सिकार खेल्न गएका युवक मृत फेला, हत्याको आशंका

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

सुनकोशी गाउँपालिका– ५, बन्दीपुरका २२ वर्षीय आसमान तामाङ घ्याङलेख गाउँपालिका– १ को पिउरीखोला जंगलमा मृत अवस्थामा फेला परेका छन् । सोमबार राति सिकार खेल्न भन्दै साथीहरूसँग गएका तामाङलाई गोली लागेको अवस्थामा प्रहरीले मंगलबार फेला पारेको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रारम्भिक अनुसन्धानबाट शवको प्रकृति हेर्दा अरू कसैले गोली हानी हत्या गरेजस्तो देखिएको छ । तामाङ साथीहरूसँग सिकार खेल्न गएको बताइए पनि उनको साथमा को–को गएका थिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको शव घरदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ पिउरीखोला क्षेत्रको घना जंगलमा फेला परेको हो । 

सोमबार राति पिउरीखोलाको जंगलमा एक व्यक्तिको शव भेटिएको भन्ने सूचना प्रहरी चौकी अमलेलाई प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बस्तीपुर तथा इलाका प्रहरी कार्यालय खुर्कोटको टोली घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार प्रारम्भिक अनुसन्धानमा तामाङको गोली लागेर हत्या भएको देखिएको छ । घटनास्थलनजिकै भाँचिएको एक थान भरुवा बन्दुक पनि फेला परेको छ । 

मृतकले बोकेको झोलाभित्र निलो रङको बट्टामा बारुदजस्तो देखिने कालो धुँलो तथा रातो बिर्को भएको अर्को बट्टाभित्र फलाम र सिसाका टुक्रा फेला परेको प्रहरीले जनाएको छ । तामाङको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको एसपी सुवेदीले जानकारी दिए ।

घ्याङलेख गाउँपालिका– १ का वडाध्यक्ष सोमबहादुर भोलनले घनघोर जंगलमा गोली लागेको अवस्थामा शव फेला परेको र घटना हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।
 

सुझावित समाचार