- १८ वर्षे पुरानो नीतिका कारण सर्वसाधारणले खरिद गरेको आइपिओको मूल्यभन्दा नेप्सेले तोक्ने ओपनिङ रेन्ज कम हुने जोखिम
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को १८ वर्षे पुरानो नीतिका कारण बुक बिल्डिङमार्फत प्राथमिक सेयर (आइपिओ) खरिद गरेका लगानीकर्ता मारमा पर्ने देखिएको छ । पहिलो सेयर कारोबारका लागि नेटवर्थका आधारमा सीमा (ओपनिङ रेन्ज) तोक्ने नेप्सेको नीतिले बुक बिल्डिङअन्तर्गत प्राथमिक सेयर खरिद गरेका लगानीकर्ता प्रभावित हुने देखिएको हो ।
नेप्सेले सूचीकृत भएको कम्पनीको नेटवर्थ जति छ, सोही विन्दुदेखि त्यसको तीन गुणा बढी विन्दुसम्मलाई पहिलो कारोबारका लागि रेन्ज तोक्ने गर्छ । तर, बुक बिल्डङमार्फत निष्कासन भएको सेयरको मूल्य नेटवर्थको तीन गुणाभन्दा बढी हुन सक्छ । आफूले खरिद गरेको आइपिओको मूल्यभन्दा पनि ओपनिङ रेन्ज कम हुन सक्ने नीतिका कारण लगानीकर्ता मर्कामा पर्ने देखिएको हो । नेप्सको नीतिले बुक बिल्डिङमार्फत सेयर खरिद गर्ने लगानीकर्ताको लगानी भने जोखिममा पर्न सक्ने विज्ञहरू बताउँछन् ।
नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरीले पहिलो कारोबारका लागि ओपनिङ रेन्ज तोक्ने विधि तथा नीतिबारे पुनर्विचार गर्न आवश्यक रहेको बताए । ‘नेपालमा बुक बिल्डिङ विधिमा भएको मुख्य विवाद पनि यही हो,’ उनले भने, ‘बुक बिल्डिङमार्फत आएका कम्पनीलाई पहिलो सेयर कारोबारका लागि कसरी रेन्ज तोक्ने भन्ने विषयमा पुनर्विचार गर्नैपर्छ ।’ ठुला कम्पनीहरूलाई पुँजी बजारमा ल्याउन बुक बिल्डिङ विधिलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । तर, नेटवर्थका आधारमा ओपनिङ रेन्ज तोक्ने व्यवस्थाले उनीहरूलाई हतोत्साहित गर्ने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारको अभ्यासअनुसार निर्णय गर्नुपर्ने सुझाव छ । ‘अन्तर्राष्ट्रिय बजारमा जुन मूल्यमा बिक्री गरेको हो, त्यही विन्दुलाई पहिलो कारोबारका लागि सीमा निर्धारण गरिदिने अभ्यास पनि छ । नेप्सेले अन्तर्राष्ट्रिय अभ्यासलाई समेत अध्ययन गरेर यसमा प्रोगेसिभ रूपमा निर्णय लिनुपर्छ,’ उनले बताए ।
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले यस विषयमा हाल थप निर्णय नभएको बताए । ‘सञ्चालक समितिको निर्णयका आधारमा ०६४ देखि सूचीकृत हुने कम्पनीको पहिलो सेयर कारोबारका लागि नेटवर्थका आधारमा ओपनिङ रेन्ज तोक्दै आएका छाँै । नेटवर्थबराबरको विन्दुदेखि त्यसको तीन गुणा बढीसम्मको विन्दुलाई ओपनिङ रेन्ज तोक्ने गरिएको छ,’ उनले भने, ‘अहिले बुक बिल्डिङमा निर्धारण भएको मूल्यभन्दा नेटवर्थका आधारमा नेप्सेले दिने ओपनिङ रेन्ज कम पर्न जाने अवस्था पनि देखियो । त्यो अवस्थामा अहिले यसबारे अन्तर्राष्ट्रिय अभ्यास अध्ययन भइरहे पनि के गर्ने भनेर कुनै निर्णय भइसकेको छैन ।’
उनका अनुसार कतिपय देशमा कम्पनीले पहिला सोझै सेयर सूचीकृत गरेर सेयर बजारमार्फत नै सेयर बिक्री गर्ने गरेका छन् । कतिपय मुलुकमा भने जुन मूल्यमा आइपिओ बिक्री गरिन्छ, त्यही विन्दुलाई नै पहिलो कारोबारका लागि सीमा तोक्ने गरेको देखिएको उनको भनाइ छ ।
बढ्दै छ विवाद र बहस
पहिला नेप्सेले सेयर निष्कासन गरेर सूचीकृत हुने कम्पनीको सेयरको पहिलो कारोबारका लागि सीमा नै तोक्ने गरेको थिएन । नेप्सेले कम्पनीको सेयर सूचीकृत गराएर कारोबारका लागि खुला छाडिदिने गरेको थियो । तर, त्यसमा निश्चित समूहले चलखेल गरेर पहिलो कारोबार नै अस्वाभाविक रूपमा उच्च मूल्यमा गर्ने प्रवृत्ति देखियो । त्यसपछि नेप्सेले ०६४ देखि पहिलो कारोबारका लागि सीमा तोक्दै आएको छ । सूचीकृत भएको कम्पनीको नेटवर्थ जति छ, सोही विन्दुदेखि त्यसको तीन गुणा बढी विन्दुसम्मलाई पहिलो कारोबारका लागि सीमा तोक्ने गरिन्छ । नेप्सेको सञ्चालक समितिबाट योअनुसार निर्णय गरिएको छ । पुँजी बजारको विकासक्रमसँगै अहिले बुक बिल्डिङ प्रविधिबाट आइपिओ ल्याउने अभ्यास छ । तर, समयअनुसार नेप्सेले नीति परिमार्जन गर्न नसक्दा लगानीकर्ता मर्कामा पर्ने देखिन्छ ।
पुरानो नीतिले बुक बिल्डिङमा सेयर किन्ने लगानीकर्ता मर्कामा पर्ने देखिएको नेप्सेकै अधिकारीहरू स्वीकार्छन् । यसमा पुनर्विचार गर्नुपर्ने विषयमाथि नेप्सेको उच्च तहमा बहस भइरहेको छ । ‘यसबारे छिट्टै सञ्चालक समितिले उपयुक्त निर्णय लिन सक्नेछ,’ एक सञ्चालकले भने ।
रिलायन्स स्पिनिङ मिल्समा पनि बिक्री मूल्यभन्दा ओपनिङ रेन्ज कम हुँदै
नेप्सेको पुरानो नीतिले रिलायन्स स्पिनिङ मिल्स पनि प्रभावित हुने देखिन्छ । यही सोमबारदेखि रिलायन्स स्पिनिङ मिल्सले पनि बुक बिल्डिङमार्फत प्रतिकित्ता ८२०.८० रुपैयाँमा आइपिओ निष्कासन गर्दै छ । कम्पनीले यसअघि मंसिर २२ देखि २५ गतेसम्म गरेर एक लाख १५ हजार पाँच सय ९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । सोमबारदेखि सर्वसाधारणलाई सोही मूल्यमै नौ लाख २४ हजार सात सय ६८ कित्ता सेयर बिक्री गरिँदै छ ।
तर, यो कम्पनीले नेप्सेमा सूचीकृत भएर पहिलो कारोबारका लागि पाउने ओपनिङ रेन्ज भने ८२०.८० रुपैयाँभन्दा पनि कम हुँदै छ । असार ०८२ सम्म कम्पनीको वास्तविक नेटवर्थ २५०.८० छ । त्योअनुसार नेप्सेले पहिलो कारोबारका लागि २५०.८० रुपैयाँदेखि ७५२.४ रुपैयाँसम्मको रेन्ज दिन सक्नेछ, जुन सर्वसाधारणले खरिद गरेको र गर्न लागेको मूल्यभन्दा कम हो । नेपालमा पहिलोपटक सर्वाेत्तम सिमेन्टले फागुन ०८० मा बुक बिल्डिङमार्फत सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँमा आइपिओ बिक्री गरेको थियो । त्यसवेला कम्पनीको नेटवर्थ १८५.३६ रुपैयाँ थियो । त्योअनुसार नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि १८५.३६ देखि ५५६.८ रुपैयाँसम्मको सीमा थियो ।