प्रांगारिक मल उद्योग निर्माणको काम अन्तिम चरणमा, बैशाखबाट मल उत्पादन थाल्ने तयारी

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

बर्दियाको बाँसगढी नगरपालिकामा बन्न लागेको प्रांगारिक मल उत्पादन गर्ने उद्योगको काम अन्तिम चरणमा रहेको छ । चार  करोड रुपैयाँको लगानीमा बाँसगढी नगरपालिका,  ४ मदाहामा बन्न लागेको प्रांगारिक मल उत्पादन गर्ने उद्योगको काम अन्तिम चरणमा रहेको हो ।

बर्दियामा पहिलो पटक लुम्बिनी प्रदेश सरकारको १ करोड र बाँसगढी नगरपालिकाको ३ करोडमा गरि चार करोडको लगानी प्रांगारिक मलको उत्पादन गर्ने उद्योग खुल्न लागेको हो । प्रांगारिक मलको उत्पादन गर्ने उद्योग सञ्चालनमा आएपछि ३०/४० जनाले रोजगारी पाउने नगर प्रमुख खड्क बहादुर खड्काले  बताए । उनले भने,‘कारखाना सञ्चालनमा आएपछि एकतिर रोजगारी अवसर सृजना हुन्छ, भने अर्कोतिर प्रत्येक वर्ष मलको अभाव भोग्दै आएको किसानलाई प्रांगारिक मल उपलब्ध गराउन सकिन्छ। यसले थोरै भएपनी किसानलाई सहयोग हुन्छ ।भने गाउँघरमा खेर गइरहेको घासपात कुहिने फोहलमैला स्थानीयले बेच्न सक्छन्, त्यसबाट आम्दानी पनि हुन्छ ।’ 

कारखाना सञ्चालन भएपछि फोहोर व्यवस्थापन हुने र रासायनिक मलको अभावमा कम  गर्न पनि सकिने हुँदा प्रांगारिक मल उत्पादन गर्ने उद्योग किसानको लागि फाइदाजनक हुने  नगरप्रमुख खड्काले जानकारी दिए। उनले भने, ‘मल बनाउन घाँसपात, स्याउला, गोबर, गाईभैसीको पिसाब लगायत अन्य  सामाग्रीको आवश्यकता पर्छ । जुन स्थानीय स्तरबाट सजिलै प्राप्त हुन्छ।’

बाँसगढी नगरपालिकाका इन्जिनियर बलराम पौडेलले प्रांगारिक मल उत्पादन गर्ने कारखाना निर्माणको काम तीन करोड ९८ लाख ४१ हजार तीन सय ९६ रूपैयाँमा जगन्नाथ र रेग्मी जेभीले प्राप्त गरेको बताए। उनले भने,कारखाना निर्माणको काम अन्तिम चरणमा छ । निर्माण कम्पनीले सम्झौता अनुसार ०८२ फागुन मसान्तसम्म काम सक्नुपर्छ । काम गति हेर्दा फागुनसम्म निर्माणको काम सकेर २०८३ बैशाखबाट कारखाना सञ्चालन गर्ने गरि काम  गरिरहेका छौँ ।’ पालिकाले प्रांगारिक मल उत्पादन गर्ने कारखाना,  गौशाला , उन्नत जातको गाईको उत्पादन गर्ने उदेश्यले  मदाहामा १० बिगाहा क्षेत्रफल छुटाइएको छ।
 

सुझावित समाचार