निर्वाचन सुरक्षा : १० अर्ब ३८ करोड ३४ लाख ८० हजार बजेट सुनिश्चितता

निर्वाचन प्रहरीलाई मात्र करिब आठ अर्ब

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

अर्थ मन्त्रालयले निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायलाई मागभन्दा करिब आधा मात्र बजेट उपलब्ध गराएको छ । गृह मन्त्रालयले निर्वाचनका लागि करिब २० अर्ब रुपैयाँ बजेट माग गरेको भए पनि बिहीबार अर्थले पहिलो चरणमा १० अर्ब ३८ करोड ३४ लाख ८० हजार बजेट सुनिश्चित गरेको हो । निर्वाचन भत्ता तथा अन्य शीर्षकमा गरिएको माग अस्वीकार गर्दै अर्थ मन्त्रालयले न्यूनतम बजेट मात्र सुनिश्चित गरेको छ । यसले निर्वाचन सुरक्षामा चुनौती थपिने प्रहरी अधिकारीहरू बताउँछन् । यद्यपि, अर्थले बजेट अभाव हुन नदिने प्रतिबद्धता भने जनाएको छ । 

गृहप्रवक्ता आनन्द काफ्लेले पहिलो चरणमा १० अर्ब ३९ करोड रुपैयाँ बजेट सुनिश्चितता भएको र थप बजेटका विषयमा छलफल जारी रहेको बताए । ‘अर्थ मन्त्रालयले सुरक्षामा समस्या नहुने गरी बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ,’ उनले भने, ‘पहिलो चरणको सुनिश्चितता भइसकेको छ, आवश्यक परे थप बजेट आउने अपेक्षा छ ।’ निर्वाचनका लागि करिब दुई महिना मात्र बाँकी रहँदा बजेट सुनिश्चितता आएको हो । बजेट सुनिश्चित भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले केही दिनमै म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । सुरक्षा निकायको ढुवानी खर्च भने निर्वाचन आयोगमार्फत उपलब्ध गराइने गरी बजेट व्यवस्था गरिएको छ । 

अर्थ मन्त्रालयले उपलब्ध गराएको बजेटमध्ये करिब आठ अर्ब निर्वाचन प्रहरी (म्यादी प्रहरी)मै खर्च हुने भएको छ । नेपाल प्रहरीमार्फत भर्ना हुने करिब एक लाख ३३ हजार म्यादी प्रहरीका लागि सात अर्ब १३ करोड २५ लाख छुट्याइएको छ । त्यस्तै, सशस्त्र प्रहरीमार्फत निर्वाचन प्रहरीका लागि ८० करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ । सशस्त्र प्रहरीमार्फत करिब १५ हजार म्यादी प्रहरी भर्ना गर्न सरकार सहमत भएको छ । निर्वाचनमा सशस्त्र प्रहरीले दोस्रो घेरामा रहेर सुरक्षामा सघाउनेछ । 

दोस्रो घेरामा परिचालन हुने जनशक्ति सीमित हुने भएकाले सशस्त्र प्रहरीले पूर्वकर्मचारीसमेतलाई म्यादी प्रहरीमा भर्ना गरी परिचालन गर्ने तयारी गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत म्यादी परिचालनको मापदण्ड शुक्रबार स्वीकृत भएपछि प्रक्रिया टुंगो लाग्ने गृह मन्त्रालयले जनाएको छ । यसअघि ०६४ को निर्वाचनमा पनि सशस्त्र प्रहरीले साबिकको म्यादी प्रहरी भर्ना गरी परिचालन गरेको थियो । यसपटक पनि सशस्त्र प्रहरीमार्फत भर्ना हुने म्यादी प्रहरीको परिचालन र पोसाक छुट्टै हुने विषयमा छलफल भइरहेको छ । तर, सुविधा भने दुवैतर्फबाट भर्ना हुनेले बराबर पाउने व्यवस्था गरिएको छ । 

प्रहरीले प्रहरी तथा म्यादीका लागि स्थानीय भत्तासहितको प्रस्ताव गरेको थियो । तर, सबै प्रकारका भत्ताको शीर्षक कटौती भएर आएको गृहका एक अधिकारीले बताए । 

सुझावित समाचार