिदिए र भने, ‘यो ढुंगाले पानीलाई रोक्नेछ । अब पानी अगाडि जान सक्दैन ।’ उनले त्यसो भनेको केही समयसम्म त पानी रोकियोे पनि । तर, बिस्तारै फेरि पानी आफ्नै गतिमा बग्न थाल्यो र त्यो ढुंगो पानीमा डुब्यो । अब पानीले आफ्नो बाटो समात्यो ।

यसपछि उनले ती बालकसँग भने, ‘बाबु, कुनै प्रकारको रोकावट या बाधादेखि हामी कहिल्यै डराउनुहुँदैन । हेर पानी पनि केहीबेर रोकिएपछि फेरि त्यो बाधामाथि विजय प्राप्त गरेर पहिलेजसरी नै बगिरहेको छ । फेरि तिमी त मानिस भएर पनि किन बाधादेखि डराइरहेका छौ ?’

ती बालक अर्को दिनदेखि स्कुल जान थाले । केही दिनमै उनलाई जिस्काउने केटाहरू साथी बने र पछि स्वतन्त्रता संग्राममा उनका अनुयायी बने । ती बालक अरू कोही नभई इन्डोनेसियाका पूर्वराष्ट्रपति सुकार्नो थिए । इन्डोनेसियालाई स्वतन्त्र बनाउनमा उनको ठुलो योगदान रह्यो ।
 

सुझावित समाचार