साउदी–युएई तनावले नयाँ चरणको अस्थिरतातर्फ यमन

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण
  • यमनमा साउदी आक्रमणले युएईसँग तनाव सिर्जना गरेको छ भने यमन थप अस्थिर बन्ने दिशामा अघि बढेको छ

साउदी अरबले मुकाल्ला बन्दरगाहमा बमबारी गरेपछि यमनमा हालसम्म कायम अरब गठबन्धनमा धाँजा फाटेको छ । विशेषत: साउदी अरब र यमन अभियानमा उसको साझेदार मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बिच तनाव सिर्जना भएको छ । यमन अभियानमा अरब गठबन्धनका प्रवक्ता मेजर–जनरल तुर्की अल–मलिकीले मुकाल्ला बन्दरगाहमा आएका दुई जहाज साउदी अरब तथा यमनी सरकारलाई जानकारी नदिई रोकिएपछि आक्रमण गरिएको बताए । ती जहाजले साउर्दन ट्रान्जिसनल काउन्सिल (एसटिसी) का लागि ८० भन्दा बढी सवारी साधन र हतियार तथा गोलाबारुदका कन्टेनर बोकेको अल–मलिकीले जानकारी दिए ।

यमनमा यी दुई सहयोगी देशबिच पहिल्यैदेखि मतभिन्नता थियो । अहिले आएर मात्र यो चरम सीमामा पुगेकाले बाहिर सबैले देखेका हुन् । यस विवादले समग्र यमनलाई नै प्रभावित बनाउनेछ । मुकाल्ला बन्दरगाह रहेको ‘हाद्रामोत गभर्नरेट’ (स्थानीय निकाय) मा साउदी अरब र युएइबिच सैन्य तनाव बढेपछि यमन सरकारसमेत संकटमा परेको छ । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त शासकीय एकाइ ‘प्रेसिडेन्सियल लिडरसिप काउन्सिल (पिएलसी)’ दुई गुटमा विभाजित छ । ती दुई गुट फरक–फरक देशप्रति बफादार छन् । यो भिन्नता वर्षौंदेखि कायम भए पनि पहिले खासै चर्चामा थिएन । तर, अहिले त्यही नै मुख्य समस्या बनेर सार्वजनिक रूपमा विस्फोट भएको हो । 

साउदी अरब र युएई यमनलक्षित अरब सैन्य गठबन्धनका प्रमुख सदस्य हुन् । यो गठबन्धन सन् २०१५ मा हुथी समूहले यमनको राजधानी सानामा कब्जा गरेर आफ्नै सरकार बनाएपछि प्रतिरोधका लागि गठन गरिएको थियो । तर, यएईले समर्थन गरेको एसटिसीले शक्ति बढाएपछि साउदी अरब र युएईबिच स्वार्थको यो द्वन्द्व बढ्न थाल्यो । सन् २०१७ मा गठन भएको राजनीतिक तथा आर्थिक समूह एसटिसीले यमनको दक्षिणी भागलाई अलग राष्ट्र बनाउने लक्ष्य बोकेको छ । दक्षिण यमन यसअघि सन् १९६७ र १९९० बिच पनि स्वतन्त्र राष्ट्र थियो ।

डिसेम्बरको सुरुमा एसटिसीको सेनाले हाद्रामोत र अल–महरासहित सबै दक्षिणी गभर्नरेटमाथि नियन्त्रण जमाएपछि तनाव शिखरमा पुगेको छ । विशेषत: पछिल्लो परिस्थिति साउदी अरबलाई असहज बनेको छ । आफ्नो दक्षिणी सीमा क्षेत्रमा नयाँ देश निर्माणलाई उसले आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतरा मानेको छ । त्यस्तै हाद्रामोत यमनको मुख्य तेल र ग्यास उत्पादन क्षेत्र पनि हो । यसले गर्दा साउदी अरबका लागि यो भेग सीमा सुरक्षा र व्यापारिक समीकरणसँग पनि जोडिएको छ ।

साउदी अरब र युएईबिचको पछिल्लो सार्वजनिक मतभेदले यमनको राजनीतिक, आर्थिक र सैन्य क्षेत्रमा असर पार्नेछ । यमनी राजनीतिक वृत्त पहले नै दुई शिविरमा विभाजित थिए । यस मत विभाजनको स्पष्ट असर आठ सदस्यीय शासकीय एकाइ पिएलसीमा देखिनेछ । अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यस निकायका पदाधिकारीसमेत साउदी अरब र युएईप्रति बफादार शिविरमा विभाजित छन् । साउदीप्रति बफादार शिविरको नेतृत्व पिएलसीका अध्यक्ष रसाद अल–अलिमीले गरिरहेका छन् । यसमा सुल्तान अल–अरादा, अब्दुल्लाह अल–अलिमी बाबाजिर र ओथमान हुसेन मुजाल्ली समावेश छन् । युएईप्रति बफादार दोस्रो शिविरको नेतृत्व एसटिसी फोर्सका प्रमुख एदारुस अल–जुबैदीले गरिरहेका छन् । यसमा अब्दुल रहमान अल–महरामी (अबु जारा पनि भनिने), तारिक मोहम्मद सालेह र फराज साल्मिन अल–बहसानी समावेश छन् ।

एसटिसीका लागि हतियार बोकेका जहाजमा साउदी अरबले आक्रमण गरेपछि अल–अलिमीले युएईलाई यमनबाट फिर्ता हुन आह्वान गरेका थिए । त्यस आह्वानप्रति नेताहरूले आफ्नो शिविरअनुरूप दुई फरक बयान दिएका छन् । एउटा यमनबाट युएईको बहिर्गमनको पक्षमा थियो भने अर्को विरुद्धमा थियो । यसरी यमनी राजनीतिज्ञ नै क्षेत्रीय खेलाडीको हितको प्रतिनिधित्व गर्ने प्रतिस्पर्धामा उत्रिएपछि यमन एउटा छद्म युद्धको गन्तव्य बनेको पुष्टि गरेका छन् ।

पछिल्लो घटनाक्रमको द्रुत विकासले यमनको वैध सरकार नै आन्तरिक गुटभित्र युद्धको नयाँ चरणमा धकेलिँदै गएको छ । अहिलेको शासकीय गठबन्धन उत्तरका हुथी विद्रोहविरुद्ध लड्ने जुन उद्देश्यसाथ बनेको थियो, त्यसैबाट टाढिएको छ । हुथीले यमनको सबैभन्दा धेरै जनसंख्या बसोवास गर्ने राजधानी सहर सानालगायत प्रान्तमाथि नियन्त्रण जमाएर बसेको छ । 

वैध यमनी सरकार र साउदी नेतृत्वको अरब गठबन्धनले हुथीको कब्जामा रहेको क्षेत्रलाई फिर्ता गर्ने लक्ष्य बोकेका थिए । तर, एक दशकपछि गठबन्धन एकआपसमै लड्न थालेपछि यमन विभाजनको संघारमा पुगेको छ । दक्षिणमा नयाँ चरणको अराजकता फैलिँदा हुथीहरूलाई उनीहरूको हालको नियन्त्रण क्षेत्रबाहिर आफ्नो प्रभाव विस्तार गर्न सहयोग पुग्नेछ । पछिल्लो घटनाक्रमले साउदी नेतृत्वको गठबन्धनलाई अझ कमजोर बनाउनेछ । यमनका लागि घोषित संयुक्त लक्ष्यहरू प्राप्त गर्ने यसको एकता र क्षमतामा शंका उत्पन्न गर्नेछ । 

अलजजिराबाट
(खालिद यमनी मूलका क्यानडेली पत्रकार हुन्) 

सुझावित समाचार