गणेशप्रसाद खतिवडाद्वारा लिखित यात्रा संस्मरण कृति ‘नुनको जोहो’ सार्वजनिक गरिएको छ । शनिबार एक समारोहबिच काठमाडौंमा उक्त कृति सार्वजनिक गरिएको हो । पुस्तकमाथि चर्चा गर्दै हेरम्बराज बाँस्तोलाले पुरानो समयदेखि अहिलेको तीव्र परिवर्तनसमेत देखेको पुस्तालाई छक्क पुस्ता नामकरण गर्दै ‘नुनको जोहो’ छक्क पुस्ताले सिर्जना गरेको राम्रो कृति रहेको बताए ।
अर्का समीक्षक प्रतीक ढकालले कृति खासगरी पहाडी जीवन झेलेकाहरूका लागि आफ्नै भोगाइ रहेको भान पर्ने गरी लेखिएको धारणा राखे । ढकालले कृतिको आकार सानो भए पनि यसले पहाडी जीवन, संस्कृति, लोकभाका, भूगोल, संघर्षका कथा, नेपाली छन्द परम्परालगायत विविध विधा समेटेको हुनाले साथै लेखकले इमान्दार बनेर कुनै कुरा नढाँटी लेख्नाले पनि कृति सफल रहेको चर्चा गरे ।
साहित्यकार डा. रेणुका थापा सोलुले आफूले भोगेको जीवन नै पुस्तकमा आएको र आफूले उक्त कुरा लेख्न नसकेकामा पछुतो भएको कुरा उल्लेख गर्दै पाठकलाई यस्तो लाग्नु नै लेखकको सफलता भएको कुरा उल्लेख गरिन् । साझा प्रकाशनबाट प्रकाशित उक्त पुस्तकको सार्वजनिकीकरण कार्यक्रमका प्रमुख अतिथि आख्यानकार महेशविक्रम शाहले आफूले आफ्नो जीवनमा नुन बोकेर नहिँडेको भए पनि नुन बोक्नेहरूसँग हिँडेको प्रसंग उल्लेख गर्दै पुस्तक आफूलाई मन परेको र यसलाई उपन्यासको रूपमा पुनर्लेखन गर्न सके अझ राम्रो हुने सुझाव दिए ।