कञ्चनपुरका आरक्षपीडितको पुनर्स्थापनाका लागि उच्च अदालतमा रिट

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

कञ्चनपुरका आरक्षपीडितको पुनर्स्थापनाका लागि उच्च अदालत दिपालय महेन्द्रनगर इजलासमा रिट परेको छ। सुदूरपश्चिम विश्वविद्यालय कानुन संकायका पाँच विद्यार्थीले आरक्षपीडितको पुनर्स्थापनाका लागि उच्च अदालत दिपालय महेन्द्रनगर इजलासमा रिट हालेका हुन् । 

कानुन संकायका विद्यार्थी ईश्वरदत्त भट्ट, भावना साउद, वसन्ती बोहरा, मुकेश विष्ट र पूजा सुनारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहितका प्रधानमन्त्री कार्यालयसम्मका पाँच सरकारी कार्यालयविरुद्धमा रिट दर्ता गराएका छन् ।

बिहीबार पाँचैजना कानुन संकायका विद्यार्थीले संयुक्त रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाउँ, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् । रिट दर्तामध्ये कानुन संकायका विद्यार्थी मुकेश विष्टले आरक्षपीडितको हालसम्म पुनर्स्थापना नहुँदा रिट दर्ता गरेको बताए । शुक्रबार ११ पुसमा पहिले पेस तोकिएको छ । 

रिट निवेदनमा तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा ०५८ सालमा त्यहाँका बासिन्दाहरूको वासस्थान राज्यले कब्जा गरेपछि शुक्लाफाँटा वन्यजन्तु आरक्षपीडितहरू (यसपछि आरक्षपीडित भनिएका) विगत २४ वर्षदेखि वासस्थान र सम्पत्तिविहीन भएर बस्न बाध्य जनाएको छ । पीडित हुँदाहुँदै पनि अदालतसम्म आउन सकेका छैनन् त्यसकारण विगत २४ वर्षदेखि आरक्षपिडितहरूमाथि संविधानको धारा १६, सम्मानपुर्वक बाँच्न पाउने अधिकार धारा २५, सम्पत्तिको अधिकार धारा ३७ र आवासको अधिकार हनन भएको भएको छ । 

संविधानप्रदत्त मौलिक अधिकारहरूको उपभोग नपाउँदा कानुनी राज्यको उपहास भएको देखेर  कानुन अध्ययनरत विद्यार्थीहरू संविधानको धारा ४६ र १४४ को उपधारा १ बमोजिम अदालतसमक्ष उपस्थित भएर निवेदन दिएको जनाएका छन् । २३औँ आयोगले कञ्चनपुरमा २४ सय ७३ घरधुरी प्रमाणित गरेको थियो । त्यसपछि सुरेन्द्र बम नेतृत्वको आयोगले पीडितको पुनर्स्थापनाका लागि कम्तीमा १० कट्टा जमिन नभए ६० लाख क्षतिपूर्ति दिने प्रस्ताव अघि सारे पनि वन मन्त्रालयमै थन्किएको थियो । २४ वर्षसम्म पनि पीडितको पुनर्स्थापना नहुँदा उनीहरू विभिन्न सरकारी जमिन अतिक्रमण गरेर झुपडीमा बस्न बाध्य भएका छन् । 

सुझावित समाचार