चोरी तथा लुटपाटका घटना वृद्धि हुन थालेपछि सचेतता अपनाउन प्रहरीको आग्रह

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

चोरी तथा लुटपाटका घटना वृद्धि हुन थालेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ । जिल्ला तथा छिमेकी जिल्लाहरूमा अपरिचित व्यक्ति तथा समूह आएर विभिन्न बहानामा चोरी तथा लुटपाट गरेको उजुरी जिल्ला प्रहरी कार्यालय खोटाङमा आउन थालेपछि प्रहरीले सार्वजनिक सूचना जारी गर्दै सचेतता अपनाउन जिल्लावासीलाई आग्रह गरेको हो । 

गाउँ, टोल तथा घरमा जडीबुटी बेच्ने, धामीझाँक्री गर्ने, सरसामान बेच्ने, लत्ताकपडा बेच्ने, भिक्षा माग्ने आदि बहाना बनाउँदै आएका अपरिचित व्यक्तिहरूबाट सचेत रहन प्रहरीले अनुरोध गरेको छ । कुनै पनि व्यक्ति वा समूहले घरमा वास माग्ने आदि गरेमा त्यस्ता व्यक्तिहरूलाई वास दिनुपरेमा निजहरूको स्पष्ट परिचय लिएर निजको अनुमति लिई फोटो खिचेर तथा स्थानीय जनप्रतिनिधि, टोल, छिमेक, प्रहरीलाई जानकारी गराएर मात्र वास दिन प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । 

चोरी तथा लुटपाटका घटना भएको उजुरी आउन थालेपछि जिल्लामा सञ्चालित होटेल, लज, रेस्टुरेन्टलगायतमा वास बस्न आउने व्यक्ति तथा समूहको परिचय खुल्ने कागजातको फोटोकपी, सम्पर्क नम्बर र उक्त व्यक्ति तथा समूहको नजिकको आफन्तको सम्पर्क नम्बर परिचय र नातासमेत यकिन गरेर मात्र वास दिन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिएका छन् । आफ्नो टोल तथा छिमेकमा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन फोन नम्बर १०० मा जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ । 

आफ्नो घर तथा टोलको सुरक्षाका लागि सबै मिलेर सिसिटिभी जडान गरी सुरक्षाका उपायहरू अपनाउनसमेत प्रहरीले आग्रह गरेको छ । १० स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय अपरिचित व्यक्तिहरूबाट विभिन्न बहानामा चोरी तथा लुटपाट हुन थालेपछि जिल्लावासी त्रसित बनेका छन् । 

यही पसु ६ गते साकेला गाउँपालिका–१, बाँझेच्यानडाँडास्थित सेखुवा झगरपुरका ६६ वर्षीय ज्ञानबहादुर बुढाथोकीको घरमा लुटपाट तथा चोरी भएको थियो । उदयपुरबाट आएर जिल्लामा काठ ओसारपसार गर्ने पेसा गर्दै आएको बताउने करिब ३०–३५ वर्षीय दुईजना व्यक्तिले बुढाथोकीदम्पतीलाई पेस्तोल र खुकुरी देखाउँदै नगद तथा गहना लुटपाट गरेको प्रहरीमा उजुरी परेको छ । 

वास माग्दै घरमा आएर बसेका उनीहरूले सोही राति करिब नौ बजे बुढाथोकीदम्पतीको हात, खुट्टा र मुख बाँधेर पेस्तोल तथा खुकुरी देखाउँदै श्रीमतीको कानमा लगाएको एक तोलाको सुनको कुण्डल, नगद रु. एक लाख ५० हजार ६ सयका साथै आइएआई एघार र जेटिई ब्लेड ए ३५ मोडलको मोबाइल लुटेर लगेको पीडित परिवारले जनाएको छ । आफूहरू धामीझाँक्रीको कामसमेत गर्ने भन्दै वास मागेर बसेका उनीहरूले घरमा छोरा/छोरी कोही नभएको मौका छोपेर नगद तथा सुनका गहना लुटपाट गरेको पीडित बुढाथोकीदम्पतीले बताएका छन् ।

सेखुवाका वृद्धावस्थाका बुढाथोकीदम्पतीमाथि भएको लुटपाटको घटनाको विषयमा जानकारी प्राप्त भएलगत्तै कारबाहीका लागि प्रहरीलाई जानकारी गराइएको बाँझेच्यानडाँडाका वडाध्यक्ष हेमन राईले जानकारी दिएका छन्। बुढाथोकीदम्पतीको घरमा भएको लुटपाटका घटनामा संलग्न जेन–जी आन्दोलनका क्रममा कारागारबाट भागेका व्यक्तिहरू हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

See More On

सुझावित समाचार