चर्चित क्लब र विश्वप्रसिद्ध कम्पनीसँगको सम्झौताबाट अन्तर्राष्ट्रिय खेलाडीले राम्रो कमाइ गर्छन् । त्यसमा उनीहरूको आम्दानीको मुख्य हिस्सा क्लबबाट प्राप्त हुने पारिश्रमिक रहेको छ । सन् २०२५ को वर्षमा साउदी प्रो लिगमा आबद्ध पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो फुटबलमा बढी कमाउने खेलाडी बने । अल नासरबाट उनले १३० मिलियन अमेरिकी डलर आर्जन गरेको बेलायती एजेन्सीहरूले जनाएका छन् । युरोपियन फुटबल छाडेर एसियामा छिरे पनि उनको आम्दानी घटेको छैन । रोनाल्डोलाई युरोपका धनी क्लबबाट खेलिरहेका प्रसिद्ध फुटबलरले पछार्न सकेका छैनन् । अमेरिकाको इन्टर मियामीबाट खेलिरहेका अर्जेन्टिनी लियोनल मेसी धेरै कमाउने फुटबलरको दोस्रो स्थानमा छन् । इंग्लिस फुटबलर डेभिड बेकह्यामको लगानीमा रहेको मियामीले मेसीलाई प्रतिमिहना राम्रै पारिश्रमिक दिने गरेको छ । गत वर्ष अल नासर, इन्टर मियामी, रियल म्याड्रिड, म्यानचेस्टर सिटी तथा बार्सिलोनाबाट व्यावसायिक फुटबलर सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् ।
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
(२८० मिलियन अमेरिकी डलर)
युरोपियन फुटबल छाडेर एसियामा आबद्ध भएका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अहिले पनि सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका छन् । सन् २०२३ देखि रोनाल्डो साउदी प्रो लिग अल नासरमा आबद्ध छन् । म्यानचेस्टर युनाइटेडमा व्यवस्थापनसँगको सम्बन्ध राम्रो नहुँदा उनले राम्रो आम्दानी गर्ने योजनाका साथ साउदी प्रो लिग रोजेका थिए । यहाँ आउँदा उनले एसियाको फुटबल मार्केट विश्वभरि पुर्याउने वाचा गरे । अल नासरमा जब रोनाल्डोले आबद्धता जनाए, त्यसपछि उनको ब्रान्ड भ्यालु एकैपटक बढ्यो । यसैकारण पनि अल नासरले उनलाई प्रतिसाता महँगो पारिश्रमिक बुझाउने गर्छ । बेलायती एजेन्सीहरूका अनुसार रोनाल्डो गत वर्ष पनि सर्वाधिक कमाइ गर्ने खेलाडीमा परे । उनको कुल आम्दानी २८० मिलियन अमेरिकी डलर रह्यो । यसको मुख्य हिस्साका रूपमा अल नासरसँगको सम्झौता मानिन्छ । उनले १३० मिलियन अमेरिकी डलर पारिश्रमिक रूपमा बुझ्ने गरेका छन् । विभिन्न विश्वप्रसिद्ध ब्रान्डसँग जोडिएपछि उनले यसबाट ८० मिलियन अमेरिकी डलर आर्जन गरे । रोनाल्डोको आफ्नै कम्पनी सिआर–७ ले पनि राम्रो आम्दानी गरिरहेको छ ।
लियोनल मेसी (अर्जेन्टिना)
(१३० मिलियन अमेरिकी डलर)
रोनाल्डोले जस्तै युरोपियन फुटबल छाडेर अन्यत्र लाग्दा भविष्य कस्तो हुने भन्ने लियोनल मेसीलाई चिन्ता लागेको थियो । बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी)मा रहँदा मेसीको आम्दानी वार्षिक गज्जबकै थियो । फेरि युरोपमा यी दुवै क्लब धनीमा पर्छन् । यहाँबाट अन्य क्लबमा गएर व्यावसायिक फुटबल खेल्दा आफ्नो क्रेजसँगै आम्दानी गुम्ने उनलाई चिन्ताले सताएको थियो । तर, डेभिड बेकह्यामको लगानीमा रहेको इन्टर मियामीले उनलाई अनुबन्ध गर्दा नसोचेको रकम दिएको छ । मियामीबाट पाउने पारिश्रमिक र विश्वप्रसिद्ध कम्पनीसँगको सम्झौताले उनी गत वर्ष दोस्रो सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । सन् २०२५ मा उनले १३० मिलियन अमेरिकी डलर आर्जन गरेका थिए । उनले मियामीबाट ६० मिलियन अमेरिकी डलर प्रतिवर्ष लिएको क्लबले जनाएको छ । यसैगरी, एसिडाससँगै अन्य कम्पनीबाट समग्रमा उनको वार्षिक आम्दानी ७० मिलियन अमेरिकी डलर रह्यो ।
करिम बेन्जिमा (फ्रान्स)
(१०४ मिलियन अमेरिकी डलर)
सन् २०२३ मा रोनाल्डोले साउदी प्रो लिग खेल्न आउने घोषणा गर्दा अन्य चर्चित खेलाडी यसैतर्फ आकर्षित भएका थिए । साउदी क्लबजत्तिको धनी क्लब अरू छैनन् । यसैकारण उनीहरूले आफ्नो साउदी प्रो लिगसँगै क्लबलाई समेत विश्वभरि चर्चामा ल्याउन अन्तर्राष्ट्रिय फुटबलमा नाम कमाएका खेलाडी भित्र्याउन पैसाको खोला नै बगाए । यसै आर्थिक लोभमा फ्रान्सका पूर्वराष्ट्रिय खेलाडी करिम बेन्जिमा पनि जोडिन पुगे । अहिले उनी अल इतिहादमा आबद्ध छन् । करिम पनि एसियन फुटबलमै रमाइरहेका छन् । ३७ वर्षको उमेरमा पनि उनी गत वर्ष विश्वकै धेरै कमाउने तेस्रो फुटबलर बने । उनले गत वर्ष १०४ मिलियन अमेरिकी डलर आर्जन गरेका थिए । यसबाहेक उनको आम्दानी भनेको इस्टाग्राम हो । यद्यपि, करिमको मुख्य आम्दानी स्रोत अल इतिहाद क्लब नै हो ।
केलियन एम्बाप्पे (फ्रान्स)
(९५ मिलियन अमेरिकी डलर)
फ्रान्सका युवा स्ट्राइकर केलियनको एउटै चाहना थियो, युरोपियन च्याम्पियन्स लिग जित्ने । पिएसजीमा रहँदा उनको यो आकांक्षा पूरा भएन । पिएसजीमा रहँदासम्म आफू कहिल्यै पनि च्याम्पियन्स लिग विजेता बन्न नसक्ने कल्पना गरेका केलियनले युरोपकै धनी क्लब रियल म्याड्रिडमा आबद्धता जनाए । फेरि च्याम्पियन्स लिगमा रियल सर्वाधिक विजेता पनि हो । रियलबाट खेल्दै च्याम्पियन्स लिग विजेता बन्ने सपना उनको अहिलेसम्म पूरा भएको छैन । अहिले उनी पिएसजी छाडेर पछुताएका हुन सक्छन् । किनभने, गत वर्षको च्याम्पियन्स लिग पिएसजीले नै जितेको थियो । भलै रियलबाट च्याम्पियन्स लिग जित्ने सपना पूरा गर्न नसके पनि केलियन गत वर्ष सर्वाधिक कमाइ गर्ने खेलाडीमा परे । उनको कुल आम्दानी ९५ मिलियन अमेरिकी डलर रह्यो । उनले रियलबाट ७० मिलियन अमेरिकी डलर पारिश्रमिक र सम्झौताबापत थापे ।
इर्लिङ हाल्यान्ड (नर्वे)
(८० मिलियन अमेरिकी डलर )
म्यानचेस्टर सिटीले गत वर्ष इंग्लिस प्रिमियर लिगमा राम्रो प्रदर्शन गर्न सकेन । लगातार नौ खेल गुमाउँदा सिटीले प्रिमियर लिगको उपाधि रक्षा गर्न सकेन । यद्यपि, उसका लागि नर्वेका स्ट्राइकर हाल्यान्डको प्रदर्शन भने अब्बल रह्यो । सिटीले पछिल्ला वर्षमा उपाधि जित्दा उनी नै प्रमुख हाई स्कोरर बनेका थिए । गत वर्ष पनि सिटीबाट उनले धेरै गोल गरेका थिए । तर, लिग उपाधि भने उनले जित्न सकेनन् । गत वर्ष हाल्यान्डको आम्दानी ८० मिलियन अमेरिकी डलर रहेको थियो । यसमा उनले सिटीबाट पारिश्रमिक रूपमा ६० मिलियन अमेरिकी डलर पाएका थिए । उनी विश्वप्रसिद्ध नाइकजस्ता कम्पनीसँग आबद्ध छन् । यसबाट पनि उनको आम्दानी राम्रो छ ।
भिनिसियस जुनियर (ब्राजिल)
(६० मिलियन अमेरिकी डलर)
ब्राजिलका युवा खेलाडी जुनियर स्पेनिस क्लब रियल म्याड्रिडमा खुबै चम्किरहेका छन् । रोनाल्डोको बहिर्गमनपछि रियलले उनलाई प्रमुख स्ट्राइकरका रूपमा अनुबन्ध गरेको थियो । पछि यसमा केलियन थपिँदा जुनियरको भूमिका कमजोर बनेको आभास सबैले गरे । तर, उनले प्राप्त अवसरमा क्लबलाई निराश बनाएका छैनन् । यसैका कारण उनी रियलका दोस्रो धेरै कमाइ गर्ने खेलाडी बनेका छन् । गत वर्ष उनले ६० मिलियन अमेरिकी डलर आर्जन गरेका थिए । जसमा रियलबाट पारिश्रमिक रूपमा उनले ४० मिलियन अमेरिकी डलर हात पारे । यसका साथै उनले नाइक, हुगो बोस तथा प्राडाबाट पनि मोटो रकम सम्झौताबापत लिने गरेका छन् ।
मोहमद सलाह (इजिप्ट)
(५५ मिलियन अमेरिकी डलर)
युरोपियन फुटबलमा लगातार तहल्का मच्चाइरहने खेलाडीमा सलाह अगाडि पर्छन् । इंग्लिस क्लब लिभरपुलले सलाहलाई भित्र्याएपछि उनीहरूको भाग्य नै परिवर्तन भयो । उनी आएपछि लिभरपुलले इंग्लिस प्रिमियरदेखि च्याम्पियन्स लिगसम्म हात पार्यो । गत वर्षको सिजनमा इंग्लिस प्रिमियर लिगको उपाधि जित्दा सलाह नै मुख्य खेलाडी बनेका थिए । लिभरपुलमा यो पाँच वर्षको अवधिमा सलाह नम्बर एक गोल स्कोरर बनेका छन् । यसैकारण पनि क्लबले उनलाई मोटो रकम प्रदान गर्दै आइरहेको छ । सलाहले गत वर्ष ५५ मिलियन अमेरिकी डलर आर्जन गरेका थिए । जसमा लिभरपुलबाट पारिश्रमिक रूपमा उनले ३५ मिलियन अमेरिकी डलर हात पारे । यसका साथै उनले गत वर्ष २० मिलियन अमेरिकी डलर विभिन्न कम्पनीको ब्रान्डिङ गर्दै कमाए ।
साडिओ माने (सेनेगल)
(५४ मिलियन अमेरिकी डलर)
अफ्रिकन खेलाडी माने अहिले राष्ट्रिय टोली सेनेगलमा छैनन् । मानेले आफ्नो फुटबल करिअरको उत्तराद्र्धमा एसियन क्षेत्र रोजे । यसमा पनि उनले साउदी प्रो लिगकै धनी मानिने अल नासर रोजे । यहाँ रहँदा उनको आम्दानी अस्वाभाविक रूपमा बढेको थियो । जुन युरोपमा खेलिरहँदा उनले खासै सोचेको जस्तो धन आर्जन गर्न सकेका थिएनन् । गत वर्ष उनले ५४ मिलियन अमेरिकी डलर कमाएका थिए । यसमा उनले चार मिलियन अमेरिकी डलर अल नासरबाट पाएका छन् ।
जुडे बेलिंघम (इंग्ल्यान्ड)
(४४ मिलियन अमेरिकी डलर)
इंग्ल्यान्डका युवा खेलाडीमा बेलिंघम अहिले अगाडि छन् । इंग्ल्यान्डले अर्को वर्ष फिफा विश्वकपमा स्थान बनाउँदा यिनै युवा खेलाडीबाट राम्रो साथ पाएको थियो । उनी अहिले स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । रियलले पनि उनलाई राम्रो पारिश्रमिक दिएको छ । गत वर्ष उनको आम्दानी ४४ मिलियन अमेरिकी डलर रहेको थियो । जसमा रियलबाट पारिश्रमिक रूपमा उनले २९ मिलियन अमेरिकी डलर आर्जन गरेका थिए ।
यामिन यामल (स्पेन)
(४३ मिलियन अमेरिकी डलर)
यामलको उमेर १८ वर्ष पनि पूरा भएको छैन । तर, यो उमेरमा पनि उनको फुटबल खेल्ने शैली निकै फरक छ । स्पेनका युवा खेलाडी यामल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्छन् । गत वर्ष बार्सिलोनाले स्पेनिस ला लिगा उपाधि जित्दा उनी प्रमुख खेलाडी बनेका थिए । बार्सिलोनामा आबद्ध खेलाडीमध्ये उनी महँगामा पर्छन् । गत वर्ष यामलको आम्दानी ४३ मिलियन अमेरिकी डलर रह्यो । जसमा बार्सिलोनाबाट ३३ मिलियन अमेरिकी डलर उनले पाएका थिए । यसबाहेक उनले विभिन्न कम्पनीको ब्रान्डिङ गरी १० मिलियन अमेरिकी डलर कमाएको एजेन्सीहरूले जनाएका छन् ।
(एजेन्सीको सहयोगमा)