ताप्लेजुङमा सम्पन्न ऐतिहासिक पुसे मेला आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले चुमेको छ । शनिबार सम्पन्न फाइनल खेलमा भोजपुरले संखुवासभाको सभापोखरी भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
फाइनल खेलमा भोजपुरले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै सभापोखरीलाई पराजित गरेको हो । उपाधि जितसँगै भोजपुरले तीन लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको सभापोखरी भलिबल क्लबले एक लाख ७५ हजार रुपैयाँ नगदमा चित्त बुझाएको छ ।
पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा सम्पन्न भलिबल प्रतियोगितामा सात टोली सहभागी थिए । प्रतियोगिता जिल्ला सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठुलो बजार दोभानमा गत २ पुसदेखि सुरु भएको थियो ।
दोभान बजार मेरिङ्देन गाउँपालिका–३ खाम्लुङ र आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेकोको संगमस्थलमा अवस्थित छ । भलिबल प्रतियोगितासँगै पुसे मेलामा ब्याडमिन्टन प्रतियोगितासमेत आयोजना गरिएको पुसे मेला सञ्चालन समितिका अध्यक्ष हेम चोङबाङले जानकारी दिए ।