मायादेवी गाउँपालिका–२ मनखोरियाका नियतराम नटुवाले पुस्तौंदेखि चल्दै आएको पेशा बदलेर नयाँ बटो समाएका छन् । उनको पुर्खाले गर्दै आएको पेशा सर्प समात्ने, सर्प नचाउने, मह काढेर बेच्ने र भिक्षा मागेर परिवार चलाउने काम छाडेर अहिले उनी शुभकार्यमा बाजा बजाउने गर्छन् । उनको यस काममा सिंगो नटुवा समुदायले साथ दिइरहेको छ ।
बुबाबाट बाजा बजाउने सिप सिकेका नियतरामले ब्याण्ड बाजा बजाउने टोली बनाएका छन् । उक्त टोलीमा नटुवा जातिका युवाहरू सम्लग्न छन् । ब्याण्ड बाजा बजाउने टोली गठनपछि यस समुदायमा पारिवार चलाउन सर्प समात्नु पर्ने, मह काढ्नु पर्ने र भिक्षा माग्नु पर्ने बाध्यता हटेको छ । पेशा परिवर्तनको यो अभियानमा सबैजसो नटुवा समुदायले सहयोग गरिरहेका छन् ।
पेशा परिवर्तसँगै उनीहरू स्थायी रुपमा एकै स्थानमा मात्रै बस्न थालेका छैनन्, सन्तानलाई शिक्षित समेत बनाएका छन् । नियतरामले छोरालाई १२ कक्षा पढाएका छन् भने नातिहरू निजी स्कूलमा पढ्छन् । नटुवा समुदाय उत्थानका लागी उनले नटुवा विकास केन्द्र समेत गठन गरेर नेतृत्व गर्दै आएका छन् । नटुवा जातीका युवालाई समेटेर उनले मायादेवी गाउँपालिका–१ पकडीमा न्यु रवि ब्याण्ड बाजा साउण्ड सर्भिस सञ्चालन गरेका छन् । ‘पुर्खौली पेशाअनुसार भिक्षा माग्दा, सर्प समात्न जाँदा अपमानित भएको देख्थे । त्यस्तो देख्दा आफ्नो समुदायको उत्थान र आयआर्जनमा सहयोग गर्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । यही कारण ब्याण्ड बाजाको टोली बनाए,’ नियतरामले भने । अब बिस्तारै आफ्नो जातीको शिक्षा र स्वास्थ्य अवस्था सुधारमा पनि काम गर्ने उनले बताए ।
पुख्र्यौली पेशा परिवर्तनमा गैरसरकारी संस्थाको साथ
नटुवाहरूको पेशा रुपान्तरणका लागि विभिन्न संघसंस्थाले सहयोग पनि गर्दै आएका छन् । बिएमजेड र डब्लुएचएचको सहयोगमा कालिका स्वाबलम्बन सामाजिक केन्द्र र फरवार्ड नेपालले सञ्चालन गरेको सुधारिएको खाद्य प्रणाली परियोजना (एनपिएल १०८३–२२)को आयोजनामा नटुवा समुदायमा विभिन्न सहयोग भइरहको छ ।
परियोजनाअन्तर्रगत १४ जना नटुवा युवालाई ब्याण्ड बाजा बजाउन एक महिने तालीम दिएर मागमा आधारित ३ लाख ९७ हजार मूल्यको ब्याण्ड बाजा सहयोग गरेको छ ।
ब्याण्ड बाजा बजाउन सिकेसँगै आयआर्जनको बाटो फेला पारेको मायादेवी गाउँपालिका–२ अभिरावका पण्डित नटुवाले बताए । ‘आयआर्जनको नयाँ माध्यम फेला परेपछि परिवार चलाउन र छोराछोरी पठाउने वातावरण बनेको छ,’ उनले भने । नटुवा समुदायको आर्थिक रुपान्तरणका लागी बाजा बजाउने तालिम, बाजा सहयोग र सर्प समात्ने सिप तथा सामाग्री उपलब्ध गराएको परियोजनाका नागरिक समाज परिचालन तथा वकालत अधिकृत अशोकचन्द्र लम्सालले बताए ।
कति छन् नटुवा जाति ?
राष्ट्रिय जनगणना ०७८ मा नटुवा जातीको कुल जनसंख्या दुई हजार ८९६ छ । ०६८ को जनगणनामा यस जातिको संख्या तीन हजार एक सय ८२ थियो । सरकारले कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम भएको जातिलाई अल्पसख्यक लोपोन्मुख जातिको मान्यता दिँदै ११ वैशाख ०७४ मा राजपत्रमा त्यस्ता ९८ जातिको विवरण सूची सार्वजनिक गरेको थियो ।
त्यसबेला नटुवाभन्दा बढी जनसंख्या भएका पत्थरकट्टा जातीलाई सामाजिक सुरक्षा ऐन ०७५ मा लोपोन्मुख जातिमा सूचीकृत भएका थिए । लोपोन्मुखमा सूचीकृत भएपछि पत्थरकट्टा जातीले सामाजिक सुरक्षाअन्तर्गत भत्ता बापत अहिले प्रतिव्यक्ति मासिक चार हजार रुपैयाँ पाउँदै आएका छन् । तर, नटुवा जातीले लोपोन्मुख जातिले पाउने सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन् ।
उनीहरूको न त जग्गा जमिनको स्थाइ स्वामित्व छ न त स्थाई आयआर्जनको श्रोत । आर्थिक रूपमा अति विपन्न नटुवाहरूको विगतदेखिकै सर्प नचाउने, नाचगान, कला प्रदर्शन, सर्कस देखाउने, शिकार गर्ने, मह काढ्ने काम पुर्खैली पेशा हो । सोही पुर्खैली पेशाका कारण उनीहरूको जीवन घुमन्ते शैलीमा बित्दा उनीहरू प्रायःको स्थाई बसाई र रोजगारी सुनिश्चित हुन् पाएको थिएन् । पछिल्लो समय प्रविधि र आधुनिकताको विकाससँगै उनीहरूले पुर्खेली पेशाको रुपान्तरण खोजेका छन् ।
राष्ट्रिय दलित आयोगद्वारा जारी जातीय अनुसूची र राष्ट्रिय जनगणनाको जातीय तथ्याङ्क विवरणमा केन्द्रीय तथ्याङ्क विभागद्वारा यो जातिलाई नटुवा उल्लेख गरिएको छ । नटुवा जाती हिन्दु र मुस्लिम गरी दुई धर्मका भेटिन्छन् । बारा, पर्सा, सर्लाही, सप्तरी र सिराहा तिरका नटुवा जाती इस्लाम धर्म मान्छन् भने नारायणी पश्चिमका नटुवा प्रायः हिन्दु धर्म मान्ने छन् । राष्ट्रिय दलित आयोगले तराई÷मधेशका दलित समुदायभित्र पर्ने भनी ‘नटुवा’ लाई दलित जातिमा सूचीकृत गरेको छ ।
