राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतलाई ३ प्रश्न

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

मधेशमा चलिरहेको शीतलहरको अवस्थाबारे प्राधिकरण कति जानकार छ ?
मधेशमा चलिरहेको शीतलहरबारे जानकारी नै नहुने या प्राधिकरण जानकार नै छैन भन्ने होइन । हामी यसबारे पूर्ण जानकार छौँ । त्यसैले, हामीले शीतलहर प्रतिकार्यसम्बन्धी योजना बनाएर त्यसलाई कार्यान्वयनमा लगेका छौँ । यसका लागि हामीले स्थानीय पालिका, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनसुमदाय, वन कार्यालयलगायत सबैसित समन्वय गरिरहेका छौँ । कतिपय स्थानीय तहले आफैँले शीतलहर प्रतिकार्य योजना बनाएर पनि काम गरिरहनुभएको छ भने कतिपयले हामीसितै समन्वय गरेर काम गरिरहनुभएको छ ।

शीतलहरबाट प्रभावितलाई राहत दिन प्राधिकरण के गर्दै छ ?
यसका लागि हामीले विभिन्न काम गरिरहेका छौँ । शीतलहरबाट प्रभावितलाई तातो बनाउन कम्बल वितरण पनि गरेका छौँ । कतिपय स्थानमा दाउराकै अभाव भएको अवस्थामा दाउरासमेत वितरण गरेका छौँ । कतिपय पालिका स्वयंले स्थानीय आवश्यकताअनुसार राहत वितरण गरिरहनुभएको छ । बढी बजेट चाहियो भने उहाँहरूले हामीसित माग गरेपछि उपलब्ध गराएका छौँ । शीतलहरबाट प्रभावित बिरामीको स्वास्थ्योपचारका लागि स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा आवश्यक जनशक्ति, उपकरण र औषधिसहित स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राखेका छौँ । प्रभावितको उपचारलाई प्राथमिकता दिइरहेका छौँ ।

हरेक वर्ष दोहोरिइरहने शीतलहरबारे समयमै पूर्वतयारी किन हुन सक्दैन ?
पूर्वतयारीमा हामी सचेत छौँ । हामीले शीतलहर सुरु हुनुभन्दा दुई महिनाअघिदेखि नै सचेतना जगाउँदै आएका छौँ । सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई जोगाउन विशेष सचेत गराउँदै आएका छौँ । सार्वजनिक मिडिया र सामाजिक सञ्जालमार्फत पनि विभिन्न भाषामा सूचना र सन्देश प्रवाहित गराउँदै आएका छौँ । अहिले शीतलहर सुरु भइसकेको अवस्थामा अत्यावश्यक कामका लागि बाहेक घरबाहिर ननिस्कने, आगो ताप्नेलगायत उपाय अपनाउन सचेत गराउँदै आएका छौँ । विपन्न परिवारलाई राज्यले सहयोग गर्ने र आफैँ सक्ने परिवारलाई सचेत गराउने काम पनि गर्दै आएका छौँ । 

सुझावित समाचार