फक्ताङ्लुङ गाउँपालिकाले हिउँदभर गाउँमै यातायात सेवा पुर्याउन तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरेको छ । पक्की पुल नहुँदा बर्खाभर यातायात सुविधाबाट बञ्चित रहने फक्ताङ्लुङवासी अस्थायी रूपमा भए पनि पुल निर्माण भएपछि खुशी भएका छन् ।
गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा नम्बर–५ तापेथोक र वडा नम्बर–६ लेलेप जोड्ने गरी तापेथोकबगरस्थित तमोर नदीमा काठको मोटरेवल पुल निर्माण गरिएको हो । हिउँदमा नदीको बहाव कम हुने समयलाई उपयोग गर्दै गाउँ–गाउँसम्म यातायातका साधन पु¥याउने उद्देश्यले पुल निर्माण गरेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताए । उनका अनुसार फक्ताङ्लुङका धेरै बस्तीमा सडक पुगे पनि तमोर नदीमा पक्की पुल नहुँदा यातायात सेवा सञ्चालन हुन सकेको थिएन । यस अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले करिब ९० हजार रुपैयाँ खर्च गरेर काठेपुल निर्माण गरेको हो । पुल निर्माणमा तमोर इनर्जी प्रालिले एक्साभेटर उपलब्ध गराएर सहयोग गरेको अध्यक्ष लिम्बूले जानकारी दिए ।
पुल सञ्चालनमा आएपछि तापेथोकबगर आसपासका बस्तीका नागरिकलाई दैनिक आवतजावत, कृषि उपज ओसारपसार तथा सेवा–सुविधामा पहुँच सहज भएको छ । यसैगरी, तमोर नदीकै छिरुवा खण्डमा पनि मोटर गुड्ने काठको अस्थायी पुल निर्माणको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।
जिल्लाकै दुर्गम मानिने फक्ताङ्लुङ गाउँपालिकाले विगतका वर्षदेखि नै हिउँदयाममा तमोर नदीका विभिन्न स्थानमा काठको अस्थायी मोटरेवल पुल निर्माण गर्दै आएको छ । तमोर नदीको दुवै किनारामा गाउँपालिकाकै वडा तथा बस्ती रहेकाले हिउँदमा यातायात सेवा सञ्चालन गर्न यस्तो अस्थायी व्यवस्था अपनाइँदै आएको हो ।
तमोर नदीमा स्थायी पक्की पुल निर्माण नभएसम्म हिउँदे यातायातका लागि काठको अस्थायी पुल अपरिहार्य रहेको अध्यक्ष लिम्बूको भनाइ छ । दीर्घकालीन रूपमा भने पक्की पुल निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ ।