तेस्रो टी–२० कोशी लिग फागुनको दोस्रो साता

केपिएल अक्सनको क्याटगोरी ‘सी’मा अधिकतम २५ हजार र क्याटगोरी ‘ए’का खेलाडीलाई ६५ हजार रुपैयाँसम्म बोली लगाउन पाउने

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल) ९ देखि २१ फागुनसम्म हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले स्वीकृति दिएको लिगमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ । केपिएलका निर्देशक अफजल हुसैनले लिगमा सात टोलीको सहभागिता रहने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सहभागी सात फ्रेन्चाइज टोलीका मालिक पनि सार्वजनिक गरिएको छ ।

आयोजकले अक्सनमा सहभागी हुन खेलाडीको दर्ता प्रक्रिया सुरु गरिसकेको छ । खेलाडीले आफ्नो नाम दर्ता माइपे एपबाट गर्न सक्नेछन् । अक्सनमा क्याटगोरी ‘ए’को मूल्य न्यूनतम ४५ देखि ६५ हजारसम्म रहेको छ । यसैगरी, क्याटगोरी ‘बी’का खेलाडीको पारिश्रमिक २५ देखि ४५ हजारसम्म हुने हुसैनले बताए । क्याटगोरी ‘सी’को मूल्य पाँच हजारदेखि २५ हजारसम्म तोकिएको छ । सहभागी टोलीले कम्तीमा १८ खेलाडी राख्नैपर्ने नियम छ । जसमा एक मार्की, एक आइकोनिक, तीनजना ड्राफ (राष्ट्रिय टोलीका खेलाडी), क्याटगोरी ‘ए’का तीन, क्याटगोरी ‘बी’का दुई तथा क्याटगोरी ‘सी’का एक खेलाडी रहनेछन् ।

यस्ता छन् सात टोली
तेस्रो संस्करणको केपिएलमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बिएन कोशी अर्नाज र गोर्खा एभेन्जर्स सहभागी हुनेछन् । नमुना ब्लास्टर्सका मालिक धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सका कल्पित ढकाल, बिर्तामोड हिट्सका अनुराग प्रमानिक तथा प्रतिनिधिमा जीवनकुमार यादव छन् । त्यस्तै, पूर्वेली सुपर किंग्सको मालिक संजोक राणा, महेन्द्र मैनाली, सन्तोष तिमल्सिना, रविन विष्ट र सन्देश सिग्देल हुन् । एभरेस्ट थन्डर्सका मालिक आकाश खड्का हुन् । बिएन कोशी अर्नाजको मार्कीमा मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सबाट विजय 
खड्का, पूजनबाबु भट्टराई, किरण खड्का, अमरदीप सापकोटा मार्की र रघुनाथ सापकोटा मालिक हुन् । 

केपिएलका निर्देशक हुसैनले केपिएल आयोजनासँगै कोशी प्रदेश क्रिकेटको विकास र ग्रासरुट कार्यक्रम अझै प्रभावकारी हुने बताए । राष्ट्रिय टोली तथा एनपिएलका लागि नयाँ–नयाँ खेलाडी उत्पादन हुनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।  

सुझावित समाचार