पर्साका एक असइसहित चारजना प्रधान कार्यालय तानिए

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

बारा र पर्सामा लामो समयदेखि कार्यरत एक असइसहित चारजना प्रहरीलाई प्रहरी प्रधान कार्यालय नक्सालले झिकाएको पाइएको छ। सादा पोसाकमा आर्थिक असुली गरेको उजुरीका आधारमा छानबिनका लागि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई झिकाउन पुस २० गते पत्राचार गरेको हो।

प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी सहायक निरीक्षक भुलेन्द्र गिरी, प्रहरी हवल्दार नीरज सिंह र प्रहरी सहायक हवल्दार फिरोज मियाँलाई प्रहरी प्रधान कार्यालयले तानेको छ।

यस्तै, प्रदेश प्रहरी कार्यालय वीरगन्जमा कार्यरत प्रहरी हवल्दार नीरजकुमार यादव र वरिष्ठ प्रहरी हवल्दार राजमंगल सिंहलाई पनि प्रधान कार्यालयमा उपस्थित हुन पत्राचार गरिएको स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी सहायक हवल्दार मोहम्मद सदाम हुसेनलाई पनि प्रधान कार्यालय झिकाइएको हो।

प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाले पुस २० गतेको पत्रअनुसार उनीहरूलाई पुस २१ गते आवश्यक सरसामग्रीसहित उपस्थित हुन निर्देशन दिएको स्रोतले जनाएको छ। उनीहरूमाथि लामो समयदेखि एउटै जिल्लामा कार्यरत रही आर्थिक कारोबारमा संलग्न भएको आरोपसहित अत्यधिक उजुरी तथा गुनासो परेपछि प्रहरी प्रधान कार्यालयले तानेको स्रोतको दाबी छ।

प्रहरी निरीक्षक रविनराज मैनालीद्वारा जारी चलानी नम्बर २३८४ को पत्रमा ‘निम्न व्यक्तिहरूबाट केही विषयमा बुझ्नुपर्ने भएकाले तोकिएको समयमा उपस्थित हुन’ भनिएको उल्लेख छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले प्रधान कार्यालयबाट आएको पत्रअनुसार सम्बन्धित प्रहरीहरू उपस्थित भइसकेको जानकारी दिएका छन्। कुन जिल्लाबाट कुन दर्जाका कति प्रहरी तानिएका हुन् भन्ने विषयमा आफूलाई जानकारी नभए पनि उनीहरू प्रधान कार्यालयमा पुगिसकेको उनले बताए।

सुझावित समाचार