सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका– ५, तितेपातलमा क.प्र.०२०१ त ०४४४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ३, झेल्नेटाका अन्दाजी २१ वर्षीय सुरेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
शनिबार साँझ रुकुम पश्चिम झुल्नेटाबाट सल्यानको दार्मा गाउँपालिका– ५, तितेपातल सामुदायिक वनतर्फ दाउरा लिन आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते चालक सुरेश र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ४, खम्चेरीका २६ वर्षीय पूर्णबहादुर विक घाइते भएका थिए।
गम्भीर घाइते सुरेशको जिल्ला अस्पताल सल्ले रुकुममा चेकजाँच गर्दा आइतबार राति डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए। उनको शव सल्ले अस्पतालको शवगृहमा राखिएको छ भने मध्यम अवस्थाका अर्का घाइतेको उपचार भइरहेको छ।