महोत्सवको आकर्षण ‘मेड इन’ बागलुङ

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

पुस ११ गतेदेखि आठौँ बागलुङ महोत्सव चलिरहेको छ । महोत्सवमा विभिन्न व्यापारिक स्टलहरूसँगै स्थानीय  उद्योगी–व्यवसायीले उत्पादन गरेका वस्तुहरू पनि व्यापारका लागि राखिएको छ । स्थानीय रूपमा उत्पादन भएका वस्तुहरूको ‘मेड इन’ बागलुङको नाम दिएर छुट्टै स्टलको व्यवस्थापन गरिएको छ । तिनै स्टलहरूमा यहाँ उत्पादन हुने वस्तुहरू साथै कृषि प्रदर्शनीसमेत राखिएको छ । 

स्टलमा बागलुङ नगरपालिका– १३, पैयुँपाटामा रहेको लक्ष्मी होजिरिया उद्योगमा उत्पादित ऊनका विभिन्न कपडाहरू, बागलुङ नगरपालिका– २ मा रहेका सूर्या ढाका उद्योगमा उत्पादित ढाका कपडा, बडिगाड गाउँपालिका बडिगाड गाउँपालिका- ७ भीमगिठेका लोकबहादुरक केसीले उत्पादन गरेको मह, बिहुँमा उत्पादन हुने सुन्तलालगायतका वस्तुहरू रहेका छन् । यति मात्र हाेइन, बागलुङमा उत्पादन हुने डाला, नाङ्ला, काठका डेका–डेकी पनि महोत्सवस्थलमा राखिएको छ ।  महोत्सव हेर्न आउने दर्शकका मन तिनै स्थानीय उत्पादनले जितेका छन । 

स्थानीय उद्योग र स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यका साथ यहाँका वस्तुहरू बिक्री–वितरणका लागि निःशुल्क स्टलको व्यवस्थापन गरिएको छ । जसले गर्दा व्यवसायीलाई सहयोग पुगेको आयोजक बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ । 

आफूहरूले उत्पादन गरेको वस्तुलाई महोत्सवमार्फत प्रचारप्रसार गर्नुका साथै बिक्री–वितरण गर्ने अवसर पाउँदा अझै उत्पादनमा वृद्धि गर्ने हौसला मिलेको लक्ष्मी होजियारी उद्योगकी सञ्चालिका लक्ष्मी क्षेत्री बताउँछिन् । उनले गाउँमा नै उद्योग सञ्चालन गरेर यस्तै मेला–महोत्सवमार्फत आफ्नो उत्पादनको बजारीकरण गरेको बताइन् । ‘गाउँघरमा नै केही गरौँ भन्ने उद्देश्यले होजियारी उद्योग सञ्चालनमा ल्याएकी छु ।बजारीकरणका लागि यस्तै मेला महोत्सवमा पुग्ने गर्छौँ,’ क्षेत्रीले भनिन्, ‘एउटा स्विटरको ६ सयदेखि १५ सयसम्म पर्छ, यसको व्यापार पनि सन्तोषजनक नै छ ।’ छोरा सुनील केसीको गर्विलो साथमा उद्योग सञ्चालन गरेकी लक्ष्मीले मेला–महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिए तापनि यसको प्रयोग गर्नका लागि कम मात्राले चासो दिँदा कहिलेकाहीँ निराशासमेत छाउने बताइन् । उनले विशेष गरी जाडो समयमा ऊनीका कपडाहरू राम्रो बिक्री हुने बताइन् । लक्ष्मी मेला–महोत्सवमा मात्र बिक्री–वितरण गर्दिनन्, उनले विभिन्न विद्यालयमा आवश्यक स्कुल पोसाक पनि निर्माण गर्ने गरेको बताउँछिन् । स्थानीय उत्पादन राम्रो र बलियो हुने हुँदा आम उपभोक्ताको रोजाइमा परेको लक्ष्मीको भनाइ छ । 

महोत्सवमा यहाँ उत्पादन हुने ढाकाका कपडा पनि दर्शकहरूको नजरमा परेका छन् । ढाकाबाट तयार पारिएका साडी, ब्लाउज, चोलो, कोटलगायतका कपडा दर्शकको रोजाइमा परेको ढाका उद्योग सञ्चालक शान्ति थापा बताउँछिन् ।

महोत्सवमा जिल्लाको बडिगाड गाउँपालिकामा उत्पादन भएको लोकल र अर्गानिक मह पनि  दर्शकको रोजाइमा परेको छ । जाडो समय भएका कारण मह खरिद गरेर फर्किने धेरै रहेको लोकबहादुर केसी बताउँछन् । ‘बडिगाड गाउँपालिकाभित्रका विभिन्न वडामा उत्पादन भएका वस्तुहरू सबै लिएर आएको छु,’ उनले भने, ‘अर्गानिक मह, लोकल घिउ, अचार, भाँगाे, सिस्नोको धुलो, दुनाटपरी, कोदोको पिठो, टिमुर, किबीलगायतका वस्तुहरू सबै हाम्रो पालिकाभित्र उत्पादन भएका छन् ।’ यस क्षेत्रमा उत्पादन भएको किबी, भाँगाे, टिमुर,  बडिगाड– ७ मा उत्पादन भएको कोदोको पिठो, मह, दुनाटपरी,  बडिगाड- ५ मा उत्पादन भएको घिउ लिएर महोत्सवमा आएको उनले बताए ।

बागलुङ जिल्लाभर उत्पादन भएका वस्तुहरूको बिक्री–वितरण, प्रवर्द्धन र बजारीकरणका लागि मेड इन बागलुङको अवधारणाअनुसार बागलुङमा महोत्सवमा निःशुल्क स्टल उपब्ध गराएको मेड इन बागलुङ कार्यक्रमका संयोजक सुदीपसागर कँडेलले बताए । 
‘बागलुङ जिल्लाका १० वटै पालिकामा उत्पादन भएका स्थानीय उत्पादन, कृषि उपजको प्रदर्शनी र बिक्री–वितरणका लागि हामीले निःशुल्क स्टल उपलब्ध गराएका छौँ,’ उनले भने, ‘घरेलु उत्पादनका सामग्री बिक्री गर्न आउने सबै स्टललाई कुनै पनि पैसा लाग्दैन ।’ यसबाट स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । महोत्सवमा दुई सयभन्दा बढी व्यापारिक स्टलहरू रहेका छन् । महोत्सवमा रमाइलो मेला, दोहोरीगीत प्रतियोगिता, पुरुष भलिबल, महिला भलिबल प्रतियोगिता, डाेरी तान्ने प्रतियोगिता पनि सञ्चालन भएको मूल आयोजक समितिका संयोजक एव बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बताए । 
 

See More On

सुझावित समाचार