एसेज सिरिजपछि उस्मानको सन्न्यास

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण
  • १५ वर्ष अस्ट्रेलियाबाट खेलेका उस्मान खुवाजाले इंग्ल्यान्डविरुद्धको पाँचाैँ टेस्टपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने

अस्ट्रेलियन ब्याट्सम्यान उस्मान खुवाजाले इंग्ल्यान्डविरुद्धको एसेज सिरिजपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । सन् २०११ मा अस्ट्रेलियन टोलीबाट डेब्यु गरेका उस्मानको अन्तिम टेस्ट नै इंग्ल्यान्डसँगको पाँचाैँ हुनेछ । एसेजअन्तर्गत पाँचौँ तथा अन्तिम टेस्ट सिड्नी क्रिकेट मैदान (एससिजी)मा हुँदै छ । ३९ वर्षीय खेलाडीले ८७ टेस्टमा ६ हजार दुई सय ६ रन जोडेका छन् । जसमा १६ शतकीय इनिङ्स समावेश छ । ३५ वर्षमाथि टेस्टमा शतकीय इनिङ्स खेल्ने उनी पाँचौँ खेलाडीमा पर्छन् ।

‘एससिजीको टेस्ट नै मेरो करिअरकै अन्तिम हुनेछ,’ उस्मानले भने, ‘सन्न्यास लिने सम्बन्धमा मैले धेरैपटक विचार गरेँ । परिवार र प्रशिक्षकसँगको सल्लाहपछि एससिजी टेस्टलाई अन्तिम बनाउने निर्णय गरेको हुँ ।’ दुई वर्षपछि अस्ट्रेलिया र भारतबिचको सिरिज हुँदै छ । उनले सुरुमा भारतसँगको टेस्टलाई अन्तिम बनाउने विचार गरेका थिए । दुई वर्षको अवधिमा युवा खेलाडीलाई मौका दिनका निम्ति नै दुई वर्षअघि सन्न्यास लिने निर्णय गरेको उस्मानले बताए । 

‘इंग्ल्यान्ड र भारतसँगको टेस्टले सधैँ रमाइलो र रोमाञ्चक बनाउँछ । भारतसँगको बोर्डर गावास्कर सिरिजलाई करिअरकै अन्तिम टेस्ट बनाउने योजनामा थिएँ, तर यो अझै दुई वर्ष अवधि छ,’ उस्मानले भने, ‘फेरि दुई वर्षभित्र फर्ममा होला कि नहोला ? यसकारण मैले एसेजलाई जीवनकै अन्तिम टेस्ट खेलका रूपमा लिएको हुँ ।’ 

फ्रेन्चाइज लिगमा सक्रियता
अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा लिने तयारी गरिरहेका उस्मानले फ्रेन्चाइज लिगलाई भने निरन्तरता दिनेछन् । अहिले उनी अस्ट्रेलियामा हुने बिग बासअन्तर्गत ब्रस्बन हर्टमा आबद्ध छन् । यसैगरी, सेफिल्ड सेल्ट क्रिकेटबाट पनि उनी खेल्ने गर्छन् । ‘शरीरले भ्याएसम्म र फिट रहँदा घरेलु क्रिकेटमा मेरो उपस्थिति रहनेछ,’ उनले आफ्नो भावी योजना सुनाए, ‘बिग बाससँगै अन्य लिगमा आबद्ध भइरहनेछु ।’ सन् २०११ मा उनले इंग्ल्यान्डसँगको सिरिजमा डेब्यु गरेका थिए । डेब्यु टेस्टमा उनले खासै प्रभावशाली प्रदर्शन गर्न सकेका थिएनन् । त्यसको दुई वर्षपछि टोलीमा फर्कंदै उनले उत्कृष्ट प्रदर्शन गरे । सन् २०२१/०२२ मा उनले एसेजमा दुई शतक लगाए । त्यसवेला ट्रेभिस हेडको स्थानमा उनले स्थान बनाएका थिए । कोभिडका कारण हेड टोलीबाट बाहिरिँदा उस्मानले मौका पाएका थिए । 

फरक समुदायका खेलाडी
१५ वर्षअघि उस्मानले अस्ट्रेलियाबाट खेल्दा थुप्रै विवादको सामना गरेका थिए । अस्ट्रेलियाली टोलीमा एक मुसलमान समुदायका खेलाडी आउँदा उनीप्रतिको हेराइ फरक थियो । तत्काल कप्तान रिकी पोन्टिङ चोटग्रस्त हुँदा उनले खेल्ने अवसर पाए । मुस्लिम क्रिकेटर भएका कारण नै राम्रो प्रदर्शन गर्दा–गर्दै पनि उनले टोलीमा स्थान बनाउन निरन्तर संघर्ष गर्नुपरेको थियो । सन् २०१५ मा उस्मानले न्युजिल्यान्डविरुद्ध ब्रिस्बनमा टेस्टमा शतक लगाए । यद्यपि, यो शतकले पनि टोलीमा उनको स्थान सुरक्षित भएन । दुई वर्ष अस्ट्रेलियन टोलीबाट उनी बाहिर रहे । फेरि मौका पाउँदा उनले चारमध्ये तीन टेस्टमा शतकीय इनिङ्स खेल्न सफल भए । सन् २०१८ मा उनले अबुधाबीमा पाकिस्तानविरुद्धको टेस्टमा एक सय ४१ रन बनाउँदै म्याच विनिङ प्रदर्शन गरेका थिए । सन् २०१९ मा उनी फेरि टोलीबाट बाहिरिए । सन् २०२३ मा उनले गाले टेस्टमा दुई सय ३२ रनको दोहोरो शतकीय इनिङ्स खेल्न सफल भए । जुन उनको करिअरकै उत्कृष्ट खेल प्रदर्शनका रूपमा रहेको छ ।

See More On

सुझावित समाचार