तिब्बत अध्यागमन विभागका महानिर्देशक र नेपाली महावाणिज्यदूतबिच भेटवार्ता

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र तिब्बत स्वायत्त प्रदेशका अध्यागमन विभागका महानिर्देशक वाङ सी होङबिच महावाणिज्य दूतावासको कार्यालयमा भेटवार्ता भएको छ।

भेटका अवसरमा महावाणिज्यदूत निरौलाले महानिर्देशक वाङलाई महावाणिज्य दूतावासमा स्वागत गर्दै अध्यागमन विभागतर्फबाट महावाणिज्य दूतावासलाई प्रदान हुँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

उनले गत असारमा रसुवास्थित ल्हेन्दे खोलामा आएको बाढीका कारण क्षतिग्रस्त भएको भोटेकोशी नदीको मैत्री पुल पुनर्निर्माण कार्य सम्पन्न भई यही पुस १७ गतेदेखि रसुवा नाकाबाट आयात–निर्यात पुनः सुरु हुन लागेको प्रसंग स्मरण गर्दै यसका लागि चीन सरकार र सिचाङ अध्यागमन विभागप्रति नेपाल सरकारको तर्फबाट आभार प्रकट गरे। उनले सो कदमले नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

सो अवसरमा महानिर्देशक वाङले महावाणिज्य दूतावासको कार्यकाे प्रशंसा गर्दै नेपाल–चीनबिचको ऐतिहासिक सम्बन्धले दुई देशबिचको साझेदारीलाई थप सुदृढ बनाएको बताए। उनले विगतमा दुवै पक्षबिच सहकार्यमा गरिएको कामको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाललाई सहयोग पुर्याउन सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे।

भेटका क्रममा नेपाल–चीन सम्बन्धसँग सम्बन्धित विभिन्न विषयमा चर्चा भएको थियो। विशेषतः दुवै देशका सबै सीमानाकालाई मिलेर व्यवस्थित गर्ने, नाकाहरूमा हुने आयात–निर्यात र मानव आवत–जावतमा थप सहजीकरण गर्ने, सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने, दुवै देशका अधिकारीबिचको सम्पर्क र समन्वयलाई अझ प्रगाढ बनाउने तथा भ्रमण टोली आदान–प्रदानका माध्यमबाट आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा समझदारी भएको महावाणिज्य दूतावासले जनाएको छ।

सुझावित समाचार