अरब वसन्तको १५ वर्ष : के बदलियो, के यथावत् रह्यो?

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण
  • अरब वसन्तपछि शक्ति र गुरुत्वाकर्षणको केन्द्र अहिले कायरो, दमास्कस र बग्दादजस्ता ऐतिहासिक अरब राजधानीबाट दोहा, अबुधाबी र रियादतर्फ सरेको छ

डिसेम्बरको सुरुमा ट्युनिसियाको सरकारी निकायले एक नाम चलेका प्रतिपक्षी अभियन्तालाई पक्राउ गर्यो । ‘ह्युमन राइट्स वाच’ले उल्लेख गरेअनुसार डिसेम्बर २ मा पक्राउ परेका अयाची हमामीले सोही दिन ट्युनिसियाको सर्वोच्च अदालतमा अन्तिम निर्णय नभएसम्म फैसला कार्यान्वयन स्थगित गर्न थप अनुरोध गरेका थिए ।’

ट्युनिसियामा वर्तमान राष्ट्रपति कैस सइदको शासनकालमा हमामीलगायत सरकारका कैयौँ आलोचक तथा प्रतिपक्षी तत्वमाथि कारबाही बढेको देखिन्छ । यसलाई राज्य संयन्त्रमाथि आफ्नो पकड बलियो बनाउने सइदको प्रयासका रूपमा हेरिन्छ । ट्युनिसियाली सरकारको बढ्दो अधिनायकवादी चरित्रले कसरी अरब वसन्त उठेका देशहरू शिशु लोकतन्त्रबाट पुन: अधिनायकवादमै फर्किए भन्ने उदाहरण हो ।

ट्युनिसियाली नागरिक मोहम्मद बोअजिजीले सरकारी दुव्र्यवहार सहन नसकी डिसेम्बर २०१० मा आत्मदाह गरेपछि ‘अरब वसन्त’ सुरु भएको थियो । आन्दोलन सुरु भएको एक महिनामै त्यो देशभर फैलिसकेको थियो । थेग्न नसकिने विरोध प्रदर्शनका कारण ट्युनिसियाली राष्ट्रपति बेन अली देश छाडेर भाग्न बाध्य भए । उसो त सन् १९८७ देखि लगातार २३ वर्ष शासनमा रहेका बेन अली ट्युनिसियामा अधिनायकवादी शासकका उदाहरण थिए । सँगसँगै उनी अरब देशहरू औपनिवेशिक शासनबाट स्वतन्त्र भएपछि उदाएका अरब राष्ट्रवादी र धर्मनिरपेक्षतावादी नेतामध्ये एक थिए ।

बेन अलीको शासन ढलेपछि त्यसले एक ‘डोमिनो प्रभाव’ सिर्जना गर्यो । अर्को वर्ष फेब्रुअरी २०११ मा इजिप्टमा उस्तै आन्दोलन उठ्यो र त्यहाँ ३० वर्षदेखि शासन गरिरहेका राष्ट्रपति होस्नी मुबारक पद छाड्न बाध्य भए । त्यस्तै, छिमेकी लिबियामा अक्टोबर २०११ मा मुअम्मर गद्दाफीको ४२ वर्षे शासनसमेत अन्त्य भयो । अरब वसन्त छिमेकी देशमा फलिँदै जाँदा यसको रूप पनि बदलिँदै गयो । ट्युनिसियामा अपेक्षाकृत शान्तिपूर्ण रूपमा लोकतन्त्रतर्फ संक्रमण भएको थियो । उता इजिप्ट र लिबियाको परिवर्तनले भने अशान्त भविष्यको संकेत गरे ।

अरब क्रान्तिमा मुबारक सत्ताच्युत भएपछि मे २०१२ मा इजिप्टले चुनाव गरायो । चुनावमा मुस्लिम ब्रदरहुडले जित्यो र मोहम्मद मोर्सी राष्ट्रपति बने । तर, उनको शासन पनि छोटो रह्यो । एक वर्षपछि नै मोसीविरुद्ध अर्को विरोध सुरु भयो । विरोधका बिच सेनाले जुलाई २०१३ मा कु गर्यो र जनरल अब्देल फताह अल–सिसी राष्ट्रपति बने । सिसीले विभिन्न चुनाव गराउँदै अझै इजिप्टमा शासन गरिरहेका छन् ।

लिबियामा गद्दाफीको पतन विशेषगरी रक्तपातपूर्ण रह्यो । विद्रोह चर्किएपछि भागेका गद्दाफी विद्रोहीको कब्जामा परेपछि निर्ममतापूर्वक मारिए । गद्दाफी मारिएपछि लिबिया गृहद्वन्द्वमा डुब्यो । जनरल खलिफा हफ्तरको नेतृत्वमा देशको पूर्वी आधा भाग अलग शासन चल्छ । त्रिपोली केन्द्रित फरक सरकार पनि कायम नै छ । हफ्तर सरकारलाई बलियो छिमेकी इजिप्टको समर्थन छ । अरब वसन्तपछिको १५ वर्ष यही गृहयुद्ध, अतिवाद र अधिनायकवादको चक्रमा रुमल्लिरहेको छ ।

अरब वसन्त खासमा अरब देशमा सन् १९५० र १९७० को दशकको बिचमा उठेका अधिनायकवादी राष्ट्रवादी नेताविरुद्धको लोकप्रिय प्रतिक्रिया सावित भयो । सिरियाको असद शासन र इराकमा सद्दाम हुसेन शासन त्यही अवधिमा उठेको थियो । यसमा यमनको अली अब्दुल्लाह सालेह पनि समावेश थिए । ती राष्ट्रवादी नेताको शासनविरुद्ध खाडी, जोर्डन र मोरक्कोका अरब राजतन्त्रहरू उभिएका थिए । सन् १९८० को दशकमा मुख्यत: मुस्लिम ब्रदरहुडको नेतृत्वमा तेस्रो शक्तिका रूपमा इस्लामवादी समूहहरूको उदय भयो । यसले त्यतिवेलाका धेरै युवालाई आकर्षित गर्यो ।

इस्लामवादी तेस्रो धारका धेरै समूहले अतिवादी बाटो अपनाएका थिए । उदाहरणका लागि सन् १९८१ मा तिनै अतिवादीले इजिप्टका राष्ट्रपति अनवर सदातको हत्या गरे । सिरियामा पनि मुस्लिम ब्रदरहुडले विद्रोहको प्रयास गरेको थियो । तर, सन् १९८२ मा हाफेज अल असदले उनीहरूलाई निर्मम दमन गरे ।

राष्ट्रवाद, राजतन्त्रवाद र धार्मिक अतिवादबिचको कठोर विभाजनले औसत मानिसका लागि राजनीतिक सहभागिताको विकल्प न्यून मात्र बाँकी रह्यो । अरब वसन्त सुरुका दिनमा यी तीन ऐतिहासिक प्रवृत्तिलाई फ्याँक्ने र मध्यपूर्वमा लोकतन्त्रको नयाँ स्पेस सिर्जना गर्ने मार्गजस्तो देखिन्थ्यो । तर, नेतृत्वविहीन विद्रोहपछि उत्पन्न शक्ति शून्यताले गृहयुद्ध तथा आइएसजस्ता अतिवादी समूहको उदय गरायो । गृहयुद्धबिच सन् २०१४ मा आइएस सिरियाको विशाल भूभाग कब्जा गर्न सफल भएको थियो । सिरियाको आधारबाट समूहले इराकमाथि समेत आक्रमण गर्यो र अल्पसंख्यकको ठुलो नरसंहार गर्यो ।

खासमा पछिल्लो एक दशक मध्यपूर्व अरब वसन्तले खुलाएको ‘पान्डोराको बक्स’लाई बन्द गर्ने लामो संघर्षमा व्यस्त देखियो । यस दिशामा अरब शासकसामु तीनवटा मार्ग देखिए । जस्तो, इजिप्ट र ट्युनिसिया सन् २०११ भन्दा पहिले नै अस्तित्वमा रहेको एक प्रकारको अधिनायकवादमा फर्किए । खाडी क्षेत्रका केही देशहरूले राजतन्त्र जोगाउन केही विषयमा बिस्तारै उदारीकरण अवलम्बन गरेका छन् । तेस्रो मार्ग भनेको सिरियामा फेला पार्न सकिन्छ, जहाँ लामो संघर्षपछि अन्तत: डिसेम्बर ८, २०२४ मा असद शासन पतन भयो । दमास्कसले लोकतन्त्रतर्फको संक्रमणको बाटो फेला पार्न सक्यो भने सिरिया अरब वसन्तको एक सफल उदाहरण बन्नेछ ।

उसो त डिसेम्बर २०२४ मा सत्तामा आएको सिरियाली विद्रोही ‘हयात तहरिर अल–साम (एचटिएस)’ को विगत अल कायदाजस्ता अतिवादी समूहमा जोडिन्छ । यद्यपि, एचटिएसले आफूलाई पुन: ब्रान्ड गर्ने प्रयास गरिरहेको छ । केही सकारात्मक सुधारका बाबजुद सिरिया अहिले विभाजित छ । पूर्वी सिरियामा अमेरिका समर्थित ‘सिरियन डेमोक्रेटिक फोर्स’ कुर्द जातिको नेतृत्वमा रहेको सैन्य समूह हो । यसले विगतमा आइएसलाई पराजित गर्न ठुलो भूमिका खेलेको थियो । जातिगत रूपमा मात्र होइन, दुई समूह विचारधारामा भिन्न छ । कुर्दहरू प्राय: वामपन्थी झुकाव राख्छन् भने दमास्कसको नयाँ अरब सरकार इस्लामिक र रुढिवादी छ । यस्तोमा दुई भिन्न विचारधारा भएका फरक जाति सिरियाको एकताका लागि एकसाथ उभिएलान् ? सिरियाको मुख्य चुनौती यही हो ।

यस क्षेत्रका लागि अर्को चुनौती गाजा युद्धपछिको व्यवस्थालाई लिएर छ । गाजामा अक्टोबर २०२५ मा युद्धविराम लागू भयो । अरब वसन्तपछि पनि इजरायल–प्यालेस्टिनी द्वन्द्वमा खासै परिवर्तन आएको छैन । अरब वसन्तले प्यालेस्टिनमा दशकौँ शासन गर्ने राजनीतिज्ञलाई त्यति प्रभाव पारेन । तथापि, यस क्षेत्रमा ठुला परिवर्तनले सैन्य पक्षलाई भने असर गर्यो । अराजकताबिच इजिप्ट हुँदै लिबियाबाट तस्करी गरिएका हतियारले सम्भवत: सन् २०१२ र २०१४ मा इजरायल र हमासबिचको युद्धलाई बढावा दिएका थिए ।

अरब वसन्त यस क्षेत्रमा एक महत्वपूर्ण मोड थियो । किनभने, यसले दोस्रो विश्वयुद्धपछि स्वतन्त्र भएका अरब देशमा हाबी भएको अरब राष्ट्रवादी शासकलाई सत्ताच्युत गर्यो । कुनै न कुनै रूपमा सबै अरब देशबिच एकता हुनुपर्छ भन्ने विचार राख्ने अरब राष्ट्रवादी बिस्तारै अव्यावहारिक देखिँदै गएका थिए । राजतन्त्र भएका अरब देश आफ्नो देशको शाही परिवारलाई शासन गर्न फरक देश चाहिने भएकाले यस्तो विचारको विरोध गर्थे । अन्तिममा तिनकै जित भयो ।

अरबी राजतन्त्रको जितको अर्थ शक्ति र गुरुत्वाकर्षणको केन्द्र अब कायरो, दमास्कस र बग्दादजस्ता ऐतिहासिक अरब राजधानीबाट दोहा, अबु धाबी र रियादतर्फ सरेको छ । आर्थिक रूपमा पनि खाडी क्षेत्रका अधिराज्य मुलुक शक्तिशाली आर्थिक केन्द्र बनेका छन् । अरब वसन्त सुरु भएको पन्ध्र वर्षपछि पनि यो भेग यसले सुरु गरेका अस्थिरताबाट मुक्त हुने प्रयास गरिरहेका छन् । हुन सक्छ, पुनरोत्थानको यो प्रक्रियाले पूर्णता पाउन अझै एक दशक लाग्न सक्छ । 

‘द जेरुसेलम पोस्ट’का कार्यवाहक समाचार सम्पादक फ्रान्जम्यान ‘द फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिज’का सहायक फेलो पनि हुन् । 
नेसनल इन्ट्रेस्टबाट

सुझावित समाचार