संस्कृति जोगाउँदै ‘भुवा’

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण
  • भुवा पर्वको अवधिभर पुरुषहरू हातमा तरबार र खुकुरी लिएर युद्धकलाको प्रदर्शनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ । लोक–संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व शतकर्मको प्राप्ति, आदर–सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा बाजुरामा परापूर्वकालदेखि मनाइँदै आएको छ ।

परम्परादेखि मनाउँदै आएको भुवा पर्व बाजुरामा आपसी सद्भाव, सामाजिक एकता कायम राख्ने उद्देश्यले मनाइँदै आएको मौलिक पर्व हो । यो पर्व वर्षमा एकपटक मनाउने प्रचलन रहेको छ । परम्पराअनुसार यो पर्व हरेक वर्ष पुस १ गतेदेखि सुरु भई कम्तीमा तीनदेखि पाँच दिनसम्म मनाइन्छ । 

बाजुरा जिल्लाका नौवटा स्थानीय तहमा यो पर्व भव्य रूपमा मनाइने गरिन्छ । भुवा पर्वले बाजुराको परम्परागत संस्कृति जोगाउँदै आएको स्थानीयवासी बताउँछन् । पौराणिक कथनअनुसार पाण्डवहरूले युद्धमा विजय प्राप्त गरेपछि खुसियालीस्वरूप मनाएको उत्सवसँग जोडेर भुवा पर्व मनाइने चलन रहेको छ । 

भुवा पर्वलाई भस्सी जात्रा, भस्सो वा भुवा पर्व पनि भनिन्छ । पश्चिम नेपालको पहाडी जिल्ला बाजुरा, बझाङ, दार्चुला तथा भारतको उत्तराखण्ड क्षेत्रमा समेत यो पर्व मनाइन्छ । 

यस वर्ष भुवा पर्व पुस ३ गतेदेखि ९ गतेसम्म मनाइयो । बाजुराको त्रिवेणी, बुढीनन्दा, बडिमालिका, बुढीगंगा, गौमुल, खप्तड छेडेदहलगायतका स्थानीय तहहरूमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित पर्व मनाइयो ।

पर्व व्यवस्थापन समितिका संयोजक उमाकान्त उपाध्याय परम्परागत संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भुवा पर्व भव्य रूपमा मनाइएको बताउँछन् । उनका अनुसार यो आपसी सद्भाव, भेटघाट र मित्रता सुदृढ गर्ने प्रमुख माध्यम पनि हो ।

बडिमालिका नगरपालिका– ७ का तुलादेवी उपाध्याय परम्परागत संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताउँछन् । अर्का स्थानीय हिरालाल उपाध्यायका अनुसार रातभर मुढा सल्काएर भुवा खाडामा रमाइलो गरिन्छ । बिहान निगालाका झरो सल्काएर भोस्सो खेलिन्छ । जसलाई राँका सल्काउनु भनिन्छ । राँका खेलिसकेपछि खोलामा गई नुहाउनुपर्छ । ‘पुसको चिसो रातमा नुहाउँदा छालासम्बन्धी रोग निर्मूल हुनुका साथै मान्छेमा शक्ति पैदा हुने र राक्षस डराउने किंवदन्ती छ,’ उनी भन्छन् ।

महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भोस्सो’ पनि भन्छन् । भुवा पर्व पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुन्छ । जसको आफ्नै ऐतिहासिक पक्ष छ । यो पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको छ । 

पुसे औँसीको राति भुवा खाडोमा आगो बालेपछि यो पर्व सुरु हुन्छ । स्नान गरी बालिएको आगो तापेर घरमा मिठो–मसिनो खाना बनाई खाइन्छ । सोही रात र प्रतिपदाका दिन लत्ताकपडा धुने र आफ्ना ढाल तरबारलाई चम्किलो बनाउने गरिन्छ ।

मुढा बालेको रातभर देउडा खेली भोलिपल्ट बिहान भारी खेल खेल्ने प्रचलन रहेको छ । पहिलो दिन आफन्तहरू एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राति धुनी जगाउन काठका ठुल्ठुला मुढा बाल्ने प्रचलन छ । जसमा पाण्डव र कौरवको लडाइँ र वीरगाथा गाइन्छ । यस पर्वलाई असत्यमाथि सत्यको विजय भएको दिनको रूपमा लिने गरिन्छ ।

भुवा पर्वको अवधिभर पुरुषहरू हातमा तरबार र खुकुरी लिएर युद्धकलाको प्रदर्शनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ । लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व शतकर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्वकालदेखि मनाइँदै आएको छ ।

यसपर्वमा गाउँमा छैट खेल्ने चलन छ । घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर ‘छैट’ माग्ने गरिन्छ । छैटमा घरको आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठुलाबडा मान्यजनले आशीर्वाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोज गर्ने चलन यस पर्वको मुख्य विशेषता हो ।

यस पर्व अवधिभर विभिन्न देउडा, मागल गाएर एकआपसमा मित्रता साटासाट गर्नु अर्को विशेषता हो । भुवा पर्वको अन्तिम दिन दिउँसो सबै मान्छे भुवा खेल्न जम्मा भई आफूभन्दा ठुलाबाट टीका लगाई आशीर्वाद लिने र चाली खेलेर समापन गर्ने गर्दछन् । जसलाई पिठायो लगाउनु पनि भनिन्छ ।

भुवामा विभिन्न धार्मिक आस्था समेटिएका मागल, जीवनशैली, विभिन्न पेसा–व्यवसायसँग सम्बन्धित गीत गाउँदै भारी खेल खेल्ने गरिएका छन् । बाजुरा जिल्लाको त्रिवेणी, कालापानी ताँप्रा रजातोली, मार्तडी, जुगाडा, पाण्डुसेन, बह्रमतोला, छतारालगायतका विभिन्न क्षेत्रमा विशेष धुमधामका साथ भुवा पर्व मनाउने प्रचलन रहेको छ ।

बाजुराका विभिन्न गाउँबस्तीमा पाँचदेखि सात दिनसम्म भव्य रूपमा भुवो मनाई रमाइलो गर्ने गरिन्छ । पुस महिनाको अति नै जाडोमा युवायुवतीको लर्को लाग्छ । नौ दिनसम्म लगातर मनाउने भुवा पर्वको अन्तिम दिन वैदिक धर्मअनुसार एकआपसमा सद्भाव र मेलमिलाप तथा भाइचाराकोसम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ मान्यजन तथा ठुलाबडाबाट पिठायो लगाउने गरिन्छ ।

सुझावित समाचार