हुस्सु र कुहिरोले तराई मधेशमा बढ्यो जाडो, मारमा विपन्न

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

दिनभरजसो नै हुस्सु र कुहिरो लागेर घाम लाग्न नपाउँदा तराई मधेशमा जाडो बढेको छ । पुसको कठ्यांग्रिँदो जाडोको मारमा विपन्न नागरिक परेका छन् । बिहानपख त शीत पनि खस्ने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला दिनमा कोशी, मधेश र सुदूरपश्चिमका तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्ने गरेको छ । यी क्षेत्रका जिल्लामा केहीबेर घाम झुल्किए पनि दिनभरजसो हुस्सु लाग्ने गरेको छ ।

बागमती, गण्डकी र लुम्बिनीका तराईमा तुलनात्मक रूपमा कम कुहिरो रहे पनि हुस्सु भने छ । एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पछिल्ला तीन दिन तराईमा हुस्सु र कुहिरो धेरै रहे पनि सोमबार र मंगलबार केही कम हुने देखिन्छ । ‘पश्चिमी वायुको प्रभाव देखिएको छ । यसले गर्दा हावा चल्ने भएकाले हुस्सु र कुहिरो केही कम हुन्छ,’ उनले भने, ‘तर पानी नपरे पनि बादल लाग्ने भएकाले चिसो भने बढाउँछ ।’

हुस्सु र कुहिरोले पारदर्शिता कम हुँदा तराई मधेशका विमानस्थलमा मध्याह्नसम्म नै उडान प्रभावित हुने गरेका छन् । आइतबार बिहान ८: ४५ को तथ्यांकअनुसार पारदर्शिता धनगढी र नेपालगन्ज विमानस्थलमा दुई सय मिटरमा झरेको थियो । त्यस्तै, विराटनगर र चन्द्रगढीमा चार–चार सय तथा सिमरामा पाँच सय मिटरमा झरेको थियो । जनकपुरमा एक हजार चार सय र भैरहवामा दुई हजार मिटर पारदर्शिता थियो, जुन उडानका लागि पर्याप्त हो । 

हुस्सु र कुहिरोका कारण तापक्रम पनि घटिरहेको छ । आइतबार धनगढीमा न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियसमा झरेको छ, शनिबार ९ थियो । त्यस्तै, नेपालगन्ज र सिमराको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै, भैरहवा ११.९, विराटनगरमा १२, जनकपुरमा १२.६ र चन्द्रगढीमा १३ डिग्री मापन भएको छ । धनगढीका स्थानीय उद्धव अवस्थीले बाक्लो हुस्सुसँगै चिसो बढ्दा साँझबिहान हिँडडुल गर्न गाह्रो हुन थालेको बताए । 

चिसोले रौतहटका विपन्न परिवार प्रभावित
तीन दिनदेखि चिसो बढेपछि रौतहटमा गरिब तथा विपन्न समुदायका बासिन्दा मारमा परेका छन् । पर्याप्त ओढ्ने–ओछ्याउनेको अभावमा जाडोमा रात काट्न बाध्य छन् । बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

चन्द्रपुर नगरपालिका–१०, चेतनगरको मुसहर बस्तीका बासिन्दा चन्द्र माझीका अनुसार जाडो बढेसँगै दैनिकी झनै कठिन बनेको छ । ‘दैनिक ज्याला–मजदुरी गरेर घर चलाउँदै आएका हामीजस्ता गरिबहरू जाडोका कारण काममा जान सकिरहेका छैनौँ,’ उनले भने, ‘मजदुरी गर्न नसक्दा हातमुख जोड्नसमेत समस्या भएको छ ।’

सोही बस्तीकी ६० वर्षीया देवरतिया देवीको अवस्था पनि दयनीय छ । सानो फुसको घरमा बस्दै आएकी उनीसँग ओढ्ने–ओछ्याउने केही नभएकाले परालको चट्टाई ओछ्याएर र त्यसैलाई ओढेर सुत्न बाध्य भएको बताउँछिन् । ‘जाडो छल्ने कुनै उपाय छैन, जे छ त्यहीले रात काट्नुपर्छ,’ उनले गुनासो गरिन् ।

मुसहरलाई  जाडोमा ‘घुर’को भर
मोरङको बुढीगंगा गाउँपालिका– १, करैया टोलका कृष्ण ऋषिदेव जाडो बढ्न थालेसँगै बिहान झिसमिसेमै उठ्छन् । उठ्नासाथ उनी खोजबिन गरेर ल्याएको झ्यासपरालमा आगो सल्काउँछन् र ताप्न थाल्छन् । आगो बलेको थाहा भएपछि परिवारका अरू सदस्य पनि उठ्छन् र सामूहिक रूपमा आगो ताप्दै गफिन थाल्छन् ।

कृष्ण ऋषिदेव र उनको परिवार मात्र होइन, करैया टोलमा रहेका अतिविपन्न दलित समुदायका ५० घरपरिवार झ्यासपराल बालेर जाडो कटाउँछन् । हरेक दिन ज्याला–मजदुरी गरेर खानुपर्ने बाध्यतामा रहेका भूमिहीन ऋषिदेवहरूसँग जाडो छल्न सुत्दा ओढ्ने–ओछ्याउने र उठ्दा लगाउने न्याना लुगाको जोहो हुँदैन । हरेक दिन झ्यासपरालको आगो ‘घुर’ नै उनीहरूका लागि जाडो छल्ने न्यानो उपाय हो ।

हुन त ‘घुर’ ताप्नु तराई मधेशमा परम्परागत प्रचलन हो । यति मात्र होइन, जाडोमा न्यानोका लागि तापिने ‘घुर’लाई सूचना केन्द्र पनि भनिन्छ । किनभने समुदायका सबैले परिवारको आकारअनुसार ‘घुर’को न्यानो तापेर गाउँ टोलदेखि देश–विदेशमा भएका समसामयिक घटनाबारे चर्चा गर्छन् । तर, दलित समुदायभित्र अति गरिबमा पर्ने मुसहर समुदायका लागि भने ‘घुर’ ताप्ने चलन परम्परागत संस्कृति र सूचना केन्द्र नभएर केवल जाडोबाट जोगाउने न्यानो उपाय मात्रै हो । 

माटोको चिसो भुइँमा पराल र बोरा ओछ्याएर सुत्नुपर्ने बाध्यताका गरिब मुसहरहरू आर्थिक विपन्नताले गर्दा हरेक वर्ष आउने कठ्यांग्रिँदो  जाडोका लागि न्याना सिरक र कपडा जोहो गर्न सक्दैनन् । दैनिक ज्याला–मजदुरी गर्ने बाध्यता र कमाएको पैसा बचत नहुँदा हरेक वर्ष आउने शीतलहरको कठ्यांग्रिँदो जाडो उनीहरूका लागि निकै कष्टकर बन्ने गर्छ । यसैले, उनीहरूका लागि ‘घुर’ नै शरीरलाई न्यानो दिने सहारा हुन्छ ।

अगुवा विनोद ऋषिदेवका अनुसार करैया टोलमा रहेका ५० घर मुसहर घरपरिवार सबै अति विपन्न छन् । प्रायजसोको घरमा न सिरक–डसना छन्, न लगाउने कपडा नै । एक–दुई घरमा मात्र खाट प्रयोग गरिन्छ । 

सुझावित समाचार