कांग्रेसका नेता विमलेन्द्र निधि र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवमाथि काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयनजिकै भएको दुर्व्यवहारको विरोधमा कांग्रेस कार्यकर्ताहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन्।
विरोधस्वरूप प्रदर्शनकारीहरूले पिडारी चोकमा चक्काजाम गर्दै नेता निधिमाथि भएको दुर्व्यवहार अस्वीकार्य रहेको बताएका छन् ।
प्रदर्शनमा कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमारकान्त झा, प्रदेश सांसद सञ्जय महतो, कांग्रेस जनकपुर उपमहानगर समिति, नेपाल विद्यार्थी संघ, तरुण दलका नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो।
कांग्रेसका युवा नेता राकेशविक्रम साहले पार्टीका लागि आफ्नो पूरा जीवन समर्पण गरेका नेता निधिमाथि भएको दुर्व्यवहार निन्दनीय र दुःखद भएको बताए। ‘लोकतन्त्रमा सबैले आफ्नो विचार राख्न पाउँछन्, स्वस्थ प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘तर, आज काठमाडौंमा मधेशका नेताहरूसँग जुन व्यवहार भएको छ, त्यो अत्यन्तै दुःखद र निन्दनीय छ।’ उनले मधेशविना कांग्रेसको अस्तित्व सम्भव नभएको उल्लेख गर्दै पछिल्लो समय मधेशका नेताहरूमाथि पटक–पटक दुर्व्यवहार भइरहेको आरोप लगाए। ‘कहिले सहमहामन्त्री महेन्द्र यादवमाथि कुखुरी प्रहार हुन्छ, कहिले विमलेन्द्र निधिजस्ता वरिष्ठ नेतामाथि दुर्व्यवहार गरिन्छ,’ उनले भने।
साहले नेता निधिमाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न माग गर्दै भने, ‘यदि दुर्व्यवहार गर्ने व्यक्ति कांग्रेसकै सदस्य हो भने उसको सदस्यता खारेज हुनुपर्छ र अन्य व्यक्ति भए कानुनअनुसार कारबाही हुनुपर्छ।’