भारतलाई १९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानले एसिसी यू–१९ एसिया कपको उपाधि जितेको छ।
दुबईमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३४८ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गरेको भारत २६.२ ओभरमा अलआउट हुँदा १५६ रनमा समेटियो।
पाकिस्तानका लागि समीर मिन्हासले सर्वाधिक १७२ रनको योगदान गरे। ११३ बल खेलेका उनले १७ चौका र नौ छक्का प्रहार गरे। अहमद हुसेनले ७२ बलमा तीन चौका र एक छक्कासहित ५६ रन जोडे। उसमान खानले ३५, फर्हान युसफले १९, हम्जा जाहुरले १८ रन बनाए।
भारतका दिपेश देवेन्द्रनले तीन विकेट लिँदा हेनिल पटेल र खिलान पटेलले समान दुई र कनिस्क चौहानले एक विकेट हात पारे।
पाकिस्तान सामु भारतका ब्याटर निरिह देखिए। टाेलीका लागि दिपेश देवेन्द्रनले सर्वाधिक ३६ रन बनाउँदा वैभव सूर्यवंशीले २६, खिलान पटेलले १९ र एरोन जर्जले १६ रन जाेडे।
भारतलाई सस्तैमा समेट्न पाकिस्तानका अलि राजा एक्लैले चार विकेट लिए। मोहम्मद सायम, अब्दुल सुभन र हुजैफा अहसानले समान दुई विकेट लिए।