नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँटसम्बन्धी निर्देशिकाहरूमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरी कम्पनीले सेयर निष्कासन गर्ने भएको हो ।
उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
जारी पुँजी तीन अर्ब ५० करोड रुपैयाँ रहेको यस फाउन्डेसनले आफ्नो जारी पुँजीको करिब २८.५७ प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।
संस्थापक समूहअन्तर्गत करिब ७१.४३ प्रतिशत सेयर कायम रहने कम्पनीले जनाएको छ । फ्रन्टलाइन ब्रान्डको नामबाट सञ्चालित यस अस्पतालको हालको क्षमता एक सय शय्या रहेको छ भने यो अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । थप सेवा विस्तारका लागि, निर्माणको चरणमा रहेको थप दुई सय शय्या क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइने अस्पतालका लागि थप पुँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्कासनमा जान लागेको कम्पनीका अध्यक्ष नवराज पाण्डेले जानकारी गराए।
अस्पतालले हाल स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरी नर्सिंङ तथा फार्मेसलगायतका शैक्षिक गतिविधिहरू पनि सञ्चालन गर्दै आइरहेको कम्पनीले जनाएको छ । चिकित्सा सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको संस्थाकाे स्थापना ०६२/०९/१९ मा भएको थियो र हाल यसको वार्षिक कारोबार ५० करोडभन्दा माथि रहेको जानकारी कम्पनीले जनाएको छ । हाल यस संस्थामा दुई सयभन्दा बढी कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ ।
आज भएको सो सम्झौतामा नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका थिए ।