- अस्ट्रेलिया र इंग्ल्यान्डबिचको एसेज सिरिजअन्तर्गत शुक्रबारदेखि सुरु भएको चौथो टेस्टमा ९४ हजार एक सय ९९ दर्शकको उपस्थिति रह्यो । यसअघि एमसिजी मैदानमा भारत र पाकिस्तानबिचको खेलमा ९० हजार दुई सय ९२ दर्शकले खेल हेरेको रेकर्ड थियो ।
अस्ट्रेलिया र इंग्ल्यान्डबिचको एसेज विश्वकै प्रतिष्ठित सिरिज हो । अझ यसमा अंग्रेजी क्यालेन्डर वर्षको अन्तिम सातालाई अन्तर्राष्ट्रिय खेल जगत्मा ‘बक्सिङ डे’ भनिन्छ । यसै बक्सिङ डेमा अक्सर अस्ट्रेलियाली क्रिकेट संघले विभिन्न राष्ट्रसँग सिरिज आयोजना गर्छ । यसपटक संयोगले यसै अवसरमा इंग्ल्यान्ड र अस्ट्रेलियाबिचको एसेज सिरिजअन्तर्गत चौथो टेस्ट शुक्रबार मेलबर्न क्रिकेट मैदानमा (एमसिजी)मा सुरु भएको छ ।
बक्सिङ डेमा आयोजित क्रिकेटमा एमसिजी रंगशालामा दर्शकको उपस्थितिले नयाँ कीर्तिमान बनेको छ । एमसिजीमा पहिलो दिनको खेलमा ९४ हजार एक सय ९९ दर्शकले खेल हेरेका छन् । एसेज सिरिजमा अहिलेसम्मकै सर्वाधिक दर्शकको संख्या रहेको संघले जनाएको छ । दर्शकले भरपूर मनोरञ्जन लिएको टेस्टमा पहिलो दिन कुल २० विकेट पतन भएका छन् । एकै दिन अस्ट्रेलिया र इंग्ल्यान्ड आ–आफ्नो पहिलो इनिङ्समा अलआउट भए ।
समग्रमा पहिलो दिन कुल दुई सय ६६ रन बन्यो । घरेलु टोली अस्ट्रेलियाले दोस्रो इनिङ्समा ४६ रनको अग्रता लिएको छ । अस्ट्रेलियाले यसअघि नै तीन टेस्ट जित्दै एसेज सिरिजमाथि कब्जा जमाइसकेको छ । यसै एमसिसी मैदानमा सन् २०२२ मा आइसिसी टी–२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबिचको खेलमा ९० हजार दुई सय ९२ दर्शकको रेकर्ड बनेको थियो । अब यो रेकर्ड तोडिएको छ ।
७४.१ ओभरभित्र दुवै टोली अलआउट
अस्ट्रेलियामा भएका टेस्ट सिरिजमा दोस्रोपटक मात्र एकै दिन दुवै पक्षको पहिलो इनिङ्स अलआउट भएको छ । सन् १९५१ मा एसेजको पहिलो टेस्टमा इंग्ल्यान्ड र अस्ट्रेलिया लन्चपछि नै अलआउट भएका थिए । ७६ वर्षपछि इंग्ल्यान्ड र अस्ट्रेलियाले आ–आफ्नो पहिलो इनिङ्समा खराब रेकर्ड राखेका छन् । यसपटक दुवै टोली समग्रमा ७४.१ ओभरमा समेटिए । एमसिजी मैदानमा पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ४५.२ ओभरमा एक सय ५२ रनमा धराशायी भयो ।
घरेलु टोली कम योगफलमा अलआउट हुँदा इंग्ल्यान्डका जोस टंगुएले ११.२ ओभरमा ४५ रन खर्चेर सर्वाधिक पाँच विकेट लिएका थिए । सिरिज गुमाइसकेको इंग्ल्यान्डले चौथो टेस्टमा उत्कृष्ट सुरुवात गर्दा हौसिएको थियो । तर, आफ्नो पहिलो इनिङ्स भने इंग्ल्यान्डले अस्ट्रेलियाको भन्दा खराब गर्यो । इंग्ल्यान्ड पनि २९.५ ओभरमा एक सय १० रनमा सीमित भयो । अस्वाभाविक रूपमा अस्ट्रेलियाले पहिलो इनिङ्समा ४१ रनको अग्रता लियो । इंग्ल्यान्डविरुद्ध मिचेल नासेरले १० ओभरमा ४५ रन दिएर सर्वाधिक चार विकेट लिए । मिचेल स्टार्कले २३ रनमा दुई तथा स्कट बोलान्डले ३० रनमा तीन विकेट हात पारे ।
शुक्रबार साँझ ५.२८ बजे १९ विकेट पतन हुँदा दर्शकले रमाइलो मानेका थिए । तर, अस्ट्रेलियन तथा इंग्ल्यान्डका खेलाडी भने निराश थिए । बलरहरूको दिन ब्याट्सम्यानले घुँडा टेकेका थिए । खेलाडीले डे«ेसिङ रुममा गोप्य रूपमै एक–आपसमा अत्यासलाग्दो खेल भएको म्यासेज पठाए ।
पिचमा विवाद
अस्ट्रेलियन एजेन्सीहरूले अस्वाभाविक रूपमा लगातार विकेट खसेपछि पिचमाथि शंका गरेका छन् । उनीहरूले घरेलु टोलीका बलरलाई उपयुक्त हुने किसिमको पिच बनाएको दाबी गरेका छन् । तर, अस्ट्रेलियनहरू आफूले खनेको खाल्डोमा आफँै परेको दाबी फोक्सले गरेको छ । ‘हामीलाई यस पिचमा विवाद गर्न मन लागेको छ । पछिल्लो सात वर्षमा एमसिजीको यसै पिचमा उत्कृष्ट खेल हेरियो, तर दिक्कलाग्दो खेल कहिल्यै देखिएन,’ फोक्सले भनेको छ, ‘कुनै समयमा ब्याट्सम्यानले स्ट्रोक लगाउने अपेक्षा थियो । बलर हाबी भएका दिनमा उनीहरूले केही पनि गर्न सकेनन् ।’
एमसिजी मैदानमा खेलाइएको पिचमा केवल १० एमएमको घाँस थियो । अघिल्लोपटक १४ एमएमको घाँस गरेको फोक्सले जनाएको छ । ‘घाँसको मापन हेर्दा यो ब्याट्सम्यानभन्दा फास्ट बलरका निमित्त बनेको देखिन्छ,’ फोक्स एजेन्सीले भनेको छ, ‘एक साताको अन्तरमा यस पिचमा धेरै परिवर्तन भएको देख्न पाएका छौँ ।’ अस्ट्रेलियनले बक्सिङ डेमा फाइदा लिने उद्देश्यले पिच बनाएको विश्लेषकको भनाइ छ । प्रतिस्पर्धामा इंग्ल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक ४१ रन जोड्दा ३५ बलमा समान दुई छक्का र चौका प्रहार गरेका थिए । इंग्ल्यान्डको ब्याटिङमा आठ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाको ब्याटिङमा भने मिचेल नासेरले ४९ बलमा सात चौकाको सहयोगमा ३५ रन बनाएका थिए ।