काठमाडौंको मध्यबानेश्वरमा रहेको भ्याली भ्यु स्कुलले विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सहभागी गराउँदै खेल सप्ताह मनाएको छ। ४ पुसदेखि सुरु भएको खेल सप्ताहमा कक्षा मन्टेस्वरीदेखि नाैसम्मका करिब एक हजार ६ सय विद्यार्थी सहभागी भएर विभिन्न खेल प्रदर्शन गरे। विद्यालयका चारवटा सदनबाट सहभागी विद्यार्थीलाई उनीहरूको रुचिअनुसारका खेलकुदमा सहभागी गराइएको थियो।
फुटसल, कबड्डी, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस, क्यारेमबोर्ड, रुविक क्युब, ककफाइट, स्पुन एन्ड मार्बल रेस, मेन्टल म्याथ रेसलगायतमा विद्यार्थीले आफ्नो रुचिअनुसार भाग लिएका थिए। विद्यालयले हरेक वर्ष खेलकुलका गतिविधि गर्दै आएको र यसले देशमा खेलकुद जनशक्ति उत्पादनमा समेत टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक सुभासचन्द्र भण्डारीले बताए। उनका अनुसार विद्यार्थीमा भएको खेल कला प्रस्तुत गर्न र उनीहरूको कला उजागर गर्न खेल सप्ताह आयोजना गरिएको हो।
‘विद्यार्थीहरूमा पढ्ने मात्रै नभएर धेरै कलाहरू लुकेका हुन्छन्, त्यस्ता कला र क्षमता जाँच्न, खेलकुदमा उनीहरूको रुचि बढाउन, मनोरञ्जन प्रदान गर्नलगायत विभिन्न खेलहरू सिकाउन हामीले खेल सप्ताह गरेका हौँ, यसले देशमा खेलाडी उत्पादनमा पनि टेवा पुर्याउने अपेक्षा हामीले लिएका छौँ,’ उनले भने, ‘यस्ता गतिविधिमा विद्यार्थीहरू निकै उत्साहित बनेर सहभागी हुन्छन्, यसले उनीहरूको सिकाइमा परिवर्तन ल्याउँछ, यसपटकको खेल सप्ताहमा पनि विद्यार्थीहरूले जोसिलो प्रदर्शन देखाए।’
उनका अनुसार सदनअनुसार हरेक खेलमा प्रथम, द्वितीय, तृतीय, सान्तवना हुनेलाई पुरस्कार तथा मेडल प्रदान गरिएको छ। यसपटकको खेल सप्ताहमा कक्षा मन्टेस्वरीदेखि पाँचसम्म हेलेन सदनले जितेको छ भने ६ देखि नाैसम्म टेरेसा सदनले जितेको छ।
खेल सप्ताहको अन्तिम दिन शुक्रबार मेडल तथा पुरस्कार प्रदान गर्न भलिबल खेलका पूर्वराष्ट्रिय खेलाडी जगदीशप्रसाद भट्टलाई निमन्त्रणा गरिएको थियो। खेलकुदमा सहभागी विद्यार्थीलाई मेडल प्रदान गर्दै पूर्वखेलाडी भट्टले विद्यार्थीले आफूमा भएको क्षमता जाँच्न यस्ता प्रतियोगिताहरूले सहयोग पुर्याउने बताए।
‘विद्यालयस्तरमा हुने यसप्रकारका गतिविधिले विद्यार्थीमा भएका खेलकला र क्षमता प्रदर्शन गर्न मद्दत पुग्छ, यसले विद्यालय र विद्यार्थी दुवैलाई फाइदा गर्छ, कसैले राम्रो खेल्न जानेको छ भने उसको खेलकुद जीवनको यात्रा यहीँबाट पनि सुरु हुन सक्छ,’ उनले भने, ‘विद्यालयले गरेका यस्ता खेलकुद गतिविधिले खेल क्षेत्रलाई समेत उकास्न सक्छ, हरेक विद्यार्थीले आफूमा भएको कला–क्षमता समाजको भलो र राष्ट्र निर्माणको निम्ति प्रयोग गरौँ।’