- तेक्वान्दोकी संगीता वैद्य र कराँतेकी गंगा अधिकारी कीर्तिमानी रूपमा समान दुईपटक वर्षका उत्कृष्ट महिला खेलाडी बनेका थिए
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा पुरुषको तुलनामा महिला उत्कृष्ट खेलाडीको विधामा सधैँ रोमाञ्चक हुने गरेको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले पुरुष र महिला विधामा पनि प्रत्येक संस्करणमा अवार्ड दिँदै आइरहेको छ । मञ्चले अवार्डलाई निरन्तरता दिने प्रयासमा ०७८ मा दशकको उत्कृष्टलाई अवार्ड दिइएको थियो । फुटबलकी सावित्रा भण्डारीले अवार्ड जितिन् । उनले ०७५ मा पनि अवार्ड हात पारेकी थिइन् ।
तेक्वान्दोकी संगीना वैद्यबाट उत्कृष्ट महिला खेलाडीको अवार्ड शृंखला सुरु भएको हो । वैद्यले ०५३ को पहिलो पुरस्कार जितेकी थिइन् । उनले २०६० मा यो अवार्ड ब्युँझिदा फेरि जितिन् । संगीनापछि यो विधामा कराँतेकी गंगा अधिकारीले दुईपटक अवार्ड जितेकी छिन् । अधिकारीले ०६६ मा पहिलोपटक उत्कृष्ट महिला खेलाडीको अवार्ड जितिन् । त्यसपछि ०६९ मा फेरि उनले उपाधि हात पारिन् । संगीना र गंगासँगै यो अवार्ड अहिलेसम्म २० खेलाडीले जितेका छन् । वर्ष ०६१ मा यो अवार्ड दुई महिला खेलाडीले सँगै पाए । पुरुष र महिलाको व्यक्तिगत विधामा जोडी खेलाडीले अवार्ड पाएको यो नै पहिलो उदाहरण हो ।
सो वर्ष ब्याडमिन्टनकी पूजा श्रेष्ठ र सुमिना श्रेष्ठले संयुक्त रूपमा वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेका थिए । खेलका आधारमा १० खेलका खेलाडीले अवार्ड जितेका छन् । त्यसमा सबैभन्दा बढी तेक्वान्दो र ब्याडमिन्टन छन् । तेक्वान्दोबाट अवार्ड जित्ने अर्को खेलाडी मनिता शाही ह्ुन् । ब्याडमिन्टनबाट नङसलदेवी तामाङ र शोभा गौचन पनि वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । ब्याडमिन्टनले तीन अवसरमा अवार्ड जिते पनि व्यक्तिगत रूपमा खेलाडी रहेका छन् ।
कराँते तीन अवसरमा विजेता
कराँतेले तीन अवसरमा अवार्ड जितेको छ । दुई अवसरमा गंगाले जितिन् । गत वर्ष ०८० मा कराँतेकी एरिका गुरुङले अवार्ड हात पारिन् । एथलेटिक्स, पौडी, फुटबल र जुडोले समान दुईपटक अवार्ड आफ्नो नाममा लेखाएका छन् । एथलेटिक्सबाट निर्मला भारती र राजपुरा प्रसाईं तथा पौडीबाट करिश्मा र गौरिका सिंहले अवार्ड जिते । फुटबलबाट वर्षकी उत्कृष्ट महिला खेलाडी बन्ने खेलाडी जमुना गुरुङ हुन् । नेपाली महिला फुटबलले पाएका अहिलेसम्मकै उत्कृष्ट खेलाडीमा उनलाई लिने गरिन्छ । उनी सावित्रा हुन् ।
जुडोमा सुनिता बोहरा र फुफुल्हामु खत्रीले वर्ष उत्कृष्ट महिला खेलाडी बनेका थिए । संयोगले उनीहरू लगातार वर्ष विजेता घोषित भए । क्रिकेटकी नेरी थापा, भारोत्तोलनकी तारा पुन र भलिबलकी अरुणा शाहीले समान एकपटक अवार्ड जितेका छन् । महिला खेलकुदमा एकै खेलाडीले लामो समय वर्चस्व कायम गरेको इतिहास रहने छैन ।
पहिलोपटक पोखरामा हुन गाइरहेको २२औँ संस्करणको स्पोर्टस् अवार्डमा यसपटक कराँतेकी एरिका र एलिसा मगर, खोखोकी मानमती धामी, फुटबलकी रेखा पौडेल र भलिबलकी सलिना श्रेष्ठ रहेका छन् । एरिका यस विधाकी साबिक विजेता हुन् । उनीसामु नयाँ इतिहास रच्ने अवसर हुनेछ । खोखो भने अवार्डको इतिहासमै पहिलोपटक मनोनयनमा परेको हो ।