बुहारीलाई भान्सामा थुनेपछि पेट्रोल छर्केर आगो लगाई हत्या प्रकरण : घरको ताला खोलिएपछि तनाव, धुरा बजारमा कर्फ्यु

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण
  • पाँच दिनसम्म उठेन सुशीलाको शव, सुशीलाका पतिलाई झिकाउनुपर्ने र तीन सन्तानका नाममा पैतृक सम्पत्ति नआएसम्म शव नबुझ्ने अडान

बुहारीलाई भान्सामा थुनेपछि पेट्रोल छर्केर आगो लगाई हत्या प्रकरणमा तनाव सिर्जना हुँदा सिन्धुली प्रशासनले कमलामाई नगरपालिका–४, धुरा बजार क्षेत्रमा बिहीबार कर्फ्यु आदेश जारी गरेको छ । धुराकी सुशीला थिङको हत्यापछि घरमा लगाइएको ताला प्रहरीको मिलेमतोमा खोलिएको र सिल नगरिएको भन्दै आक्रोशित स्थानीयले ढुंगा प्रहार गर्नुका साथै प्रदर्शन गरेपछि स्थिति बिग्रन पुगेको हो ।

घटनापछि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले धुरा बजारमा बिहीबार साढे ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि  कर्फ्यु आदेश जारी गरेकी हुन् । 

ताला खोलेर भित्र गएका सुशीलाका देवर बिर्खबहादुर बम्जन (विक्रम), सुशीलाकी सासूका दिदीबहिनीसहित चारजनालाई स्थानीयले घरभित्र थुनिदिएका थिए । तर, कर्फ्यु पछि प्रहरीले बिहीबार राति ९ बजे उनीहरूलाई बाहिर निकालेको छ ।

सुशीलाका जेठाजु पर्ने डम्बर बम्जनले ताला लगाइएको घरमा पीडक पक्षका केही मान्छे आएर खानतलासी गर्न थालेपछि स्थानीय आक्रोशित बनेको बताए । अनुसन्धान प्रक्रिया नसकिँदै प्रहरीले पीडक पक्षलाई घरको चाबी बुझाएपछि सुशीलाले न्याय पाउनेमा स्थानीय सशंकित बनेको आन्दोलनमा पुगेकी तुलसा दाहालले बताइन् । ‘प्रहरीले सुशीलाका पतिलाई तत्काल झिकाई कानुनी दायरामा ल्याउनुपर्छ, नभए आन्दोलन रोकिँदैन,’ उनले भनिन् ।

तर, प्रहरीले अनुसन्धान तथा मुचुल्का तयार गरिसकेपछि घर सिल गर्ने अधिकार नरहेको श्रेष्ठले बताइन् । ‘प्रहरीले उक्त घर सिल गरेको पनि हैन । घरको संरक्षण गर्ने कोही पनि मान्छे नभएपछि प्रहरीले अनुसन्धानपछि ताला लगाएको हो । उहाँहरूको केही जिम्मा लिने मान्छे आएपछि चाबी दिएको हो,’ श्रेष्ठले भनिन्, ‘प्रहरीले घर सिल गर्ने भनेको कुनै पनि कानुनविपरीतका सामग्री वा विस्फोटक पदार्थ राखेको भए पनि सिल गर्ने हो, नभए कुनै पनि घटना घटेको स्थानमा स्थलगत मुचुल्का तयार गरिसकेपछि व्यक्तिगत घर सिल गर्ने अधिकार प्रहरी प्रशासनलाई छैन ।’

सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले गत आइतबार घटना भएपछि प्रहरीले स्थलगत मुचुल्का तयार गरी जाँचबुझ गरी प्रमाण संकलन गरेपछि सम्बन्धित पक्षले नै घरमा ताला लगाएको दाबी गरे । ‘आरोपितलाई नियन्त्रणमा लिइएपछि उनीहरूका नजिकका व्यक्तिले घरको चाबी राखेका थिए । केही सामान वा प्रमाण छन् कि भन्ने लागेर प्रहरीले उनीहरूलाई नै ताला खोल्न लगाएर अनुसन्धान वा प्रमाण संकलन गरेको हो,’ सुवेदीले भने ।

पाँच दिनसम्म उठेन सुशीलाको शव
पेट्रोल छर्किएर आगो लगाई हत्या गरिएकी सुशीला घिसिङ (बम्जन) को शव पाँच दिनसम्म पनि उठ्न सकेको छैन । शव सिन्धुली अस्पतालमा छ । माइतीपक्षले सुशीलाका पति सूर्यबहादुर बम्जनलाई दक्षिण कोरियाबाट झिकाउनुपर्ने र तीन सन्तान (बालबालिका)का नाममा पैत्रिक सम्पत्ति नआएसम्म शव नबुझ्ने अडान राखेको हो । सुशीलाका तीन नाबालक छोराछोरी मामाघर छन् ।

हत्यामा संलग्न रहेको आरोपमा सुशीलाकी सासू ६० वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना बम्जन गत आइतबार नै पक्राउ पर्नुका साथै आगो लगाउने क्रममा आफैँ घाइते भएका ससुरा ६५ वर्षीय दुर्गामान बम्जन अस्पतालमा उपचार गराइरहेकाले प्रहरी निगरानीमा छन् । तर, दक्षिण कोरियामा रहेका पति सूर्यबहादुर घटनाका मतियार रहेको भन्दै माइतीपक्षले आरोप लगाए पनि देशबाहिर रहेकाले तत्कालै पक्राउ गर्न सकिने अवस्था नरहेको सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए । ‘कोरियाबाट सूर्यबहादुरलाई तत्कालै प्रक्राउ गर्न सक्ने अवस्था छैन, प्रक्रियागत रूपमा ल्याउनका लागि प्रहरीले काम गरिरहेको छ,’ सुवेदीले बताए ।

गत आइतबार साढे दुईतले घरको बिच तलाको पूर्वतर्फको भान्सा कोठाभित्र मट्टीतेल/पेट्रोल छर्किएर आगो लगाई सुशीलाको हत्या गरिएको थियो । छोरीमाथि पटक–पटक घरेलु हिंसा गरेको, यातना दिँदै आएको र छोरीको हत्या गरेको भन्दै उनका बुबा प्रेमबहादुर घिसिङले गत सोमबार प्रहरीमा किटानी जाहेरी दिएपछि मीना र मायारानी पक्राउ परेका थिए । जाहेरी कर्तव्य ज्यान मुद्दा शीर्षकमा दर्ता गरिएको तथा मीना र मायारानीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए । 
 

See More On

सुझावित समाचार