- रवि र बालेनले बिहीबार साढे दुई घण्टा एक्लाएक्लै छलफल गरेपछि दोस्रो तहका नेतालाई मोडालिटी बनाउने जिम्मेवारी दिएका छन्, उनीहरूले खाका दिएलगत्तै दुई नेता फेरि वार्तामा बसेर अन्तिम निर्णय गर्नेछन्
तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडालिटी बनाउनेतर्फ प्रवेश गरेका छन् । बिहीबार साढे दुई घण्टा वार्तामा बसेका उनीहरूले नयाँ दल र शक्तिबिच समायोजन, चुनावमा सिट बाँडफाँटदेखि सत्ता सहकार्यसम्मको मोडालिटी बनाउन दुवैतर्फका दोस्रो तहका नेतालाई जिम्मेवारी दिएका छन् ।
बालेनका प्रमुख सल्लाहकार कुमार बेनको ललितपुर ज्वागलस्थित घरमा दुई नेता एक्ला–एक्लै वार्तामा बसेका थिए । रास्वपाका एक नेताका अनुसार मोडालिटी बनाउन रास्वपाका तर्फबाट नेता शिशिर खनाल र बालेनका तर्फबाट कुमार बेनलगायतलाई जिम्मेवारी दिइएको छ । ‘सहकार्य गरेर जाने विषयमा दुई नेताबिच अझ सघन सहमति भएको छ । त्यसका लागि मोडालिटी बनाएर अरू पक्षलाई पनि मिलाउनुपर्नेछ । मोडालिटी बनाउन रास्वपाबाट शिशिर खनाल र बालेनको तर्फबाट कुमार बेनलगायतलाई जिम्मेवारी दिइएको छ । आसन्न निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीसम्मको खाका बनाएर पेस गरेपछि रवि–बालेन फेरि निर्णायक वार्तामा बस्नेछन्,’ ती नेताले भने, ‘आजको वार्तामा भने पावर सेयरिङमा कुनै ठोस कुरा भएन । अब दोस्रो तहबाट खाका आएपछि मात्रै त्यसमा निर्णय हुन्छ । मिलेरै अगाडि बढ्नेमा द्विविधा छैन ।’
ती नेताका अनुसार मोडालिटीका लागि दुवै पक्षले आ–आफ्नो पार्टी र समूहमा छलफल गर्नुपर्नेछ । बालेन पक्षले कुलमान घिसिङको उज्यालो नेपाल र देश विकास पार्टी तथा विभिन्न जेन–जी समूहसँग छलफल गर्नेछ । त्यसपछि दुवै पक्ष बसेर मोलालिटी तयार गरी शीर्ष तहमा बुझाउनेछन् । सहकार्यको खाका आएपछि रवि–बालेन वार्तामा बसेर अन्तिम निर्णय गर्ने उनले बताए ।
रास्वपा नेता खनालले दुई शीर्ष नेताको निर्देशनअनुसार सहकार्यको मोडालिटी बनाउन जिम्मेवारी आएको र पार्टीमा छलफल थालिसकेको बताए । ‘दुई नेताको भेट सकारात्मक भयो । सहकार्यको मोडल टुंग्याउन हामीले पार्टीमा छलफल सुरु गरिसक्यौँ । दोस्रो तहका साथीहरू बसेर एउटा खाका तयार पार्छौँ । उहाँहरू (बालेन पक्ष)ले पनि गर्नुहुन्छ होला । दुवै पक्षबाट समेटेर विभिन्न विकल्पसहितको संयुक्त खाका शीर्ष तहमा बुझाउँछौँ,’ उनले भने ।
रवि र बालेनलाई वार्ता गराउन समन्वयकारी भूमिका खेलेका रास्वपा नेता एवं विघटित प्रतिनिधिसभा सांसद असिम शाहले अब फेरि तयारी गरेर दुई नेताबिच छलफल हुने बताए । ‘छलफल राजनीतिक चरणमा प्रवेश गरेको छ । कतिपय चिजहरूमा समय लाग्छ, सबैसँग सल्लाह गर्नुपर्यो । मिल्ने कुराहरूमा मिल्ने, बाँकी मिलाउँदै जाने हो,’ उनले भने, ‘रास्वपाको चुनाव चिह्नमा समाहित हुने कुराहरूमा छलफल भएको छ, तर केही पनि टुंगिएको छैन । ठोस निष्कर्षको प्रस्ताव बनाएर फेरि छलफलमा बस्छौँ ।’ शुक्रबारै पनि रवि–बालेन वार्तामा बस्ने सक्ने उनले बताए ।
बालेननिकट एक सदस्यले रविसँग अब अन्तिम चरणको छलफल हुने बताए । ‘भोलि (शुक्रबार) महानगरको नगरसभा छ । त्यो सकाएर भोलि नै बस्न सक्नुहुन्छ वा पर्सि हुन सक्छ । त्यसवेलासम्म सहकार्यको खाका पनि आइसक्छ,’ उनले भने ।
बालेनसँगको भेटमा लामिछानेले देशलाई सही दिशा दिन मिल्नुको विकल्प नरहेको भन्दै जसरी पनि मिल्नुपर्ने प्रस्ताव राखेको उनीनिकट स्रोतले बतायो । ‘हामी मिल्नुको अर्काे उपाय नै छैन । के गरेर जाने हो जाऊँ । देशलाई ड्राइभ गर्ने कुरा हो । एउटा समयको कुरा होइन, युगको कुरा हो । यत्रा जनताको कुरा छ । त्यसकारण मिलौँ,’ लामिछानेलाई उद्धृत गर्दै स्रोतले भन्यो ।
बालेनसँग वार्ता गरेर निस्किने क्रममा लामिछानेले परिणाम सकारात्मक रहेको जानकारी गराएका थिए । उनले आफ्नो हाउभाउबाट पनि सन्देश बुझ्न पत्रकारहरूलाई भनेका थिए । चुनाव चिह्न घन्टी कि लौरो भन्ने प्रश्नमा लामिछानेले केही समय प्रतीक्षा गर्नुपर्ने बताए ।
यसअघि गत सोमबार (७ पुस) रवि र बालेनबिच ६ घण्टा छलफल चलेको थियो । त्यसै दिन बिहान पनि पनि उनीहरूबिच भेटवार्ता भएको थियो । उक्त बसाइमा राजनीतिक सहकार्यको मनस्थिति बनाएर उठेका दुई नेताले त्यसलाई सार्थक रूप दिन बिहीबार वार्ता गरेका हुन् ।
बालेनको म्याराथन छलफल : नयाँ र वैकल्पिकहरूलाई एकै ठाउँमा ल्याएर नेतृत्व गर्ने प्रयास
रास्वपासँग राजनीतिक सहकार्यका लागि निर्णायक विन्दुतिर पुगेका काठमाडौं महानगरका मेयर बालेन शाहले अन्य नयाँ तथा वैकल्पिक दल, जेन–जी अगुवा, पुराना दलका केही नेतादेखि स्वतन्त्र व्यक्तिसँग पनि वार्ता गरेका छन् । उनले आफ्ना प्रमुख सल्लाहकार कुमार बेनको ललितपुर ज्वागलस्थित घरमा दुई दिनदेखि बाक्लो भेटवार्ता गरेका हुन् । भेटवार्ता गरेकाहरूसँग बालेनले सक्रिय राजनीतिमा उत्रिएको घोषणा गर्दै साथ, सहयोग र सुझाव मागेका छन् ।
बिहीबार रास्वपा सभापति रवि लामिछानेसँग साढे दुई घण्टा भेटवार्ता गरेका उनले उर्जामन्त्री कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्वसांसदहरू अमरेश सिंह, डा. सुनिल शर्मा, शिशिर खनाल र असिम शाह, जेन जी अगुवा सुधन गुरुङ, पुरुषोत्तम यादव, रक्षा बम, असिनमान बस्न्यातदेखि चलचित्रकर्मी निश्चल बस्नेतलगायतसम्मलाई भेटेर छलफल गरेका छन् । यसअघि बुधबार उनले डा. भगवान कोइराला, सीके राउत, रेशम चौधरी, चन्द्र भण्डारी, मिलन पाण्डे, ज्ञानेन्द्र शाही, सागर ढकाल र विभिन्न पूर्वप्रशासकसँग पनि छलफल गरेका थिए । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि १४ पुसमा समानुपातिक बन्दसूची बुझाउनुपर्ने समयको चापबिच उनले छलफललाई तीब्र बनाएका हुन् ।
बालेनसँगको भेटपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति सबै मिल्नुपर्ने सुझाव दिएको बताए । ‘उहाँले परामर्शका लागि बोलाउनु भएको थियो । मैले सबैलाई मिलाएर अगाडि बढ्नुस्, मेरो सद्भाव रहन्छ भनेको छु,’ उनले भने ।
पूर्वसांसद अमरेशकुमार सिंहले रबि, बालेन, कुलमान सबै मिल्नेगरी सकारात्मक सम्वाद भइरहेको बताए । ‘सबै परिवर्तन चाहने शक्तिको गठजोड उहाँ (बालेन)ले गर्न खोज्नुभएको छ,’ उनले भने, ‘थप दुई चार राउण्ड छलफल गर्नुपर्ने देखिएको छ । दुई चार दिनभित्र परिणाम आउँछ ।’ परिवर्तन, जनता र जेनजीको सुशासनको चाहनालाई आत्मसात गरेर अगाडि बढ्ने चाहना मेयर बालेनमा देखिएको उनले बताए ।
हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले युवाको आशा बालेन भएकाले राजनीतिमा आउनु स्वागतयोग्य भएको बताए । ‘देश संकटमा परेको बेला उहाँले नयाँ र परिवर्तनकारी शक्ति समेटेर नेतृत्व लिन्छु भन्नुभयो । मैले पूर्ण साथ समर्थन छ, अगाडि बढ्नुस् भनेको छु,’ उनले भने, ‘बालेनजीले मिल्नुपर्छ, सबैलाई मिलाउनुपर्छ, त्यसमा लाग्नुस् भन्नुभयो ।’
कांग्रेस नेता डा. सुनिल शर्माले सक्रिय राजनीतिमा आउन लागेकाले परिवर्तनकारी शक्ति एक हुनुपर्ने प्रस्ताव मेयर शाहले राखेको बताए । ‘उहाँले म सक्रिय राजनीतिमा आएँ । नयाँ पार्टी खोल्दैछु । नयाँ जोश जाँगरसहित आफ्नो पार्टी बनाउँदैछु, सहकार्य गरौं भन्नुभयो । सबै नयाँ टिमलाई मिलाएर देशमा चुनावमा जाने प्लान सुनाउनुभयो,’ शर्माले भने, ‘मैले सम्झिनुभयो धन्यवाद ! मेरो लगानी कांग्रेसमा छ, कांग्रेस नै लिड गर्ने हो, देश जनताको हितका कुरामा आ–आफ्नो ठाउँबाट सहकार्य गरेर देशलाई समृद्ध बनाउन सकिन्छ भनेको छु । दाजुभाइको सौहार्दपूर्ण वार्ता भयो ।’
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीलाई बालेनले मिलेर जानुपर्ने प्रस्ताव गरेका छन् । ‘बालेनजीले युवाहरूको आवाज बोकेर म राजनीतिमा आएँ, परिवर्तनकारी युवा शक्ति एकजुट भएर जाऊँ भन्नुभयो । मैले यसमा समर्थन छ, आ–आफ्नो ठाउँबाट सहकार्य गरौं भनेको छु,’ शाहीले भने ।
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले संकटमा रहेको देशलाई निकास दिन नयाँ शक्तिहरू एक हुनुपर्ने धारणा बालेनको रहेको बताए । चौधरीले आफू पनि सहकार्यको पक्षमा रहेको भन्दै त्यसको ठोस खाका कस्तो हुने भन्ने बाँकी रहेको बताए ।
उर्जामन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको भावनाअनुसार नयाँ शक्ति, समूह र व्यक्तिहरू एक भएर अगाडि बढ्नुपर्ने बताए । बालेनसँग भेटेपछि उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटनका क्रममा घिसिङले भने, ‘धेरै जनमानसमा सबै नयाँ शक्तिहरू एक होस्, एक भएर अगाडि आओस्, सन्देश देओस् र देश परिवर्तनको जुन बिन्दुमा छौं, ब्यालेटबाट देशको नेतृत्व परिवर्तन गर्ने, देशलाई आगामी दिनमा समृद्धिको बाटोतर्फ डोहोर्याउने एउटा महाभियानमा हामी सबै एक भएर जनताको चाहनाअनुसार अगाडि बढ्नुपर्छ । नयाँ पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो,’ उनले भने ।
जेन जी अगुवा पुरुषोत्तम यादवले मेयर शाह अब सक्रिय राजनीतिमा आएको र सबै नयाँ शक्तिलाई मिलाएर लैजान सम्वादमा जुटेको बताए । ‘बालेन, रबि, कुलमान, हर्क, गोपी, जेन जीहरू, नयाँ खुलेका दलहरू सबै मिलाउने प्रयास भइरहेको छ । मिल्ने सम्भावना पुरै छ । मेयर बालेन अब एक्टिभल्ली लाग्नुहुन्छ । हामीले रिक्वेस्ट पनि गरेको हो, उहाँले लाग्छु भन्नुभएको छ । सबै पोजेटिभ छ । शक्ति बाँडफाँडको कुरा पनि मिल्छ । छलफल भइरहेको छ । अब बालेनजी एक्टिभ पोलिटिक्समा आउनु हुन्छ,’ उनले भने ।
जेनजी अगुवा उर्पाजन चाम्लिङले मेयर बालेन युवाको आग्रह र आकांक्षालाई सम्बोधन गर्न राजनीतिमा आएको बताए । ‘उहाँले म राजनीतिमा आएँ । धेरै युवाको आग्रह र आकांक्षालाई सम्बोधन गर्न आइसकेँ भन्नुभयो । युवाले त पहिले नै भनेको हो । अहिलेको संकटमा पनि उहाँमाथि आशा छ । उहाँले आफूलाई राष्ट्रिय राजनीतिमा सक्रिय गराउने आँट र निर्णय गर्नुभयो, त्यो स्वागतयोग्य छ । मुद्दाहरूमा हाम्रो धारणासँग समान धारणा पायौं । आन्दोलनको न्यायोचित व्यवस्थापन गर्ने कुरामा उहाँ गम्भीर हुनुहुन्छ । संघीयतालगायत हाम्रा अपेक्षामा उहाँ क्लियर पायौं,’ उनले भने ।
जेनजी अगुवा युजनराज भण्डारीले पनि बालेन राजनीतिमा आउनु सकारात्मक भएको बताए । ‘राजनीतिमा मेयरज्यू अगाडि आउने विषय एकदमै सकारात्मक छ । आम जनताको चासो बालेन आइदिओस् भन्ने थियो । उहाँलाई समय लाग्यो होला, केही बिग्रेको छैन, तर उहाँ राजनीतिमा आउँछु भन्नुभयो, त्यसमा सम्पूर्ण नागरिक नै उत्साहित छौं । संविधानका चार पाँचवटा पिल्लरमा मेयरसापबाट समान धारणा पायौं, टेक्ने धरातल दुबैको एउटै रहेछ भन्ने स्पष्ट भयो । अन्य वैकल्पिक शक्तिहरू समग्र एउटै ठाउँमा आएर अगाडि बढ्दा आन्दोलनले न्याय पाउने विश्वास छ । यो नै न्यायोचित हुन्छ । दिर्घकालीन रुपमा स्थायीत्व दिने हिसाबले अगाडि बढ्दा न्यायोचित हुन्छ,’ उनले भने । युवा अभियन्ता केपी खनालले हरेक युवा पुस्ताले चाहेको युवा यो देशमा आओस् र देश युवा बनोस् भन्नेतर्फ सम्वादहरू अग्रसर भइरहेको बताए ।
०७९ को प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिश्पर्धा गरेका सागर ढकालले नयाँ र वैकल्पिक शक्तिहरू मिल्ने कुरा भइसकेको, तर कसरी र कुन मोडालिटीमा मिल्ने भन्ने टुंगिनसकेको बताए ।