रग्बीको वार्षिक बजेट एक करोडभन्दा माथि

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

नेपाल रग्बी संघको १३औँ वार्षिक साधारणसभाबाट १ करोड ३५ लाख रुपैयाँको बजेट पास भएको छ । शनिबार आयोजित साधारणसभामा संघका कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । सभामा अधिकारीले अर्को वर्षका लागि कुल १ करोड ७ लाखको अनुमानित बजेट पेस गरेका थिए । 

सात प्रदेश, ५८ जिल्ला र सातवटा राष्ट्रिय क्लबमध्ये अधिकांशको सहभागिता रहेको साधारणसभामा संघका अध्यक्ष दीपक देवकोटाले संघको दायरा बढाउँदै विदेशमा पनि शाखा खोल्ने प्रस्ताव पेस गरेका थिए ।

जसलाई साधारण सभाले सर्वसम्मत रूपमा पारित गर्यो । यस्तै, संघका महासचिव गोविन्द घिमिरेले यस वर्षको कार्य प्रगति विवरण र आगामी वर्षको संघको योजना प्रस्तुत गरेका थिए । यस वर्ष रग्बीले बंगलादेशमा सम्पन्न रग्बी सिरिज जितेर इतिहास रचेको थियो भने दशरथ रंगशालामा १७ देशको सहभागितामा पुरुष तथा महिला एसिया रग्बीको आयोजना गरेको थियो ।

उक्त प्रतियोगितामा महिला टोलीले उज्वेकिस्तानलाई पराजित गरेको थियो । महासचिव घिमिरेले प्रस्तुत गरेको आगामी वर्ष २०२६ को भावी योजनामा भने विद्यालय तहको प्रतियोगितालाई प्राथमिकता दिएको छ ।

यसअघि साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का कार्यवाहक सदस्य सचिव रामचरित्र मेहताले उद्घाटन गरेका थिए । सो अवसरमा उनले रग्बीको वर्ष २०२५ को उत्कृष्ट पुरुष खेलाडी नेपाली सेनाका नवीनबहादुर मगर र महिला तर्फको उत्कृष्ट खेलाडी नेपाली सेनाकै मनीषा घिसिङलाई पुरस्कृत गरेका थिए ।

सुझावित समाचार