सिन्धुलीकी टंकमायाको अवस्था एक सातादेखि अज्ञात, अनुसन्धानमा कुकुर परिचालन

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

घरबाटै एक हप्ताअघि बेपत्ता सिन्धुलीको तीनपाटन गाउँपालिका– ३, राम्चेकी ५३ वर्षीया टंकमाया बुढाथोकीको अवस्था अज्ञात छ । ८ पुस रातिदेखि बेपत्ता भएकी टंकमायाको अवस्था पत्ता लाग्न नसक्दा अनुसन्धानमा कुकुरसमेत परिचालन गरिएको सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए । 

‘घटनास्थलको अवस्था हेर्दा कर्तव्य भएको हुन सक्ने अनुमान छ । टंकमाया सुतेको ओछ्यानमा केही दिसा, रगत लागेको देखिन्छ । घरबाट करिब २०० मिटरपर सुनचाँदी राख्ने पर्सजस्तो सानो झोलामा औँठी फेला परेको छ,’ उनले भने, ‘कुनै पनि मानिसले दिसा निकाल्नु भनेको सामान्य अवस्था होइन ।’ तर, घरमा कुनै लुटपाट भएको नदेखिएको र मोबाइलसहितका सरसामान पनि घरमै फेला परेको उनले बताए ।  

घरबाट हराएको टर्च भने छिमेकीको घरनजिकै मंगलबार फेला परेको र त्यसबाहेक सबै सामान जतन रहेको बताएको सुवेदीले जनाए ।  

टंकमायाको खोजी गर्न बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ । टंकमायाले प्रयोग गर्ने मोवाइल फोनमा नयाँ/बाहिरका मान्छेको फोन आएको नदेखिएको सुवेदीले बताए ।  

तिनपाटन गाउँपालिका–३ का वडाअध्यक्ष लालबहादुर स्याङतानले ९ पुसदेखि खोजतलास गरिरहे पनि अवस्था पत्ता नलागेको बताए । ‘घटना शंकास्पद भएपछि इलाका प्रहरी कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई जानकारी गराएको थियो । टोलीले घटनाको गम्भिरतालाई हेरेपछि बागमती प्रदेशको तालिम प्राप्त कुकुर सहितको टोलीमगाएर अनुसन्धान सुरु भएको छ,’ उनले भने, ‘सोमबार दिनभर कुकुर सहितको टोलीले खोजतलास गरे पनि टंकमायाको अवस्था के हो भन्ने खुल्न सकेको छैन । घटनास्थलको अवस्था हेर्दा उनको हत्याभएको आशंका छ ।’ 

उनी ८ पुस साँझसम्म घरमा नै रहेको स्थानीयले बताएको तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापाले बताए । उनी घरमा एक्लै बस्दै आएकी थिइन । उनका चार छोरीमध्ये तीनको बिवाह भइसकेको छ भने एउटा छोरी सोही गाउँपालिकाको वडा नम्बर १ मा विद्यालयमा अध्ययनरत रहेकी उनी डेरा गरी बस्दै आएको सुवेदीले बताए । दुई छोरा बैदेशिक रोजगारीमा रहेको पत्ता लागेको उनले बताए । साझँसम्म घरमा नै रहेकी टंकमाया ९ पुस दिउँसो ४ बजे सम्म घरमा नदेखिएपछि स्थानीयले खोजी गरेका थिए  । त्यसपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए ।  स्याङतानकाअनुसार टंकमायाका श्रीमानको निधन भइसकेको छ ।   
 

सुझावित समाचार