कांग्रेसमा दुई खेमाका छुट्टाछुट्टै महाधिवेशन

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण
  • वैशाखमा नियमित महाधिवेशन गर्ने पार्टीको निर्णय, महामन्त्रीद्वय पुसमा विशेष महाधिवेशनको तयारीमा विधानको आ–आफ्नै व्याख्यासहित दुवै समूह आमनेसामने हुँदा समानान्तर संरचना निर्माण हुने अनुमान

पार्टी विधानको फरक–फरक व्याख्या गर्दै कांग्रेसका संस्थापन र इतर पक्षले खुला रूपमा समानान्तर प्रक्रिया र गतिविधि अगाडि बढाएका छन् । एकै समयमा विशेष र नियमित महाधिवेशनको तयारीसहित दुवै पक्ष आमनेसामने हुँदा कांग्रेसमा समानान्तर संरचना निर्माण हुने खतरा बढेको छ । चुनावअघि चर्किँदो आन्तरिक शक्तिसंघर्षले पार्टीलाई औपचारिक विभाजनको सँघारमा पुर्‍याउन सक्ने विश्लेषकको टिप्पणी छ ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बहुमतको बलमा संस्थापन पक्षले पुसको नियमित महाधिवेशन आगामी २८–३१ वैशाखमा सार्ने निर्णय गरेको छ । जबकि यो निर्णयमा फरक मत राखेको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हरहालतमा २७–२९ पुसमा विशेष महाधिवेशनमा जाने घोषणा गरेको छ । कार्यसम्पादनको यो निर्णयले नेतृत्व वैधतामा थप संकट आउन सक्ने कतिपयको मत छ । 

कार्यसम्पादन समितिको बहुमतले २६–२८ पुसमा केन्द्रीय महाधिवेशन गर्ने गरी त्यसअघि सम्पन्न गर्ने वडादेखि प्रदेशसम्मको महाधिवेशन तालिका संशोधनको निर्णय गरेको छ । जबकि महामन्त्रीद्वय थापा–शर्मा समूहले विशेष महाधिवेशनका लागि केन्द्रमा दर्ता भएको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार अघि बढ्ने पुन: घोषणा गरेका छन् । सभापतिले नबोलाए महामन्त्रीको हैसियतमा आफूहरूले विधानअनुसार नै विशेष महाधिवेशन आह्नान गर्ने उनीहरूको भनाइ छ ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार १६ पुसदेखि सुरु हुनुपर्ने कांग्रेसको वडा अधिवेशन हुन सकेन । यसैबिच, महामन्त्रीद्वय थापा र शर्माले बिहीबार केन्द्रीय कार्यालयको तर्फबाट विज्ञप्ति जारी गर्दै पुसमा हुने नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशनतर्फ जानुपर्ने र त्यसका लागि केन्द्रीय समितिमा सहमति जुटाउने प्रयास गरिने उल्लेख गरेका थिए ।

अर्कोतर्फ सुरुदेखि नै विशेष महाधिवेशनको विपक्षमा रहेका सभापति देउवाले बिहीबार र शुक्रबार निकटस्थ नेताहरूसँग छलफल गरेपछि शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका थिए । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २८–३१ वैशाखमा महाधिवेशन गर्ने र त्यसअघि २१ चैतदेखि १२ वैशाखसम्म वडादेखि प्रदेश तहसम्मका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।

त्यसलगत्तै बैठकमा महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर तथा नेताहरू अर्जुननरसिंह केसी र उमा रेग्मीले प्रस्तावप्रति आपत्ति जनाएका थिए । उनीहरूबाहेकका सदस्यहरूले कार्यवाहक सभापतिको प्रस्तावमा सहमति जनाएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ पत्रिकासँग बताए । ‘उहाँहरूले नोट अफ डिसेन्ट राख्दै विशेष महाधिवेशनमा जाने अडान व्यक्त गर्नुभयो,’ महतले भने । महतका अनुसार इतर समूहका नेता डा. शेखर कोइरालाले भने वैशाखमा महाधिवेशन गर्ने निर्णयलाई समर्थन गरेका छन् ।

बैठकमा महामन्त्री थापाले परिवर्तित परिस्थितिमा चुनावअघि नेतृत्व परिवर्तन र नीतिगत स्पष्टताका आधारमा कांग्रेस अघि बढ्नुपर्नेमा आफू दृढ संकल्पित रहेको र विशेष महाधिवेशनको अब विकल्प नभएको धारणा राखेका थिए । उनले पुसभित्र नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा २९ पुससम्म विशेष महाधिवेशन बोलाउनु बाध्यकारी रहेको बताएका थिए ।

साथै, उनले केन्द्रीय समितिले निर्णय नगरे केन्द्रीय कार्यालयको तर्फबाट आफूले बोलाउने घोषणा गरेका छन् । ‘आफूलाई मन परेकोमा विधान लागू गर्ने र मन नपरेको विधान लागू नहुने भन्ने हुँदैन । पार्टी विधानको धारा १७ (२)ले विशेष महाधिवेशन मन लाग्दा बोलाउने, मन नलाग्दा नबोलाउने भन्ने हुँदैन । यो छनोटको विषय होइन,’ थापाले भने, ‘विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर पार्टीमा बुझाएको समय (९० दिन) पुस २८–२९ मा सकिन्छ । यो अवधिभित्र विशेष महाधिवेशन गर्दिनँ भन्न पाइँदैन ।’

उनले केन्द्रीय कार्यसमितिले निर्णय नगरेमा विधानको धारा १७ (२) पालना गर्ने र विशेष महाधिवेशनमा जाने बताए । ‘केन्द्रीय समितिले निर्णय गर्दैन भने केन्द्रीय कार्यालयका रूपमा महामन्त्रीले पुसभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्छ । केन्द्रीय समितिले गरोस् वा केन्द्रीय कार्यालय (महामन्त्री)ले गरोस् विशेष महाधिवेशन हुन्छ,’ उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिले वैशाखमा महाधिवेशनको निर्णय गर्‍यो भनेर अब घर गएर सुत्ने होइन । केही दिनभित्रै विशेष महाधिवेशनका लागि काठमाडौं आउने तयारी गर्न म आह्वान गर्छु ।’ विशेष महाधिवेशन पक्षधरले २७ देखि २९ पुससम्म विशेष महाधिवेशनका लागि भृकुटीमण्डपस्थित हल र चौर बुक गरिसकेका छन् ।

पार्टी प्रवक्ता महतले भने विशेष महाधिवेशन हुन नसक्ने जिकिर गरे । ‘वैशाखमा नियमित महाधिवेशन गर्ने भनेको अहिले जारी प्रक्रियाको निरन्तरता हो, नयाँ होइन । त्यसकारण विशेष महाधिवेशनको अहिले औचित्य रहँदैन । यो कुरा हस्ताक्षरकर्ताहरूले बुझ्नुभएको छ । क्रियाशील सदस्यता नटुंगिएको अवस्थामा पूर्वघोषित कार्यतालिकाअनुसार १६ पुसदेखि वडा अधिवेशन हुन सकेन । त्यसपछि कार्यतालिका संशोधन भएको हो,’ उनले भने, ‘संशोधनसहितको निरन्तरता हुनाले महाधिवेशनमा समस्या हुँदैन । साथीहरूले यो बिस्तारै बुझ्नुहुन्छ ।’

देउवाले अब के गर्लान् ? 
पार्टी विभाजनसम्म पुग्न सक्ने गरी दुवै पक्ष आमने–सामने भएपछि सभापतिको हैसियतमा शेरबहादुर देउवाको भूमिका के होला भनेर सबैको चासो छ । दुवै पक्षले औपचारिक प्रतिक्रियामा भने पार्टी एकतामा जोड दिएका छन् । तर, एकले अर्कोमाथि निर्णायक दबाब बनाउने र आरोपित गर्ने खेल भने रोकिएको छैन । 

विश्लेषक लोकराज बराल भन्छन्, ‘सभापति शेरबहादुर देउवाले बुद्धि पुर्‍याएर प्रयास गरे भने पार्टी जोगिएला । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरू पछि हट्ने सम्भावना देख्दिनँ ।’

पार्टीमा देखिएको संकट टार्न भन्दै आफूलाई भेट्न आएका नेताहरूसँग देउवाले पार्टी फुटमा जान नहुने बताएका थिए । बिहीबार केन्द्रीय सदस्य आङ्गेलु शेर्पा, उदयशमशेर राणा, राजेन्द्र केसीलगायतको टोलीले सुरुमा सभापति देउवा र त्यसपछि महामन्त्रीद्वय थापा र शर्मासँग भेटेको थियो । 

‘पार्टी कुनै पनि हालतमा फुटतर्फ जानुहुन्न । विशेष महाधिवेशनको विषयमा उहाँहरू (महामन्त्रीद्वय)ले धेरै हतार गर्नुभो । मैले नेतृत्व छाडेर कार्यवाहक दिइसकेको छु । मैले त अब छाड्ने नै हो । अब पनि मैले के छाड्नुपर्ने हो त्यसका लागि पनि तयार छु । तर, पार्टी फुट्नुहुँदैन,’ देउवालाई उद्धृत गर्दै केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले नयाँ पत्रिकासँग भने । 

महामन्त्री थापाले भने समानुपातिक उम्मेदवार सिफारिस प्रक्रियामा आफूहरूलाई बाइपास गरिएको, पुसभित्र नियमित महाधिवेशन गर्न आलटाल गरिएको भन्दै गुनासो गरेका थिए । ‘हामी पार्टी फुट्न दिँदैनौँ र पार्टी फुट्दैन भन्ने उहाँहरूको भनाइ थियो,’ शेर्पाले भने, ‘हामीले उहाँहरूलाई मध्यमार्गी बाटो निकाल्नुस् र चुनावको मुखमा पार्टीमा एकताको सन्देश दिनुहोस् भन्यौँ ।’ 

प्रवक्ता महतले सहमतिका लागि सभापति देउवाले विगतदेखि नै भूमिका निर्वाह गरेको उल्लेख गर्दै भने, ‘अब पनि उहाँले सहमतिका लागि प्रयास गर्नुहुन्छ । तर, निर्णय प्रक्रियामा फरक मत राखे पनि उहाँहरू (महामन्त्री)ले बहुमतको निर्णय नै मान्दिनँ भन्न पाउनुहुन्न । त्यसमा टेकेर अघि बढ्नुपर्छ ।’

सभापतिले नबोलाए महामन्त्रीले बोलाउँछौँ, विशेष महाधिवेशन त हुन्छ–हुन्छ  : गगन थापा, महामन्त्री

पार्टी विधानको धारा ४३ अनुसार केन्द्रीय समितिको म्याद थप गर्ने र नियमित महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव आयो । केन्द्रीय कार्यसम्पादन समितिको बहुमतबाट पारित त गरियो, तर यसमा हाम्रो फरक मत रह्यो । आफूलाई मन परेकोमा विधान लागू गर्ने र मन नपरेको विधान लागू नहुने भन्ने हुँदैन । पार्टी विधानको धारा १७ (२)ले विशेष महाधिवेशन मन लाग्दा बोलाउने, मन नलाग्दा नबोलाउने भन्ने हुँदैन । यो छनोटको विषय होइन । विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर पार्टीमा बुझाएको समय (९० दिन) पुस २८–२९ मा सकिन्छ । यो अवधिभित्र विशेष महाधिवेशन गर्दिनँ भन्न पाइँदैन । विशेष महाधिवेशनमा जानुपर्छ भन्ने धारणासहित वैशाखमा महाधिवेशन गर्ने प्रस्तावमा फरक मत राख्यौँ । 

अब एक–दुई दिन समय छ । विशेष महाधिवेशनबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्छ । यो उत्तम हुन्छ । किनभने विधानको अधिकारलाई उल्लंघन गर्न पाइँदैन । पार्टी सभापति र केन्द्रीय समितिलाई हाम्रो अनुरोध छ र माग पनि गर्छु– केन्द्रीय कार्यसमितिले निर्णय गरेन भने विधानको धारा १७ (२) पालना हामी गर्छौँ । केन्द्रीय समितिले निर्णय गर्दैन भने केन्द्रीय कार्यालयका रूपमा महामन्त्रीले पुसभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्छ । केन्द्रीय समितिले गरोस् वा केन्द्रीय कार्यालय (महामन्त्री)ले गरोस् विशेष महाधिवेशन हुन्छ । केन्द्रीय कार्यसम्पादन समितिले वैशाखमा महाधिवेशनको निर्णय गर्‍यो भनेर अब घर गएर सुत्ने होइन । केही दिनभित्रै विशेष महाधिवेशनका लागि काठमाडौं आउने तयारी गर्न म आह्वान गर्छु । 

विशेष महाधिवेशनको कार्यविधि केन्द्रीय कार्यसमितिले बनाउने र विशेष महाधिवेशनले पारित गर्ने हो । यदि यो भएन भने विशेष महाधिवेशन आफैँले कार्यविधि बनाउँछ र पारित गरेर अघि बढ्छ । यो विशेष महाधिवेशनको कार्यक्षेत्रलाई कसैले अतिक्रमण गर्न पाउँदैन, मैले पाउने कुरा हुँदैन । 

नेपाली कांग्रेसको अवस्था सजिलो छैन । भदौ २३–२४ अघि र पछिको परिस्थिति एउटै होइन । तर, एउटै भएजस्तो गरिएको छ । यो फरक परिस्थिति हो । हामी जस्तोसुकै परिस्थितिमा पार्टी फुट्न दिँदैनौँ, पार्टी फुट्दैन । पार्टी फुट्छ भने विधानको धारा १७ (२) किन लेखेको त ? 

हामीले असोजमा प्रस्ताव गरेका वेला महाधिवेशन गरेको भए एमालेभन्दा पहिला नै सानदार रूपमा महाधिवेशन गरिसकेका हुन्थ्यौँ । ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर पार्टी विधानअनुसार माग गरेको विषयमा अहिले दादागिरी गर्न पाइन्छ ? अब विशेष महाधिवेशन सभापतिले डाक्नुहुन्छ र उहाँ आउनुहुन्छ भन्ने विश्वास छ । यदि भएन भने केन्द्रीय कार्यालयले आह्वान गर्छ । केन्द्रीय कार्यालय भनेको महामन्त्री हो । अर्का महामन्त्री (विश्वप्रकाश शर्मा)को समेत जिम्मा लिएर भन्छु– हामी विशेष महाधिवेशनको मागमा प्रतिबद्ध छौँ । 

शेरबहादुरले बुद्धि पुर्‍याएर प्रयास गरे भने पार्टी जोगिएला, महामन्त्री पछाडि हट्ने देखिन्न : प्रा. लोकराज बराल, राजनीतिशास्त्री
यतिवेला कांग्रेस गम्भीर मोडमा पुगेको छ । अहिले नै पार्टी फुट्ला भनेर अनुमान गर्न गाह्रो छ । सभापति शेरबहादुर देउवाले बुद्धि पुर्‍याएर प्रयास गरे भने पार्टी जोगिएला । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरू पछि हट्ने सम्भावना देख्दिनँ ।

जेन–जी आन्दोलनसँगै बदलिएको परिस्थितिमा उनीहरूले लिएको अडान ठिक छ । वैशाखमा महाधिवेशन गर्ने निर्णय देउवाकै इसारामा भएको अस्वीकार गर्न सकिन्न । तर, उनी बैठकमा नभएको र निर्णय प्रक्रियामा प्रत्यक्ष नदेखिएको हुनाले उनको भूमिका अब निर्णायक हुने मैले देखेको छु । उनले चाहे भने मिलाउन सक्लान् । अर्को यथार्थ के हो भने कांग्रेसको यो लडाइँ टिकट र पदका लागि हो ।

एमालेमा केपी ओलीले जे गरे, कांग्रेस त्यही बाटोमा जानुहुँदैन । बहुदलीय प्रजातन्त्रमा पार्टीहरूको फुट र एकतालाई पनि अन्यथा लिनुहुँदैन । बिपी र मातृकाप्रसाद कोइराला पनि विगतमा फुटेकै हुन् ।

भारतमा पनि इन्दिरा गान्धीले भारतीय राष्ट्रिय कंग्रेस विभाजन गरेकै थिइन् । राजनीतिमा यस्तो भइरहन्छ । देउवाले बुद्धि पुर्‍याउने हो भने महामन्त्रीद्वयले लिएको लाइनका आधारमा अघि बढ्नु राम्रो हुन्छ, यसले नै कांग्रेस बचाउनेछ ।

सुझावित समाचार