एनभिए भलिबल च्याम्पियनसिप : पुलिस र एपिएफ सेमिफाइनलमा

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण
  • महिलातर्फको विभागीय ‘डर्बी’ खेलमा नेपाल पुलिसले एपिएफलाई ३–२ को रोमाञ्चक सेटमा हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो 

नेपाल पुलिस क्लबको‌ नवौँ एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा मंगलबार पुलिसले विभागीय टोली एपिएफलाई ३–२ को रोमाञ्चक पाँच सेटमा हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । पुलिसले समूह ‘बी’ मा लगातार दोस्रो जित दर्ता गरेको हो ।

एक खेल गुमाए पनि एपिएफ दुई जितका साथ अन्तिम चारमा पुगेको छ । समूह ‘बी’मा एक खेल कम खेलेको पुलिसले पाँच अंक बटुलेको छ । एपिएफले सात अंक जोडेको छ । यस समूहबाट सुदूरपश्चिम र मधेश प्रदेश अंकविहीन छन् । चालू एनभिएकै सर्वाधिक रोमाञ्चक खेलमा पुलिसले २५–२१, २५–१५, २२–२५, २१–२५ र १५–९ ले बाजी मार्दै एपिएफमाथि जित निकालेको हो ।

पुलिसले पहिलो दुई सेटमा उत्कृष्ट प्रदर्शन गरी एपिएफमाथि दबाब राखेको थियो । एपिएफले पनि उत्कृष्ट पुनरागमन गर्दै तेस्रो र चौथो सेट जित्दै खेल २–२ को बराबरीमा गर्यो । पाँचौँ तथा निर्णायक सेटमा एपिएफको प्रदर्शन कमजोर भयो । डिफेन्समा कमजोर भएको कारण पुलिसले त्यसको फाइदा लिँदै निर्णायक सेट १५–९ ले जित्यो ।

महिलातर्फ न्यु डाइमन्ड महिला भलिबल टोलीले लगातार तीन खेल जितेर सेमिफाइनल स्थान पक्का गरेको छ । समूह ’ए’अन्तर्गत एभरेस्ट भलिबल क्लबलाई ३–० ले पराजित गर्दै न्यु डाइमन्डले समूह विजेता बनेको हो । न्यु डाइमन्डले एभरेस्टलाई २५–२१, २५–१५ र २५–१४ ले पाखा लगायो । यसअघि न्यु डाइमन्डले चुली युवा क्लब र त्रिभुवन आर्मी क्लबलाई पनि ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

खिलजी र एपिएफ क्वार्टरफाइनलमा
प्रतियोगिताको पुरुषतर्फ खिलजी युवा क्लब पहिलो जित दर्ता गरेको छ । खिलजीले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१५,२५–१९,२५–२३ ले हराएर समूह ‘बी’मा पहिलो जित निकालेको हो । दुई जित निकालेको नेपाल पुलिस क्लब यसअघि नै समूह विजेताका रूपमा नकआउट चरणमा पुगेको छ । अब खिलजीले त्रिभुवन आर्मी क्लबसँग क्वार्टरफाइनलमा खेल्नेछ ।

त्यसअघि एपिएफ क्लबले अन्तिम आठको स्थान पक्का गरेको थियो । एपिएफले मणिमकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । समूह ‘ए’को अन्तिम खेलमा‌ एपिएफले मणिमकुन्दविरुद्ध २५–१०,२५–१६ र २९–२७ ले विजयी भयो । दुई खेल जितेको हेल्प नेपाल स्पोर्टस् क्लब यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ । एपिएफले सेमिफाइनल प्रवेशमा समूह ‘सी’को विजेता रुकुम पश्चिम भलिबल क्लबको सामना गर्नेछ । 

See More On

सुझावित समाचार