- चौथो टेस्टका म्याच रेफ्री जेफकोे रिपोर्टका आधारमा मेलबर्न क्रिकेट मैदानलाई एक डिमेरिट अंक प्रदान गरेको छ । पाँच अंक पाउँदा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न पाउनेछैन ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले एसेजको चौथो टेस्टको नतिजा दुई दिनभित्र आएपछि अस्ट्रेलियन क्रिकेट बोर्डलाई चेतावनी दिएको छ । चौथो टेस्टमा प्रयोग गरिएको पिच सन्तोषजनक नभएको जनाउँदै आइसिसीले मेलबर्न क्रिकेट ग्राउन्डलाई एक डिमेरिट अंक प्रदान गरेको छ । यो पाँच वर्षसम्म रेकर्डमा रहनेछ ।
मेलबर्नले यस्तै थप चार अंक बटुल्दा उसले अन्तर्राष्ट्रिय खेल आयोजना गर्न पाउनेछैन । अस्ट्रेलिया र इंग्ल्यान्डबिचको चौथो टेस्टका म्याच रेफ्री जेफ क्रोले पिच बलरका लागि अत्यधिक अनुकूल भएको रिपोर्ट आइसिसीलाई पठाएका छन् ।
जेफले पिचमा ब्याट्सम्यानका लागि नभएको रिपोर्टमा उल्लेख गरेका छन् यसै रिपोर्टका आधारमा आइसिसीले मेलबर्न क्रिकेट मैदानलाई कारबाहीस्वरूपमा एक डिमेरिट अंक प्रदान गरेको एजेन्सीले जनाएको छ । टेस्टको पहिलो दिन २० र दोस्रो दिन १६ विकेट पतन भएका थिए । पाँच दिनसम्म चल्नुपर्ने टेस्टमा दुवै टोलीका कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेल्न सकेनन् । जुन टेस्ट क्रिकेट इतिहासमा निकै दुर्लभ मानिन्छ ।
‘बलरमैत्री पिच भएका कारण टेस्टमा अर्धशतकसमेत बनेनन् । पिचले ब्याट र बलबिचको सन्तुलन दिन नसकेको देखिन्छ,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीहरूको पिच रेटिङ प्रणालीअनुसार सन्तोषजनक नभएको भन्नाले त्यस्तो पिचलाई बुझिन्छ । जसले ब्याट्सम्यान र बलरबिचको सन्तुलित प्रतिस्पर्धा हुन दिँदैन । यस्तो पिचले बलरहरूलाई धेरै मद्दत गर्छ ।’ म्याच रेफ्री जेफ बलरको पक्षमा पिच धेरै ढल्केको बताएका छन् ।
अध्यक्ष र क्युरेटर स्तब्ध
अस्ट्रेलियन क्रिकेट बोर्डका अध्यक्ष जेम्स अलसोपले विश्वकै प्रतिष्ठित एसेज सिरिजअन्तर्गत चौथो टेस्ट दुई दिनमै सकिँदा समर्थकहरूसँग माफी मागेका छन् । जेम्सले अस्वाभाविक रूपमा खेलको नतिजा आएको जनाए । ‘खेल दुई दिनमै सकिँदा सबै स्तब्ध भएको महसुस गरेको थिएँ । अझ तेस्रो र चौथो दिनका सबै टिकट सोल्डआउट भइसकेको थियो,’ उनले भने, ‘पिचको सन्तुलन कायम राख्न नसक्दा यस्तो हुनपुगेजस्तो लाग्छ । अर्को वर्ष न्युजिल्यान्ड र सन २०२७ को ऐतिहासिक टेस्ट म्याचमा यहाँको पिच उत्कृष्ट हुनेछ ।’
यसैगरी, पिच बनाउने मुख्य व्यक्ति क्युरेटर म्याट पेज पनि दुई दिनमै ३६ विकेट पतन हुँदा आफू स्तब्ध भएको बताए । उनले मौसम अनुसार पिचमा १० मिलिमिटर घाँस छोडेको बताए ।