बेनिनको असफल सैन्य विद्रोहमा उजागर भएको भूराजनीति

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

गत साता पश्चिम अफ्रिकी राष्ट्र बेनिनमा सेनाभित्रको एक समूहले देशका राष्ट्रपति प्याट्रिस ट्यालोनलाई अपदस्थ गर्ने असफल प्रयास गर्यो । बेनिनको ‘कु’ प्रयास अहिले केवल एक देशको आन्तरिक घटना नभएर पश्चिम अफ्रिकाभरको भूराजनीतिक गतिशीलता प्रकाश पार्ने विकासक्रम सावित भएको छ । यस प्रकरणमा पछिल्लो समय अस्थिर हुँदै गएको अफ्रिकाको यस भेगमा नाइजेरियाको बढ्दो भूमिकासमेत उजागर भयो । 

पश्चिम अफ्रिकी देशको आर्थिक समुदाय ‘इकोवास’का सदस्यले बेनिनमा समयमै सेना पठाएपछि ट्यालोनको सरकार मुस्किलले जोगियो । इकोवासको सैन्य संलग्नता नाइजेरियाको नेतृत्वमा भएको थियो । नाइजेरियाली वायु सेनाले बेनिनमा कुमा उत्रिएको सेनाको समूहका प्रमुख आश्रय स्थानमाथि बमबारी गरेर सरकार समर्थक सेनाका पक्षमा रहेको बलियो सन्देश दियो । लगत्तै नाइजेरिया र इकोवासलाई सावधानीपूर्वक पछ्याउँदै फ्रान्सले पनि आइभरिकोस्टमा रहेको आफ्नो सैन्य आधारबाट सरकार समर्थित सेनालाई एयर लिफ्ट र गुप्तचर समर्थन प्रदान गर्यो ।

पछिल्लो समय फ्रान्सको नाम मात्रले पनि विगतमा उसको उपनिवेश रहेको पश्चिम अफ्रिकी जनमत विभाजित हुने गर्छ । यसपटक पनि फ्रान्सेली सेनाको सामान्य संलग्नताले पनि धेरै मानिस आक्रोशित र सशंकित बन्न पुगे । यस प्रकरणमा फ्रान्सलाई पर्दापछाडिको कठपुतली चलाउने शक्ति भएको आरोप लगाइँदैछ । त्यसमाथि नाइजेरियाले भर्खरै फ्रान्ससँग करसम्बन्धी तथ्यांक साझा गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । यस पृष्ठभूमिमा पेरिसले आफ्नो व्यापार सुनिश्चित गरिदिएबापत नाइजेरियालाई बेनिनमा हस्तक्षेप गर्न मद्दत गरेको आलोचकको आरोप छ ।

भूराजनीतिक खेलको आशंकामा बेनिनको लोकतान्त्रिक सरकार ‘कु’बाट जोगिँदासमेत धेरै मानिस खुसी देखिएनन्

फ्रान्सको संलग्नताकै कारणले होला, निर्वाचित ट्यालोन सरकार कु प्रयासबाट बच्दासमेत त्यहाँ ऊप्रति खासै सहानुभूति देखिएन । जबकि, पश्चिम अफ्रिकाभर लोकतन्त्रिक अभ्यास गर्ने देशको घट्दो संख्याबिच ट्यालोनले दोस्रो कार्यकाल सकिएपछि स्वेच्छाले पद छाड्ने तयारी गरिरहेका छन् । यस भेगका अधिकांश नेतामा संविधानले तोकेको सीमा नाघेपछि पनि शासन लम्ब्याउन संविधान नै संशोधन गर्ने लहर चलिरहेको वेला हो यो । ट्यालोनले आफ्नो शासनकालभरि प्रतिपक्षी राजनीतिज्ञमाथि गरेको कडाइले पनि उनीप्रति सहानुभूति घट्यो होला । साथमा भूराजनीतिक खेलको भूमिका पनि रह्यो । 

यस प्रकरणमा नाटकीयताको कुनै कमी रहेन । ट्यालोनका पक्षमा नाइजेरियाली हस्तक्षेप चलिरहेकै वेला उत्तरपश्चिममा बेनिनसँग जोडिएको बुर्किनाफासोले आफ्नो भूमिमा अनधिकृत रूपमा अवतरण गरेको नाइजेरियाली सैन्य विमानलाई अस्थायी रूपमा नियन्त्रणमा लियो । बुर्किनाफासोले पछिल्लो समय माली र निजेरसँग मिलेर सहेल क्षेत्रमा ‘अलायन्स अफ सहेल स्टेट्स (एइएस)’ नामक गठबन्धन बनाएको छ । एइएसले आफ्नो भूमिमा तैनाथ फ्रान्सेली फौजलाई निष्कासित गर्दै फ्रान्सको प्रभाव कम गर्ने प्रयासको अग्रसरता लिएको छ । 

विश्वकै सबैभन्दा गरिबमध्येका यी तीन भूपरिवेष्ठित देश बुर्किनाफासो, माली र निजेरले गठबन्धनमार्फत मिलेर आफ्नो भूमिको रक्षा गर्न र विगतमा भन्दा तीव्र गतिमा विकास गर्न सकिने बताएका छन् । फ्रान्ससँग घनिष्ठ रहेको भन्दै ती मुलुकले यसै वर्ष जनवरीमा इकोवासको सदस्यता त्यागेका थिए । यी सबै घटनाक्रमले यो संकटग्रस्त क्षेत्र थप विभाजित हुँदै गएको देखाउँछ । 

फ्रान्ससँग जोड्ने प्रयास भए पनि छिमेकी देश बेनिनको सरकारको पक्षमा नाइजेरिया सक्रिय रूपमा उत्रिनुमा उसका आफ्नै कारण छन् । नाइजेरिया सरकार आफैँ देशभित्र इस्लामिक सशस्त्र समूह र स्थानीय डाकु समूहको सुरक्षा चुनौतीसँग लडिरहेको छ । त्यस्तोमा अर्को एउटा छिमेकी अस्थिर सैन्य शासनमा गएको हेरेर बस्नु उसका लागि उचित नलागेको हुन सक्छ । विशेषतः यसअघि उसका अन्य छिमेकी देश एकपछि अर्को सफल सैन्य विद्रोहमा फस्दा ऊ मौन रहेको थियो । अहिले उसले छिमेकी देशका सैन्य विद्रोहबाट देशभित्रका सैन्य समूहको आत्मविश्वास बढ्न सक्ने ठानेको हुनुपर्छ । बेनिनमा पनि सैन्य सरकार बनेको भए नाइजेरियाको चारैतिर सैन्य–सञ्चालित राज्य हुने थियो । पूर्वतर्फको क्यामरुनमा मात्र सैन्य सरकार हुने थिएन । तथापि, त्यहाँको सरकार पनि अत्यन्त भ्रष्ट र अलोकतान्त्रिक मानिन्छ । 

अफ्रिका मामिला हेर्ने पश्चिमी विश्लेषक प्रायः यस महाद्वीपका राष्ट्रिय राजनीतिको जटिलतामाथि एकदम कम ध्यान दिन्छन् । उनीहरू देशभित्रका द्वन्द्व र संकटलाई ‘जातीय विग्रह’ वा ‘जनजाति’ मुद्दा वा तानाशाही नेताको हर्कतको भाष्यमा सीमित गर्छन् । तर, अफ्रिकी देशका राजनीतिमा पनि अन्य क्षेत्रका देशको जस्तै अनेक पहलु र जटिलता हुन्छन् ।हालै बेनिनमा भएको विद्रोह प्रयासलाई दबाउन नाइजेरियाको हस्तक्षेपले धेरैलाई नाइजेरियाको यस्तै सैन्य सक्रियताको पुरानो दिनको सम्झना गराएको हुनुपर्छ ।

विशेषतः सिएरालियोन र लाइबेरियामा भएको क्रूर गृहयुद्धमा उसले यस्तै पक्षधरता लिएको थियो । त्यो समय नाइजेरिया आफँै इतिहासको सबैभन्दा कठोर सैन्य तानाशाहीको अधीनमा थियो । तर, उसले छिमेकी देशमा भने विद्रोही सेनाबाट राष्ट्रिय राजधानी कब्जा हुन नदिन इकोवासको ब्यानरमा सेना तैनाथ गरेको थियो । नाइजेरियाको सेनाको व्यवहार सधैँ उदाहरणीय देखिन्छ । उसको संलग्नताले ती साना देश गम्भीर युद्धबाट जोगिएको इतिहास छ । 

(फ्रेन्च कोलम्बिया विश्वविद्यालयका पत्रकारिता संकायका प्राध्यापक हुन्) फरेन पोलिसीबाट

सुझावित समाचार