उत्पादन टाइमकार्डको बहानामा इँटाको कृत्रिम मूल्यवृद्धि

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

भारतले कोइला निर्यातमा रोक लगाएपछि अमेरिकाबाट आयात गरिएको महँगो कोइला प्रयोग गर्नुपरेको र सरकारले उत्पादनमा टाइमकार्ड लागू गरेको भन्दै कोशीमा इँटाको मूल्यवृद्धि गरिएको छ।

भारतले कोइला आयातमा रोक लगाएपछि अमेरिकाबाट आयात भएको महँगो कोइला प्रयोग गर्नुपर्दा उत्पादन लागत बढेको र सरकाले मंसिर र पुसमा इँटा पोल्न प्रतिबन्ध लगाएको भन्दै कोशीका बजारमा सीमित उद्योगी र व्यापारीहरूले मिलेर इँटाको कृत्रिम मूल्यवृद्धि गराएका हुन्।

सार्वजनिक निकायदेखि सर्वसाधारणले निर्माण कार्य गर्ने ‘पिक सिजन’को फाइदा उठाउँदै मोरङ, सुनसरी र झापाका सहर–बजारहरूमा इँटाको मूल्य प्रतिगोट दुईदेखि तीन रुपैयाँसम्म वृद्धि गरिएको छ। हाल बजारमा सरकारको टाइमकार्ड निर्णयको बहानामा उद्योगहरूबाट नयाँ इँटा उत्पादन नहुँदा निर्माण गर्ने मुख्य सिजनमा बजारमा कृत्रिम अभाव सिर्जना भएको छ। हाल कोशीका सहर–बजारमा दुई महिनाअघिसम्म प्रतिगोटा १८ देखि १९ रुपैयाँमा पाइने इँटाको मूल्य अहिले २२ रुपैयाँ पुगेको छ।

तर, इँटा उद्योगीहरू भने सरकारले चिम्नी फायरिङ गर्न लगाएको टाइमकार्डकै कारण इँटाको अभाव नभएको बताउँछन्। बजारमा छोटो अवधिमै प्रतिगोटा तीन रुपैयाँसम्म मूल्य बढ्नुमा बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने उद्योगीहरूको भनाइ छ। इँटा उद्योगी व्यवसायी संघ कोशीका अध्यक्ष खगेन्द्र श्रेष्ठ टाइमकार्डकै कारण मंसिर मसान्तदेखि पुस महिनाभरि इँटा फायरिङ गर्न नपाउँदैमा बजारमा इँटाको अभाव नहुने बताउँछन्। उनका अनुसार हाल इँटा उद्योगीहरूसँग पहिले नै उत्पादन गरिएका इँटाहरू प्रशस्त छन्। अध्यक्ष श्रेष्ठ भन्छन्, ‘उद्योगीहरूसँग पहिले नै उत्पादन भएका इँटा प्रशस्त भएकाले कुनै अभाव छैन। कसैले कृत्रिम अभाव सिर्जना गरेको भए सरकारले अनुमगन गरेर कारबाही गर्नुपर्छ।’

व्यापारीहरूका अनुसार कोइलाको मूल्यवृद्धि भएपछि गत वर्षदेखि नै कोशीमा इँटाको मूल्यवृद्धि भएको थियो। अझ टाइमकार्डको बहानामा चालू वर्षको मंसिरदेखि नै बजारमा इँटाको मूल्यवृद्धि भएको छ। व्यापारीहरू भने इँटाभट्टाहरूले नयाँ इँटा उत्पादन नभएकाले अभाव भएको भन्दै अर्डरअनुसारको इँटा पठाइदिन आनाकानी गर्ने गरेकाले आफैँ उद्योगमा पुगेर ढुवानी गरेर ल्याउनुपर्ने बाध्यता सुरु भएको बताउँछन्। सरकारले वायु प्रदूषण नियन्त्रण गर्न इँटा उत्पादनको समयमा जाडो यामको माघ महिनासम्म ‘टाइमकार्ड’ लगाएको छ। 

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष तथा इँटा व्यवसायी भीम घिमिरेका अनुसार भारतले सुप्रिम कोर्टको आदेशपछि कोइला उत्खनन गर्न नपाउँदा तीन वर्ष अघिदेखि निर्यातमा रोक लगाएको छ। भारतको कोइला आयात बन्द भएपछि कोइलाको मूल्य अहिले प्रतिटन ३२ हजार देखि ३४ हजार रुपैयाँसम्म पुगेको छ। जसले इँटा उद्योगीहरूले बढ्दो उत्पादन लागतको मार खेप्नुपरेको छ। कोइला पहिले १७ देखि १८ हजार रुपैयाँ प्रतिटनमा पाइन्थ्यो। एक लाख इँटा पोल्नका लागि २० मेट्रिक टन कोइला आवश्यक पर्ने उनले बताए। कोशी प्रदेशमा ६५ इँटा उद्योगहरूले वार्षिक २५ करोड बढी एक नम्बर इँटा उत्पादन गर्छन्।

टाइमकार्ड अव्यावहारिक भएको उद्योगीको गुनासो
सरकारले निर्माण कार्यको मुख्य सिजनमा उत्पादन समयमा ‘टाइमकार्ड’ लगाएपछि उद्योगहरूले इँटा पोल्न नपाएका उद्योगीहरूको गुनासो छ। टाइमकार्डका कारण कारोबार हुने माघ महिनासम्मको पिक सिजनमै इँटा पोलेर उत्पादन गर्न नपाएपछि साना उद्योगहरू मारमा परेका छन्।

इँटा उद्योगी व्यवसायी संघ कोशीका अध्यक्ष खगेन्द्र श्रेष्ठ सरकारले लागू गरेको उत्पादन टाइमकार्ड नीति देशभरका लागि व्यावहारिक नभएको बताउँछन्। उद्योग मन्त्रालयअन्तर्गतको वातावरण समितिले काठमाडौं उपत्यकाको प्रदूषणलाई आधार मानेर देशभरका इँटा उद्योगहरूलाई १ माघभन्दा अगाडि इँटामा फायरिङ गर्न रोक लगाएको छ। 

ठुला उद्योगहरूले माघदेखि एकैचोटि धेरैवटा चिम्नी फायरिङ गरेर धेरै इँटा उत्पादन गर्न सक्छन्। तर, एउटा मात्र चिम्नी भएका साना उद्योगहरूले मंसिर र पुस महिनाभरि इँटा पोल्न नपाउँदा उनीहरूको उत्पादन घट्छ। यसैले टाइमकार्डको फाइदा उठाउँदै केही ठुला उद्योगीहरूले व्यापारीसँग मिलेर सिन्डिकेट बनाएर इँटाको कृत्रिम मूल्यवृद्धि गराएका हुन्।

सुझावित समाचार