जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भावमा खलल पुर्याउने, धार्मिक–सांस्कृतिक भावनामा आहत पार्ने तथा राष्ट्रिय एकतामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ।
सामाजिक सञ्जालमार्फत फैलाइने घृणात्मक अभिव्यक्ति, दुष्प्रचार र आपत्तिजनक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले कडा निगरानी गरिरहेको जनाएको छ।
शनिबार धनुषाको धनुकमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।
त्यसैको विरोधमा आइतबार वीरगन्जमा मुस्लिम समुदायले घण्टाघर, मुर्ली, छपकैयाको इद्यगहा चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका छन्। सो क्रममा छपकैयाको इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबिच सामान्य झडपसमेत भयो। प्रदर्शन उग्र बन्दा प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो। त्यसक्रममा एकजना प्रहरी सामान्य घाइते भएका छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कुनै पनि जाति, जातीय समूह, धर्म वा सम्प्रदायविरुद्ध घृणा फैलाउने, धार्मिक स्थल वा पवित्र मान्यताप्रति अपमानजनक कार्य गर्ने तथा सामाजिक सद्भाव बिगार्ने उद्देश्यले सामग्री प्रकाशन वा प्रदर्शन गर्ने कार्य कानुनविपरीत रहेको भन्दै यस्ता गतिविधिमा संलग्नलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
