राष्ट्रिय सभा निर्वाचनमा दुई हजार ४३ मतदाता

राष्ट्रिय सभाका १८ सिटका लागि ११ माघमा हुँदै छ चुनाव, २० फागुनमा रिक्त हुने १९ मध्ये एक सिटमा राष्ट्रपतिले गर्नेछन् मनोनीत

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले राष्ट्रिय सभाको ११ माघमा हुने निर्वाचनका लागि दुई हजार ४३ प्रारम्भिक मतदाता कायम गरेको छ । प्रारम्भिक नामावलीमा जाँचबुझ गरी २२ पुसमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यसूची छ । राष्ट्रिय सभाका १८ सिटका लागि ११ माघमा चुनाव हुँदै छ । फागुन २० मा रिक्त हुने १९ मध्ये एक सिटमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।

आयोगले निर्वाचनका लागि बुधबार प्रकाशन गरेको प्रारम्भिक मतदाता नामावलीमा प्रदेश सभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा दुई हजार ४३ जना छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।

प्रवक्ता नारायण भट्टराईका अनुसार उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । आयोगका अनुसार स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यमध्ये अदालतको आदेशबमोजिम पदमुक्त भएका एकजना र निलम्बनमा परेका चारजना गरी कुल पाँचजना प्रदेश सभा सदस्य तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एकजना र निलम्बनमा रहेका सातजना गरी कुल आठजना स्थानीय तहका पदाधिकारीको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन । 

६ दल खारेज, दलको संख्या १३७ कायम
निर्वाचन आयोगले ६ दलको दर्ता खारेज गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५४ (४) बमोजिम जरिवाना नबुझाउने ६ राजनीतिक दलहरूको दर्ता ऐनको दफा १२ बमोजिम खारेज गरिएको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी नेपाल खारेज भएका छन् । अयोगमा कुल १४३ दल दर्ता रहेकोमा ६ खारेज भएसँगै दलको संख्या १३७ कायम भएको छ ।

सुझावित समाचार