सुडानी प्रधानमन्त्री कामिल इद्रिसबाट संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा प्रस्तुत गरिएको शान्ति योजना नमान्ने सेनासँग लडिरहेको अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्स (आरएसएफ)’ले बताएको छ ।
हाल देशका संक्रमणकालीन नागरिक सरकारको नेतृत्व गरिरहेका इद्रिसले योजना सुरु हुनुअघि आरएसएफको फौज क्याम्पमा फिर्ता हुनुपर्ने आह्वान गरेका थिए । अप्रिल २०२३ देखि सुडानको सेना र आरएसएफ लडिरहेका छन् । सुडानको राष्ट्रिय सेनाका प्रमुख अब्देल फताह अल–बुरहान र आरएसएफ कमान्डर मोहम्मद हमदान ‘हेमेदती’बिचको शक्ति संघर्षबाट सुरु भएको गृहयुद्धमा दसौँ हजार मानिस मारिएका छन् । लगभग एक करोड ४० लाख विस्थापित भएका छन् ।
इद्रिस सरकारले आरएसएफ शिविरमा सीमित भएर नि:शस्त्र नगरिएसम्म युद्धविराम ‘सफल हुने सम्भावना’ नरहेकोमा जोड दिएको छ ।
यसअघि नोभेम्बरमा संयुक्त राज्य अमेरिका, साउदी अरेबिया, इजिप्ट र संयुक्त अरब इमिरेट्स सम्मिलित ‘क्वाड’ भनिने समूहले मानवीय युद्धविराम प्रस्ताव गरेको थियो । त्यस प्रस्तावमा सहमत भएको आरएसएफले अहिले इद्रिस सरकारको योजनाअनुरूप आफ्नो सेना शिविरमा सीमित हुने कुरा ‘काल्पनिक’ भएको बताए ।
आरएसएफले आफ्नो फेसबुकमा एक विज्ञप्ति राखेर हाल सुरक्षा परिषद्मा प्रस्तावित योजना यसअघि ‘सुडानका सेना प्रमुख जनरल अब्देल फताह अल बुहरानद्वारा अघि सारिएको बहिष्कारी योजनाकै पुनरावृत्ति भएको’ बताएको छ । अल–बुरहानले क्वाडको मानवीय युद्धविरामको प्रस्तावलाई अस्वीकार गर्दै यसले सेनालाई घाटा हुने गरी अर्धसैनिक समूहलाई समर्थन गरेको आरोप लगाएका थिए ।
पछिल्लो समय लडाइँ बढ्दै गइरहेको सन्दर्भमा इद्रिसले आफ्नो योजना प्रस्तुत गरेका हुन् । पछिल्लो समय आरएसएफले कोर्डोफान क्षेत्रको रणनीतिक सहर अलोबालाई नियन्त्रण गरेको दाबी गरेको छ ।