जेन–जी आन्दोलनपछि ७ लाख ३५ हजार ४५९ मतदाता थपिएका छन्। आन्दोलनपछि २१ फागुनका लागि चुनाव घोषणा भएसँगै निर्वाचन आयोगले ९ असोजदेखि ५ मंसिरसम्म सञ्चालन गरेको मतदाता नामावली दर्ता संकलन कार्यक्रममा ८ लाख ३७ हजार ९४ जनाले नाम दर्ता गराउन आवेदन दिएकोमा जाँचबुझपछि ७ लाख ३५ हजार ४५९ जना नयाँ मतदाता बनेका हुन्।
यससँगै मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ। यसअघि मतदाताको संख्या १ करोड ८१ लाख ६८ हजार २३० थियो। थपिएका मतदाताको अन्तिम नामावली आयोगले शनिबार सार्वजनिक गरेको छ। कुल मतदातामध्ये पुरुषको संख्या ९६ लाख ६३ हजार ३५८, महिलाको ९२ लाख ४० हजार १३१ र अन्य दुई सयजना रहेका छन्।
कुन प्रदेशमा कति मतदाता ?
आयोगका अनुसार कोशीमा ३५ लाख ७४ हजार ३१० मतदाता छन्। पुरुष १८ लाख २८ हजार २१३, महिला १७ लाख ४६ हजार ७३ र अन्य २४ छन्। मधेशमा ३६ लाख ३६ हजार ४१४ मतदाता छन्। पुरुष १९ लाख ७२ हजार ९६४, महिला १६ लाख ६३ हजार ३७४ र अन्य ७६ छन्।
बागमतीमा ३६ लाख ८२ हजार ३१० मतदाता छन्। पुरुष १८ लाख ५२ हजार ३७८, महिला १८ लाख २९ हजार ९०५ र अन्य २७ छन्। गण्डकीमा १८ लाख ७० हजार ६५ मतदाता छन्। पुरुष ९ लाख १४ हजार ५३५, महिला ९ लाख ५५ हजार ५१६ र अन्य १४ छन्। यो प्रदेशमा पुरुषभन्दा महिला मतदाता बढी छन्।
लुम्बिनीमा ३३ लाख ८६ हजार ६८० मतदाता छन्। पुरुष १७ लाख १५ हजार १६३, महिला १६ लाख ७१ हजार ४७९ र अन्य ३८ छन्। कर्णालीमा १० लाख ३७ हजार २५० मतदाता छन्। पुरुष ५ लाख २७ हजार ८८६, महिला ५ लाख ९ हजार ३६१ र अन्य ३ छन्।
सुदूरपश्चिममा १७ लाख १६ हजार ६६० मतदाता छन्। पुरुष ८ लाख ५२ हजार २१९, महिला ८ लाख ६४ हजार ४२३ र अन्य १८ छन्। यहाँ पनि पुरुषभन्दा महिला मतदाता बढी छन्।