धनगढी उपमहानगर– ८, धनगढी गाउँकी बजारी चौधरीलाई गत शनिबार दिउँसो शनिबारीय मेलामा खाजाका परिकार बिक्री गर्न भ्याइनभ्याइ थियो । थारू समुदायको मौलिक परिकार ढिक्री, च्याउ, बन्दा र खुर्सानीको अलगअलग पकौडा बनाउन उनकी बुहारी रश्मि व्यस्त थिइन् । धनगढीको जेन–जी मार्गमा हरेक शनिबार लाग्ने शनिबारीय महिला उद्यम मेलामा बजारीकी सासुबुहारीले खाजाका परिकारको स्टल राख्दै आएका छन् । गत वर्ष मेला सुरु भएदेखि नै उनीहरूले खाजाको स्टल राख्न थालेका हुन् । उनको स्टलमा चटनीसँग तात्तातो ढिक्री र पकौडा खानेको प्राय: भिड लाग्छ ।
यसबाट हुने आम्दानीले घरखर्च चलाउन सहज भएको बजारी बताउँछिन् । बजारीका अनुसार शनिबारीय मेलामा उनले तीन–चार हजार रुपैयाँसम्मको कारोबार गर्छिन् । घरमा खाली बस्ने आफूहरू हप्तामा एक दिन लाग्ने मेलाबाट थोरै भए पनि आम्दानी गर्न थालेपछि आर्थिक रूपमा केही सहज भएको चौधरीको भनाइ छ । ‘परिकार बनाउन धेरैजसो घरकै सामान प्रयोग गर्ने भएकाले लागत खर्च कम हुन्छ । तीन हजारको बिक्री भए दुई हजार बचिहाल्छ,’ उनी भन्छिन्,‘यहाँबाट हुने आम्दानीले सामान्य घर खर्च चलेको छ ।’
ग्राहकले ढिक्री र च्याउको पकौडालाई बढी मन पराउने उनले बताइन् । ढिक्रीका लागि उनी घरकै चामलबाट पिठो बनाउँछिन् भने पकौडाका लागि च्याउ र बन्दा घरमा लगाएकी छिन् । उनको ६ जनाको परिवारमध्ये श्रीमान् घरमा परम्परागत खेतीपातीको काम गर्छन् भने छोरा रोजगारीका लागि दुबईमा छन् ।
धनगढी– १३, कैलाली गाउँका एकल महिलाद्वय भागरथीदेवी खत्री र कलापतीदेवी कापडी मिलेर शनिबारीय मेलामा सुदूरपश्चिमका खानाका मौलिक परिकारसहित खाजाको स्टल राख्छन् । उनीहरूको स्टलमा बटुक (पिसेको मासबाट बनाइने परिकार), कोदो र चामलको बाबर (सेल), पुरी, पकौडा खान पाइन्छ । खानाका परिकारसँगै लसुन, मुला, खुर्सानी र अदुवाको अचार पनि उनीहरूले बिक्री गर्छन् । श्रीमान् बितेपछि भोग्नुपरिरहेको आर्थिक कठिनाइ दुवैजनाको उस्तै छ । आर्थिक समस्याका कारण भागरथीका छोरा १२ कक्षामै पढाइ छोडेर रोजगारीका लागि हालै भारत गएका छन् ।
‘आम्दानीको अरू स्रोत छैन । दुई–चार रुपैयाँ पाउन पनि गाह्रो थियो । शनिबारीय मेलामा खानाका परिकार बेच्न थालेपछि महिनामा चार–पाँच हजार कमाइ हुन्छ’ उनले भनिन्, ‘दुई–चार हजार पाउनु पनि हाम्रा लागि ठुलो कुरा हो ।’ बटुक, सेल, पुरी, पकौडालगायत परिकार उनीहरू त्यहीँ बनाएर बिक्री गर्छन् । अघिल्लो शनिबार दुवैजनाको भागमा एक–एक हजार रुपैयाँ आम्दानी परेको कलापतीले बताइन् ।
महिलाहरूलाई आयआर्जनसँग जोड्न र उद्यमी बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले गत वर्षबाट शनिबारीय महिला उद्यम मेला सुरु गरेको हो । जेन–जी मार्गमा शनिबार दिउँसो लाग्ने मेलाका लागि उपमहानगरले नै टेन्ट लगाइदिने गरेको छ भने स्टल पनि नि:शुल्क गरिएको छ । मेलामा महिलाहरूले मौलिक खानाका परिकार तथा आफूले घरमा उत्पादन गरेका वस्तुहरू बिक्री गर्छन् । दुना, टपरी, धुप, बत्ती, ढकिया, टोपी, रुमाल, झोलालगायत कपडाका स्टल राखिएका हुन्छन् । उपमहानगरको रोजगार शाखाका संयोजक चन्द्र महराका अनुसार मेलामा अहिले ७८ वटा स्टल राखिएका छन् । मेलामा आउन चााहनेको संख्याअनुसार स्टलको संख्या तलमाथि हुन्छ ।
मेलामा स्टल राख्नेमध्ये धेरैजसो आफ्नो पसल राख्न नसकेका आर्थिक रूपमा विपन्न र एकल महिला छन् । मेलामा सहभागी हुन थालेपछि घरमा उत्पादन गर्ने वस्तुको बजारीकरणमा सहयोग पुगेको उनीहरूको अनुभव छ । धनगढी– ५, शिवनगरकी जानकी रोकाया घरमा भोटा, टोपी, रुमाल, झोला बनाउँछिन् । उनका ग्राहक छरछिमेक र चिनेजानेकाहरू थिए । ‘मेलामा आउन थालेपछि कतिपयले अर्डर गर्छन् । किन्न घरमा पनि आउँछन् । सामान बेच्न सजिलो भएको छ,’ उनले भनिन्, ‘पहिलेभन्दा कारोबार बढेको छ ।’
मेलामा ढकिया बिक्री गर्दै आएकी धनगढी– ५, जाइकी कमलादेवी चौधरी मेलामा आउन थालेपछि ग्राहकसँग सम्पर्क बढेको बताउँछिन् । ‘यहाँ हेरेर घरमा पनि किन्न आउँछन् । ढकियाको माग धान्न गाह्रो भएको छ,’ उनले भनिन् । कासबाट बनाइने ढकिया थारू समुदायमा बढी प्रचलित छ ।
शनिबारीय मेला अवलोकन गर्नेको भिड हुन्छ । रोजगार संयोजक महराले महिलाहरूको सीपलाई आयआर्जनसँग जोड्न मेलाको सुरुवात गरिएको बताए । यसबाट उनीहरूलाई व्यवसायमा लाग्न अनुभव पनि हुने उनको भनाइ छ । ‘महिलाहरूको सीपलाई उत्पादन र आयआर्जनसँग जोड्न खोजिएको हो,’ उनले भने, ‘महिलाहरूले घरमा उत्पादन गरेका हाते सामग्री बिक्री गर्न सहज भएको पाएका छौँ ।’ बर्खा र प्रतिकूल मौसममा भने मेला सञ्चालन हुँदैन ।