आज कांग्रेसको कार्यसम्पादन समिति बैठक : महाधिवेशन कार्यतालिका हेरफेर हुन सक्ने

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ । 

नेताहरूका अनुसार केन्द्रीय कार्यसमितिले निर्णय गरेको महाधिवेशन तालिका हेरफेर गर्न बैठक बोलाइएको हो । तत्काल केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेका वेला केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गर्न सक्ने कांग्रेसको विधान छ । कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारीसहितका केही केन्द्रीय सदस्य छन् ।

गत केन्द्रीय कार्यसमिति बैठकले आगामी २६–२८ पुसमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, क्रियाशील सदस्यता नटुंगेका कारण कार्यतालिका प्रभावित भएको भन्दै हेरफेरको गृहकार्यमा कांग्रेस छ । कार्यसम्पादन समितिले नै तालिका हेरफेर गर्ने कि निर्वाचन समितिलाई नयाँ कार्यतालिका ल्याउने अधिकार दिने भन्ने विषयमा छलफल भइरहेको छ । 

क्रियाशील सदस्यता टुंग्याएर १६ पुसमा वडा अधिवेशन गर्ने कार्यतालिका छ । १७ पुसमा पालिका अधिवेशन, १९ पुसमा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने तालिका छ । यस्तै, २१ पुसमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन गर्ने तालिका छ । २२ पुसमा दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्ला अधिवेशन गर्ने तालिका छ । यस्तै, २३ र २४ पुसमा प्रदेश अधिवेशन र २६, २७ र २८ पुसमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

त्यसैबिच, नेता डा. शेखर कोइरालाले आफू पुस २६ मै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहे पनि मिति केही पर धकेलिन सक्ने बताएका छन् । सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा राजधानीमा मंगलबार आयोजित कार्यक्रममा कोइरालाले भने, ‘कांग्रेसको अधिवेशन केही लम्बिन सक्छ । म त पुस २६ मै अधिवेशन हुनुपर्छ भन्ने व्यक्ति हुँ ।’

महामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक गगन थापाले क्रियाशील सदस्यता वितरणमा आवश्यक समन्वय र सहजीकरण गरिदिन पुन: आग्रह गरेका छन् । ७७ वटै जिल्लाका सभापतिलाई पुन: परिपत्र गर्दै थापाले मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले नयाँ क्रियाशील सदस्यता वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गराउन भनेका छन् ।

थापाले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापति, गाउँ–नगरपालिका कार्यसमितिका सभापति, वडा कार्यसमितिका सभापतिलाई परिपत्र बोधार्थ र कार्यार्थ पठाएका छन् । आवश्यक समन्वयका लागि प्रदेश कार्यसमितिका सभापतिहरूलाई पनि थापाले परिपत्र पठाएका छन् । 

यस्तो छ अहिलेको कार्यतालिका क्रियाशील सदस्यता 
टुंग्याएर १६ पुसमा वडा अधिवेशन गर्ने कार्यतालिका छ । १७ पुसमा पालिका अधिवेशन, १९ पुसमा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने तालिका छ । यस्तै, २१ पुसमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन गर्ने तालिका छ । २२ पुसमा दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्ला अधिवेशन गर्ने तालिका छ । यस्तै, २३ र २४ पुसमा प्रदेश अधिवेशन र २६, २७ र २८ पुसमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

सुझावित समाचार