औद्योगिक पार्कमा फेरि भारतीयले लगाए मकै

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

झापाको दमक, गौरादह र कमल गाउँपालिकामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेटले अधिग्रहण गरेको जग्गामा यसपटक पनि भारतीयले मकैखेती लगाउन सुरु गरेका छन् । नेपाल–चीनमैत्री औद्योगिक पार्क निर्माणका लागि दमक नगरपालिका– १०, कमल गाउँपालिका– ७ र गौरादह नगरपालिका– ५ मा अधिग्रहण गरेको जग्गामा भारतीयले स्थानीयबाट ठेक्का लिएको भन्दै मकैखेती लगाउन सुरु गरेका हुन् । 

गत वर्ष यस क्षेत्रमा तीन सय बिघा जग्गामा भारतीयले मकैखेती लगाएका थिए । केही व्यक्तिबाट ठेक्का लिएर उनीहरूले मकैखेती गरेको नयाँ पत्रिका दैनिकले सार्वजनिक गरेपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको थियो । तर, मकै लगाउन दिने मुख्य व्यक्तिलाई उन्मुक्ति गरेर मकैखेती गर्न लगाउने भारतीयलाई मात्र फेरि नलगाउने सर्तमा कागज गराएर छाडिएको थियो । मकै उत्पादन भएको भन्दै प्रशासनले एकपटकलाई उठाएर लैजान दिएको थियो । मुख्य व्यक्ति पहिचान नगरी कारबाही नगरेकाले यसपटक पनि भारतीयले मकैखेती लगाउन सुरु गरेका हुन् । गौरादह– ५ मा रतुवा खोलाको बगरमा रहेको औद्योगिक क्षेत्रको जग्गामा मकै लगाउन सुरु गरिएको छ । यसपटक त्यस क्षेत्रमा करिब दश बिघामा मात्र मकैखेती लगाएका छन् । तर, प्रशासनले गत वर्ष नलगाउनु भने पनि कडाइ नगर्दा यसपटक पनि मकैखेती सुरु गरेको हो । त्यहाँ मकै लगाउने भारतीय नै छन् । उनीहरू गत वर्ष पनि मकै लगाउन आएका व्यक्ति नै हुन् । भारतीय मोटरसाइकलमा आएर खेती गर्ने गरेका छन् ।

‘गत वर्ष प्रशासन आएपछि रोकिएको थियो । तर, फेरि भारतीय आउन थालेका छन् । सुरुमा पश्चिम क्षेत्रमा गर्न सुरु गरेका थिए । अहिले फेरि बढ्दै छ,’ गौरादह– ५ का स्थानीय राजकुमार श्रेष्ठ भन्छन्, ‘जेन–जी आन्दोलनपछि प्रशासनले कडाइ नगर्दा फेरि मकैखेती सुरु भएको छ । करिब दश बिघामा लगाउन सुरु गरेका छन् । अहिले नै नरोक्ने हो भने बढ्न सक्छ ।’ 

गत वर्ष पनि औद्योगिक क्षेत्रको जग्गामा मकैखेती गरेका भारत बिहारका अक्सर अलीले रतुवा बगरमा मकै लगाएका छन् । उनले त्यहाँ करिब सात बिघामा मकैखेती गरेका हुन् । साहुले आफ्नो जग्गा भनेर दिएको उनी बताउँछन् । तर, उनले साहुको नाम थाहा नभएको बताए । 

औद्योगिक क्षेत्रको जग्गामा भारतीयले मकैखेती गर्दा प्रशासन र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अनभिज्ञ छ । ‘मकैखेती गरेको बारे जानकारी छैन । यो प्रकृतिको गतिविधि अबदेखि नगर्न भनेर गत वर्ष कागज गरेका थियौँ । अब यसबारेमा बुझ्छु,’ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेटका महाप्रबन्धक पदम ओलीले भने, ‘के गर्ने भन्नेबारे त हामीले पहिला त्यहाँको अवस्थाबारे जानकारी नलिई भन्न सकिँदैन ।’

सुझावित समाचार