प्रधानमन्त्री कार्कीका श्रीमान् सुवेदीलाई थप उपचारका लागि भारत लगियो

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण
प्रधानमन्त्री कार्कीका श्रीमान् सुवेदीलाई थप उपचारका लागि भारत लगियो

फाइल तस्बिर

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गाप्रसाद सुवेदीलाई थप उपचारका लागि भारत लगिएको छ। सुवेदीलाई अपराह्न ५ः३० बजेको विमानमार्फत भारत लगिएको हो।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट उनलाई दिउँसाे ३ बजे डिस्चार्ज गरेर सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको थियो। उनको नयाँ दिल्लीस्थित विशिष्टीकृत अस्पतालमा उपचार हुने बताइएको छ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार पिसाबमा संक्रमण (युरिनरी ट्र्याक्ट इन्फेक्सन) भएपछि सुवेदीलाई चार दिनदेखि अस्पताल भर्ना गरिएको थियो।

‘उहाँको अवस्था सुधारोन्मुख थियो, धेरै सुधार पनि भइसकेको छ। परिवारको इच्छानुसार एकपटक भारतमा पनि देखाउन जान्छौँ भनेर हामीले डिस्चार्ज दियौँ। उहाँ हिँडेरै अस्पतालबाट निस्किनुभएको छ,’ आचार्यले भने, ‘५ः३० बजेको उडानमार्फत भारतमा उपचारको लागि जाने भनेर निस्किनुभएको हो।’ 

प्रधानमन्त्री कार्कीका निजी चिकित्सक मनबहादुर केसीले पनि सुवेदीको स्वास्थ्य जाँच गरेका थिए। उनैले भारत लगेर ‘सेकेन्ड ओपिनियन’ लिँदा उचित हुने सुझाव दिएका थिए। सोही कारण भारत लगिएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।

उनको उपचार खर्च परिवारले नै व्यहोर्ने बताइएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचार गर्दा उनको शरीरमा पिसाबको संक्रमण भएको, नुनको मात्रा कम भएको, शरीर कमजोर हुने, सुनिनेजस्ता समस्या देखिएका थिए।

सुझावित समाचार