हामीकहाँ भ्युटावर निर्माण गर्नु कति आवश्यक छ ?
पटक्कै आवश्यक छैन । भ्युटावर डाँडामा बनाइन्छन् । हाम्रा डाँडाकाँडा आफैँमा प्रकृतिले दिएका प्राकृतिक भ्युटावर हुन् । त्यहाँ कंक्रिटका भद्दा भ्युटावर ठड्याउनुको कुनै अर्थ छैन । फेरि अधिकांश भ्युटावर बनेका स्थानमा बाटोघाटोको सुविधा पुगेको हुँदैन । जसले गर्दा निर्माण सामग्री बोकेर टावर बनाइएकोसमेत देखिन्छ । यसले राज्यको अनावश्यक खर्च बढाएको छ । पर्यटकको ‘फ्लो’ बढी हुने एकाध स्थानमा भ्युटावर बनाउनु ठिकै पनि होला । तर, अधिकांश स्थानमा बनेका भ्युटावर आहा भन्ने खालका सुन्दर छैनन् । अहिले जहाँ पुगे पनि भ्युटावर, स्वागत या बिदाइ गेट आदि बनेका देखिन्छन् । तर, यो सब जनताले तिरेको करको दुरुपयोग हो, राज्यकोषको अनावश्यक खर्च हो ।
भ्युटावर निर्माणको प्रतिस्पर्धा विकास हो कि विकासको प्राथमिकता निर्धारण गर्न नसकिएको हो ?
भ्युटावर निर्माणमा भइरहेको प्रतिस्पर्धा स्थानीय सरकार र उसको राजनीतिक नेतृत्वले विकासको प्राथमिकता निर्धारण गर्न नसक्नुको परिणाम हो । साथै, प्रशासनिक नेतृत्वले पनि विरोध गर्न या त्यसको आवश्यकता नभएकोबारे नेतृत्वलाई बुझाउन नसक्नुको परिणाम हो । सबै स्थानका भ्युटावर निर्माणमा इन्टेन्सन नै खराब छ भन्न त नमिल्ला, तर प्राथमिकता छुट्याउन नजानिएको भने पक्का हो ।
बनिसकेका भ्युटावरको सदुपयोग कसरी गर्न सकिएला ?
यस्ता अधिकांश भ्युटावरमा मान्छे नै पुग्दैनन् । मान्छे पुगे भने पनि भ्युटावरमुनिकै डाँडाबाट सबै छर्लंग देखिन्छ । फेरि भ्युटावरको सदुपयोग अन्य काममा गर्न पनि सकिन्न । त्यहाँ बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक पु¥याएर वरिपरि आर्थिक क्रियाकलाप बढाउन सके मात्र त्यसबाट लाभ लिन सकिने हो । तर, हेर्दै अनाकर्षक भ्युटावर हेर्न र चढ्नकै लागि भने मान्छेहरूको भिड लाग्दैन । त्यसैले, भ्युटावरमा भइरहेको लगानी बालुवामा पानी हालेबराबर हो ।