एक महिला निकै महँगा कपडा र चर्को शृंगारसाथ आफ्ना मनोचिकित्सकहाँ पुगिन् । उनले भनिन्– डाक्टरसाब, मलाई मेरो जीवन पूरापूर बेकार लाग्न थालेको छ । म यसको कुनै अर्थ देख्दिनँ । के तपाईं मेरा खुसी खोज्न सहायता गर्न सक्नुहुन्छ ?
मनोचिकित्सकले एक वृद्ध महिला, जो उनको क्लिनिकमा सफाइको काम गर्थिन्, उनलाई बोलाए । उनले परीक्षण गराउन र परामर्श लिन आएकी महिलातिर फर्केर भने– अब तपाईंलाई उहाँले आफूले जीवनमा खुसी कसरी प्राप्त गर्नुभयो भन्ने विषयमा बताउनुहुनेछ, ध्यानपूर्वक सुन्नुहोस् है !
वृद्ध महिलाले कुचो भुइँमा राखिन् र बोल्न सुरु गरिन्– मेरा पतिको मलेरियाका कारण मृत्यु भयो । त्यसको तीन महिनापछि सडक दुर्घटनामा परेर मेरो एक मात्र छोराको पनि ज्यान गयो । त्यसपछि मसँग केही पनि बाँकी रहेन । म निदाउन पनि सक्दिनथेँ, खान पनि सक्दिनथेँ । मैले हाँस्न बिर्संदै गएँ । म आफ्नै जीवन समाप्त गर्ने उपायको खोजीमा लागेकी थिएँ । एक दिन एउटा बिरालोको सानो बच्चा मेरो पछि लाग्यो । बाहिर निकै चिसो थियो, मैले उसलाई भित्र आउन दिएँ । थोरै दुधको बन्दोबस्त गरिदिएँ । उसले प्लेट सफाचट पारेर मेरो खुट्टा चाट्न थाल्यो ।
यो सब देख्दा म महिनौँपछि मुस्कुराएँ । त्यतिखेर मलाई लाग्यो– एउटा बिरालोको बच्चालाई सहयोग गर्दा मलाई खुसी प्राप्त हुन सक्छ भने अरूका लागि सेवामा जुट्दा झनै कति खुसी प्राप्त होला ! अर्को दिन मैले बिरामी छिमेकीलाई खाना बनाएर लगिदिएँ । उनी निकै खुसी भइन् । उनको खुसी देख्दा असाध्यै खुसी लाग्यो । त्यसपछि म हरेक दिन केही न केही नयाँ काम गरेर अरूलाई खुसी बनाउने काममा लागेँ । अरूलाई खुसी दिँदै जाँदा म पनि खुसी हुन थालेँ । मैले आफ्नो गुमेको खुुसी पुन: फेला पारेँ । वृद्ध महिलाको भनाइ सुनेपछि ती महिला रुन थालिन् । उनीसित पैसाले खरिद गर्न सकिने सबथोक थियो । तर, पैसाबाट प्राप्त हुन नसक्ने सबथोक उनले गुमाएकी थिइन् ।