हाँडीगाउँमा छैन अचेल शनिबारे महोत्सव

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण
  • सुरक्षाका कारण देखाउँदै सडक महोत्सव बन्द गरिएपछि छैन चहलपहल, चाँडै नै सञ्चालनमा ल्याउने महानगरको योजना

लिच्छविकालीन ऐतिहासिक बस्ती हाँडीगाउँमा अचेल खासै चहलपहल देखिँदैन । नेवारी खानेकुराका प्रशस्त परिकार पाइने यहाँको बजार हिजोआज सुस्ताएको छ । जेन–जी आन्दोलनभन्दा अघि हरेक शनिबार यहाँ महोत्सव नै हुन्थ्यो । मानिसहरूको अत्यधिक भिड हुन्थ्यो । स्थानीयवासी स्थानीय परिकार बनाउन र बेच्न व्यस्त हुन्थे । काठमाडौं महानगरपालिकाले यस क्षेत्रलाई सडक महोत्सवका रूपमा मनाउन स्थानीयवासीसँग सहजीकरण गरिरहेको थियो । तर, सडक महोत्सवका रूपमा मनाइने कार्यक्रम अहिले स्थगित छ ।

२३ भदौयता बजार सुनसान भएको हो । जेन–जी आन्दोलनपछि हुन सक्ने असुरक्षाका कारण वडाले शनिबारको कार्यक्रम बन्द गरेको छ । ‘अहिले व्यापार–व्यवसाय खासै छैन, पहिले निकै राम्रो व्यापार हुन्थ्यो, तर जेन–जी आन्दोलनपछि अराजक गतिविधि हुन्छन् भनेर वडाले रोकेको हो, सुरक्षाको हिसाबले ठिकै हो,’ स्थानीय व्यापारी रमेश प्रजापतिले भने, ‘चोरी, लुटपाटजन्य गलत क्रियाकलाप हुन सक्छन् भनेर बन्द गर्नु राम्रो हो, तर अब सुरक्षित वातावरण निर्माण गरेर बजारलाई चलायमान बनाउनुपर्छ ।’ 

हाँडीगाउँको मौलिक परम्परा र परिकारको जगेर्ना गर्न ०८१ असारदेखि यो नियम लागू गरिएको थियो । शनिबार कार फ्री डे हुँदा विद्यार्थीहरू सडकमा खेलकुदका गतिविधि गर्दथे । हरेक शनिबार करिब डेढ किमि सडकमा दिउँसो २ देखि राति ८ बजेसम्म सवारीसाधन निषेध गर्दै खाना महोत्सव, बुढापाकाले बालबालिकालाई पुराना खेल सिकाउँथे । कंक्रिट सहरको घेराबन्दीमा परेर पनि केही समययता सांस्कृतिक गतिविधिले गुञ्जायमान बनिरहेको हाँडीगाउँ अचेल सुनसान बनेको हो ।

काठमाडौं महानगरपालिका– ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले जेन–जी आन्दोलनका कारण महोत्सव बन्द गरिएको बताए । ‘जेन–जी आन्दोलनपछि असुरक्षित महसुस भएकाले टोलवासीकै आग्रहमा बन्द गरेका छौँ, अब थप व्यवस्थित गरेर एक महिनापछि महोत्सव सञ्चालन गर्छौँ,’ उनले भने, ‘यस्तो महोत्सवले हाँडीगाउँको विकासमा निकै फाइदा गरेको छ, स्थानीयवासीलाई रोजगार पनि मिलेको छ, त्यसकारण यो छिट्टै सञ्चालन हुन्छ ।’ 

प्रजापतिका अनुसार सवारीसाधन निषेध गरिएका कारण हाँडीगाउँका गल्लीमा बालबालिका विभिन्न खेलमा रमाइरहेका हुन्थे । नेपाली र विदेशी पर्यटकहरूले यहाँका सडक र फल्चाहरू भरिभराउ हुन्थ्यो । शनिबार नेवारी परिकारको स्वाद लिन आउनेको घुइँचो लाग्थ्यो । तर, अहिले महोत्सव बन्द गरिएकाले यो क्षेत्र सुनसानजस्तै छ । स्थानीयले हाँडीगाउँको पुरानो चहलपहल फर्काउन काठमाडौं महानगरपालिकासँग पहल गरिरहेका छन् । महानगरपालिकाले जीवन्त हाँडीगाउँको ऐतिहासिक मौलिकता दिन वडामार्फत यस्तो गतिविधिमा सहयोग गर्दै आइरहेको छ । कार फ्री डे र सडक महोत्सव यसको पहिलो प्रयास भएकाले यसलाई मूर्तता दिने महानगरको योजना छ । 

टोखा महोत्सव भने सञ्चालन 
जेन–जी आन्दोलनपछि केहि दिन बन्द भएको टोखा शनिबारे महोत्सव भने सञ्चालनमा आएको छ । यहाँ शनिबार सवारीसाधन निषेध गरेर बालबालिका लेख्नेदेखि विभिन्न परिकार पकाएर बेच्ने गरिन्छ । नेवारी परम्पराअनुसारका परिकार खान शनिबार यस क्षेत्रमा आउनेहरूको भिड लाग्छ । खेल्ने र घुम्ने ठाउँमा अभावसमेत रहेको यस क्षेत्रमा सडक बन्द गरेपछि बालबालिका सडकमै खेल्ने गर्छन् । जेन–जी आन्दोलनपछि महोत्सव एक हप्ता मात्रै बन्द भएको र त्यसयता निरन्तर चलिरहेको नगरपापिलकाले जनाएको छ । 
 

सुझावित समाचार