सिराहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका– १, बल्टिया गाउँकी करिब १७ वर्षीया बालिकाको हत्या भएको तीन साता बित्दासमेत प्रहरीले मुख्य आरोपीलाई पक्राउ गर्न सकेको छैन।
बल्टियाका सूर्यनाथ वैद्य (मुसहरू) दनुवारकी छोरी अविना दनुवार (काली)को हत्या भएको १७औँ दिन बित्दै गर्दा मुख्य अभियुक्तको पहिचान र पक्राउ नहुनुले पीडित परिवारसँगै गाउँलेहरू आक्रोशित भएका छन्।
कर्जन्हा– १ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले घटना भएको तीन सातामा पनि आरोपीहरू सार्वजनिक नगरिँदा पीडित परिवारले न्याय नपाउने हो कि भन्ने चिन्ता बढेको बताए। ‘प्रहरीले दोषीलाई पक्राउसँगै सार्वजनिक गरी कानुनी प्रक्रिया अगाडि बढाएर पीडित परिवारलाई न्यायको प्रत्याभूति दिलाउनुपर्छ,’ उनले भने।
घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै स्थानीयले २४ मंसिरमा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध हुने गरी आन्दोलन गरेपछि जिल्ला प्रहरी प्रमुखले दोषीलाई पक्राउ गरी सार्वजनिक गरिने प्रतिबद्धता जनाएका थिए। बल्टिया गाउँकी पानवती कुँवरले प्रहरीले अहिलेसम्म मुख्य आरोपीलाई पक्राउ गर्न नसकेकाले छोराछोरीलाई बाहिर निस्किन दिन पनि डर लाग्ने गरेको बताइन्।
मृतककी आमा दयावती कुमरले छोरीको हत्यापछि प्रहरीले अनुसन्धानको नाममा मुख्य अभियुक्तलाई पक्राउ गर्न नसक्दा न्याय खोसिएको महसुस भएको गुनासो गरिन्। ‘पहुँच भएकाहरूको तत्काल सुनुवाइ हुन्छ,’ उनले भनिन्, ‘बढ्दो चिसोमा आफ्नै घर नहुँदा सामुदायिक भवनमा बस्दै आएका छौँ। केही स्थानीयले छोरीको हत्यामा आफ्ना मान्छे फसाउन खोजेको आरोप लगाउँदै उठीबास नै गराउन खोजिरहेका छन्।’
स्थानीयका अनुसार झाडीमा बालिकाको शव अर्धनग्न अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरेर फालिएको हुन सक्ने आशंका छ। मृतक बालिकाको शरीरका विभिन्न भागमा घाउचोट लागेको र शव भेटिएभन्दा करिब ५० मिटर पर उनले लगाएको कपडा र जुत्तासमेत फेला परेकाले बलात्कारपछि हत्या भएको हुन सक्ने स्थानीय बताउँछन्।
विभिन्न कोणबाट अनुसन्धान जारी : प्रहरी
कर्जन्हा– २, बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माविको कक्षा नाैमा अध्ययनरत अविनाको शव २२ मंसिरको दिउँसो विद्यालयकै दक्षिणपट्टि कमला नहरछेउको झाडीमा हत्या गरी फालिएको अवस्थामा भेटिएको थियो। शव भेटिएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैया र मधेश प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित आएको टोली घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएपछि अनुसन्धानका लागि प्रहरीले पाँचजना स्थानीय युवाहरूलाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले घटनास्थलमा भेटिएका सबुद प्रमाणको आधारमा विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान गर्नुका साथै घटनामा संलग्न रहेको हुन सक्ने आशंकाको आधारमा नियन्त्रणमा लिएकाहरूलाई सोधपुछपछि आवश्यक परेको वेला उपस्थित हुने गरी छोडिएको बताए। ‘गम्भीर प्रकृतिको अपराध भएकाले प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘अनुसन्धानसँगै सोधपुछ गर्दै घटनाको मुख्य अभियुक्तसम्म पुग्ने गरी काम गर्दैछौँ।
पीडित परिवारलाई सहयोग जारी
स्थानीयका अनुसार दिवंगत सूर्यनाथकी कान्छी श्रीमती दयावती कुमरपट्टिकी काहिँली छोरी अविना स्थानीय क्रिकेट खेलाडीसमेत थिइन्। बल्टियास्थित घरबाट २१ मंसिरको राति करिब साढे ८ बजेतिर आमालाई बन्दीपुरमा बनाउन दिएको मोबाइल लिन जान्छु भन्दै निस्किएकी उनको शव भोलिपल्ट दिउँसो भटिएको थियो। पाँच दिदी बहिनीमध्ये तीन दिदीको विवाह भइसकेकाले बालिका कान्छी बहिनीसहित आमासँग बस्दै आएकी थिइन्।
आर्थिक रूपले अत्यन्त विपन्न दनुवार परिवारलाई परेको संकट टार्न जनप्रतिनिधि, स्थानीय गाउँले, समाजसेवीहरूले संकलन गरी तत्काल किरिया खर्चका लागि २५ हजार रुपैयाँ दिएको वडाध्यक्ष पोखरेलले बताए। स्थानीय युवा अगुवाहरूले पीडित परिवारको घर निर्माणका लागि नगद सहयोग संकलन गरी जग्गाको व्यवस्थापन गर्न आग्रह गरेको जानकारी दिँदै उनले खाली रहेको जग्गा पहिचान गरी पालिका र वडा कार्यालयसमेतको सहयोगमा घर निर्माणका लागि पहल गरिने बताए।